कोशीका मुख्यमन्त्री केदार कार्कीलाई सकस : एमाले च्याप्ने कि माओवादी बोक्ने ? – Nepal Press

कोशीका मुख्यमन्त्री केदार कार्कीलाई सकस : एमाले च्याप्ने कि माओवादी बोक्ने ?

विराटनगर । केन्द्रीय सत्ता गठबन्धनका शीर्ष नेताहरूको दबाबका कारण कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई मन्त्रिपरिषद् विस्तारमा सकस परेको छ । दसैँअगाडि नै मन्त्रिपरिषद् विस्तारको तयारी गरेपनि शीर्ष नेताहरूको दबाबका कारण उनले मन्त्री थप्न सकेका छैनन् । मन्त्रिपरिषद् विस्तारका लागि थप छलफल गर्न कार्की पुन: काठमाडौं पुगेका छन् ।

एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले कांग्रेस पार्टीमा आफूसहित ८ सांसदको विद्रोहलाई वैधानिकता दिएसँगै माओवादी र समाजवादीलाई सरकारमा भित्र्याएर एमालेलाई चिढ्याउन नचाहेको बताइएको छ । काठमाडौंबाट फर्किएपछि उनले एमालेका राम राना र कांग्रेसका आफू पक्षका शमसेर राईलाई मन्त्री बनाए ।

तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाले भने केन्द्रीय गठबन्धनअनुसारकै सरकार बनाउन दबाब दिइरहेका छन् । त्यसमाथि पनि माओवादीलाई सहभागी गराउन बढी दबाब आएको स्रोतको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले भने देउवा-शेखरसँग आफू बसेर गरेको ‘चिर्केटो सम्झौता’ उल्लेख गर्दै हाललाई एकजना मात्र मन्त्री बनाउने सहमति भएकोमा एमालेले एकजना मन्त्रीमा छिराइहालेको भन्दै धनगढीको समाजवादी मोर्चाको सन्देशसभामा बताएका थिए ।

गठबन्धनकै सरकार बनाएमा एमाले सत्ताबाट बाहिरिनेछ ।

एमालेसँगको सहकार्य तोड्न निरन्तर केन्द्रबाट दबाब आएपछि कोशी प्रदेशको सत्ता सहयात्री एमालेलाई मन्त्रिपरिषद् विस्तारका लागि समय माग गर्दै थप छलफल गर्न भनेर मुख्यमन्त्री कार्की काठमाडौं लागेका हुन् । उनले एमालेसँगको भेट र छलफलमा भने एमालेको माग र सर्तभन्दा विपरीत आफू नजाने प्रतिवद्धता जनाएका छन् ।

दसैँ बिदामा मुख्यमन्त्री कार्की एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री हिक्मत कार्कीलाई भेट्न उनको निवास झापाको गौरादह पुगेका थिए । त्यहाँ उनले केही समय माग्दै आफूलाई साथ दिएकाले एमालेसँगै मिलेर मन्त्री थप्ने विश्वास दिलाएको बताइएको छ ।

एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने, ‘यदि मन्त्रिपरिषद्‍मा माओवादीलाई पनि सामेल गराइए हामी प्रतिपक्षमा बस्छौं । अहिलेसम्म मुख्यमन्त्री हामीसँग पोजेटिभ हुनुहुन्छ । उहाँ काठमाडौंबाट फर्किएपछि थप छलफल गरेर मन्त्रिपरिषदको टुङ्गो लाग्छ ।

एमालेले मुख्यमन्त्री कार्कीसँग छलफल गरेर मन्त्रिपरिषद्का बारेमा टुंगो लगाउन दलका उपनेता तथा मन्त्री राम राना र प्रमुख सचेतक भण्डारीलाई जिम्मेवारी दिएको छ । भोलि (आइतबार) मुख्यमन्त्री विराटनगर आएपछि छलफल हुने उनले बताए ।

दबाबमा मुख्यमन्त्री

केन्द्रीय सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार माओवादी संसदीय दलका नेता इन्द्र आङ्वोलाई बनाउने निर्णय गरेपछि केदार कार्कीले विद्रोह गरेका थिए । आफूसहित ८ जना प्रदेशसभा सदस्यको हस्ताक्षर लिएर आएका कार्कीलाई एमालेका ३९ सांसदले समर्थन गरेका थिए ।

असोज २७ मा मुख्यमन्त्री बनेका कार्कीलाई गठबन्धनका सबै दलले कात्तिक १ गते विश्वासको मत दिएका थिए । केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलहरूले केदार कार्की नै गठबन्धनको उम्मेदवार भएको भन्दै निर्णय सच्याएका थिए ।

डा. शेखर कोइरालानिकटका कार्कीले विद्रोह गरेपछि उनको विद्रोहपछि शेखरसहित बसेर कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच गठबन्धन नतोड्ने सहमतिको चिर्कटो सार्वजनिक भएको थियो ।

मुख्यमन्त्री कार्कीनिकट एक नेता भन्छन्, ‘मुख्यमन्त्री जसको बलमा बन्नुभएको हो त्यसलाई धोका दिने कुरा हुँदैन । केपी शर्मा ओली र डा. शेखर कोइरालाको पहलमा यो सरकार बनेको हुनाले अहिले माओवादी र समाजवादीलाई मन्त्रिपरिषद्‍मा भाग दिने सम्भावना देखिन्न ।’

कार्की शीर्ष नेताले दबाब दिइरहनेपनि अहिले माओवादीलाई सरकारमा सामेल गराउन इच्छुक नदेखिएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर