‘यो जोखिमको पेशा हो, २० लाखमा किनेको फिल्मले दश वर्षमा २ लाखसमेत उठाएन’ – Nepal Press
नेपाल टक

‘यो जोखिमको पेशा हो, २० लाखमा किनेको फिल्मले दश वर्षमा २ लाखसमेत उठाएन’

ओएसआर डिजिटलका सञ्चालक अग्रवाल भन्छन्- हामी इमानदार र स्पष्ट भएर नै हो, अहिलेसम्म धेरैले ओएसआरलाई डिजिटल अधिकार बेचेका छन्

काठमाडौं । ओएसआर डिजिटलका सञ्चालक ओमप्रकाश अग्रवाल साढे दुई दशकदेखि नेपाली फिल्मको डिजिटल व्यवसायमा सक्रिय छन् । सीडी, भीसीडीका लागि फिल्मको अधिकार लिएर व्यवसाय थालेका अग्रवाल अहिले नेपाली फिल्मको सबैभन्दा ठूलो डिजिटल अधिकार खरिद गर्ने कम्पनी ओएसआर डिजिटल चलाइरहेका छन् । यस कम्पनीले हलमा प्रदर्शन भएका ७० प्रतिशत नेपाली फिल्मको डिजिटल राइटस् लिने गरेको छ ।

निर्मल शर्माको ‘अंगरक्षक’ नामक फिल्म किनेर यस क्षेत्रमा हात हालेका अग्रवालले अहिलेसम्म ४५० फिल्मको डिजिटल अधिकार किनिसकेका छन् । करिब २०० निर्मातासँग सहकार्य गरिसकेका छन् । उनै ओमप्रकाश अग्रवालसँग नेपाली फिल्म, डिजिटल अधिकार, स्रष्टाहरुको प्रतिलिपि अधिकार वरिपरि रहेर गरिएको कुराकानीको सम्पादित अंश :

– प्रदर्शन भएका ७० प्रतिशत नेपाली फिल्म तपाईंको ओएसआर डिजिटलबाट युट्युबमा आउँछन् । हलमा प्रदर्शन भएका ९० प्रतिशत फिल्मले लगानी उठाउन सकिरहेका हुँदैनन् । यस्तो अवस्थामा तपाईंहरु के आधारले फिल्महरुको डिजिटल अधिकार खरिद गर्नुहुन्छ ?

हलहरुमा पाँच प्रतिशत फिल्म राम्रोसँग चलिरहेका हुन्छन् । ती फिल्मले पैसा पनि कमाएका हुन्छन् । निर्माताहरुले पाँच करोडसम्म खर्च गरेर फिल्म बनाएका हुन्छन् । तर, ती सबै फिल्म सफल हुन्छ भन्ने ग्यारेन्टी हुँदैन । थिएट्रिकल रिलिज र च्यारिटी शो निर्माताको हुन्छ । त्योभन्दा बाहिरको अधिकार हामीले लिएका हुन्छौं ।

तर, फिल्म हलमा र च्यारिटीमा प्रदर्शन हुँदा हाम्रो पनि धेरै लगानी भइसकेको हुन्छ । दुईदेखि ५०-६० लाखसम्म लगानी भइसकेको हुन्छ । फिल्म निर्माणको क्रममा सम्झौता भएर रकम निकासा गरिसकेका हुन्छौं । हामीले फिल्म किन्दा नै जोखिम उठाएका हुन्छौं । फिल्म हाम्रो हात पर्दासम्म बैंकको ब्याज पनि धेरै भइसकेको हुन्छ । तर, ती सबै फिल्मले लगानी उठाउँछ भन्ने हुँदैन । युट्युबमा पनि दश प्रतिशत फिल्मले राम्रै कमाउँछन् । नराम्रा फिल्महरु भने डुबिरहेको हुन्छ ।

– के आधारमा फिल्म किन्नुहुन्छ ?

हामीले निर्देशक हेर्ने हो । निर्माता पनि हेर्ने हो । निर्माताले पहिला बनाएको फिल्म के हो ? राम्रो निर्देशक भयो भने हामी स्क्रिप्ट पनि हेर्दैनौं । निर्देशकको फिल्म पहिला नै हेरिसकेका हुन्छौं । हामी रामबाबु गुरुङ, दीपकराज गिरी, प्रदीप भट्टराईहरुलाई विश्वास गर्छौं ।

– नयाँ मेकरका फिल्महरुलाई के आधारमा लिनुहुन्छ ?

पहिला विश्वास गरेर ठिक्कको रकममा सम्झौता गर्थ्यौं । नयाँ मेकर आउँदा को कलाकार हो भनेर हेर्छौं । हाम्रो कामै त्यही हो । कतिपय अवस्थामा एक लाखले पनि मान्छेलाई गाह्रो भएको हुन्छ । दुई करोड लगानी भएको मान्छेको एक लाख पनि नउठेको हुनसक्छ । त्यस्तो हालतमा हामीले २० लाखसम्म दिएका छौं ।

त्यो उठ्ला या नउठ्ला, हामीले जोखिम उठाएका हुन्छौं । फेरि फिल्म सम्झौताको समय नै लामो हुन्छ । ९९ वर्ष भनेर समयावधि तोकेका हुन्छौं । हामीलाई लामो अवधि लिएर गर्नु केही पनि छैन । पाँच सात वर्षका लागि पनि सम्झौता गर्न सक्छौं । तर, पाँच वर्षमा ५ लाख पनि उठेको हुँदैन । हाम्रो २०-३० लाख लगानी भइसकेको हुन्छ । त्यसरी छोटो समयमा छाड्नुपर्दा हामीलाई गाह्रो हुन्छ ।

– ९९ वर्षको सम्झौताले त स्रष्टाहरुलाई मार पर्छ नि ?

हामीलाई पाँच वर्षका लागि भन्दा पनि लिइदिन्छौं । तर, सम्झौता रकम त्यहीअनुसारको हुन्छ । आज हामीले जमिन बेचेर फिल्म किनिरहेका हुन्छौं । हामीले निर्मातालाई यति वर्षका लागि दिनु भनेर भनेका छैनौं । हामीले २० लाखको फिल्म किनेका छौं । तर, दश वर्षमा २ लाखसमेत उठाएको छैन । त्यो भएकाले छोटो समय सम्झौता गरेर फिल्म छाड्नुपर्दा गाह्रो हुन्छ ।

निर्माताले फिल्म मलाई नै बेच्नुपर्छ भन्ने हुँदैन । निर्माताले आफ्नै च्यानल खोलेर राख्न पाउँछ । त्यो निर्माताको सम्पत्ति हो ।

डिजिटल अधिकार लिँदा हाम्रो ठूलो रकम लगानी भएको हुन्छ । त्यस्ता फिल्म दुई-पाँच वर्षमा छाड्दै जाने हो भने हामी उठाउन सक्दैनौं । २० लाखमा किनेको फिल्मले पाँच वर्षमा चार लाख कमायो । अनि निर्माताले फिल्म झिक्ने भए । त्यस्तो अवस्थामा १६ लाख दियो भने फिल्म फिर्ता गर्छौं ।

– फिल्म सृजना पनि हो । त्यहाँ स्रष्टाको प्रतिलिपि अधिकार पनि हुन्छ । गीत, संगीत, स्क्रिप्टलगायत स्रष्टाको सृजना हो । आज नउठे पनि एक न एक दिन रोयल्टीको कुरा उठ्छ नै । त्यस्तो अवस्थामा भोलिका दिनमा समस्या नआउने तरिकाले कसरी काम गरिरहनुभएको छ ?

हामीले समस्या आउने गरी काम गरेका छैनौं । पैसाको पछि लाग्दैनौं पनि । पैसाभन्दा ठूलो कुरा इज्जत हो । निर्माताले गीतकार, संगीतकारसँग लाइसेन्स किनेको हुन्छ । लाइसेन्स लिएपछि त्यो कन्टेन्ट निर्माताको हो ।

निर्माताले फिल्म मलाई नै बेच्नुपर्छ भन्ने हुँदैन । निर्माताले आफ्नै च्यानल खोलेर राख्न पाउँछ । त्यो निर्माताको सम्पत्ति हो । तर, संगीतकार र गीतकार पनि यहाँ टिक्नुपर्छ । उहाँहरुले रोयल्टी पनि पाउनुपर्छ । उहाँहरुले अटोमेटिक डिजिटल प्ल्याटफर्मबाट रोयल्टी पाइरहनुभएको छ । उहाँहरुले गीत बनाएर बेच्नुभयो, तर केही पाउनुभएन । सबै कमाइ डिजिटल कम्पनीहरुले पायो भन्ने हुँदैन ।

हामीले गीतकार, संगीतकारसँग कन्टेन्ट किनेको पनि छैन । कसैको गीत ओएसआरमा हाल्दा पाँच वर्षको सम्झौता हुन्छ । त्यहाँ चित्त बुझेन भने पाँच वर्ष होइन, पाँच घण्टामा गीत निकालिदिन्छु । निर्माताले यो गीत चाहिँ मेरो फिल्ममा हालेर बेचबिखन गर्ने सम्पूर्ण अधिकार मेरो हुन्छ भनेर लिएको हुन्छ । त्यो लाइसेन्स निर्माताबाट हामीले लिने हो ।

– गायक प्रेमध्वज प्रधान रोयल्टीको विषयमा लड्दालड्दै बित्नुभयो । निर्मातासँगै स्रष्टा, सर्जकको पनि सृजनामा प्रतिलिपि अधिकार सुरक्षित हुन्छ । भविष्यमा यस विषयलाई लिएर समस्या आउनसक्छ भन्ने कुरामा सचेत हुनुहुन्छ कि हुनुहुन्न ?

एउटा फिल्ममा धेरैको श्रम खर्च भएको हुन्छ । मेरो पनि व्यवसाय हो । अहिलेसम्म धेरैले ओएसआरलाई डिजिटल अधिकार किन बढी दिएको छ भन्दा सायद हामी इमानदार र स्पष्ट भएर नै हो । अहिलेसम्म यति धेरै फिल्म किन्दा कसैलाई पनि मलाई नै फिल्म दिनु भनेर भनेको छैन । मैले ‘छक्कापञ्जा ४’ को डिजिटल राइटस् किनें । राम्रो रकम दिएपछि मैले यो फिल्मको लाइसेन्स लिएको छु । अब यसमा समस्या आउने सवालै छैन नि !

– निर्माताले केही पारिश्रमिक दिए पनि स्रष्टाको प्रतिलिपि अधिकार त हुन्छ नि ?

स्रष्टाको हक त हुन्छ नै । निर्माताले पनि उहाँहरुको सृजना किनेपछि भिजुअल बनाउनुहुन्छ । त्यहाँ खर्च पनि हुन्छ । प्रमोसनमा खर्च हुन्छ । त्यसपछि लाइसेन्स हामीलाई बेच्नुहुन्छ । रोयल्टी त सबै स्रष्टाले पाउनुपर्छ । उहाँहरु पनि टिक्नुपर्छ । उद्योग बाँच्नुपर्छ । तर, गीत निर्मातालाई बेचिसकेपछि निर्माताको हातमा लाइसेन्स आइसकेको हुन्छ । त्यो लाइसेन्स हामीले किन्ने हो ।

– डिजिटल राइटस् किनेर व्यवसाय गरिरहनुभएको छ । यो अन्य व्यवसायको तुलनामा सुरक्षित हो ?

सुरक्षित त छैनौं । हामीले फिल्म मलाई देऊ भनेर पनि भन्दैनौं । निर्माताको फोन आउँदासमेत डर लाग्छ । फिल्म बनाउन सुरु भएपछि धेरै लगानी गर्नुपर्छ । कतिपय फिल्म रोकिन्छन् । त्यो रोकिँदा लगानीको ब्याज बढिरहेको हुन्छ । तरै पनि हामी सबैले उद्योगलाई बचाउनुपर्छ जस्तो लाग्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर