अबको युग ग्लोबल दसैँः धन्यवाद नेपाली युवा, धन्यवाद एनआरएन ! – Nepal Press
ब्लग

अबको युग ग्लोबल दसैँः धन्यवाद नेपाली युवा, धन्यवाद एनआरएन !

अस्ट्रेलियाली प्रधानमन्त्रीको शुभकामना, अमेरिकामा कानूनदेखि विश्वचर्चित फुटबल क्लबहरूको शुभकामनासम्म

बेइजिङ। अष्टमीमा भुटानका राजा जिग्मे केशर नाम्ग्याल वाङ्चुक भुटानको राजधानी थिम्पुमा रहेको देवी पाञ्चायन मन्दिर पुगेर पूजाआजा गरे । दसैँको पूर्वसध्यामा गरिएको पूजा थियो त्यो । यो तस्बिर भुटानी राजाले सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन् । भुटानी राजाले दसैँको टीका लाउने गरेका तस्बिरहरू पछिल्ला वर्ष सामाजिक सञ्जालमा आइरहेको छ ।

भुटानी पूर्वप्रधानमन्त्री छिरिङ तोब्गेले दसैँ शुभकामनाको भिडिओ सन्देशमा भनेका छन्, ‘नमस्कार ! हाम्रो भुटानको महत्वपूर्ण चाड दसैँमा सबैजनालाई मेरो परिवार र मेरो तर्फबाट हार्दिक मंगलमय शुभकामना । दसैँ खुसी ल्याउने पर्व हो ।’

प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीसम्मको भूमिकाका उनको शुभकामनामा ‘भुटानको महत्वपूर्ण पर्व’ भनिएको छ । यसले पनि देखिन्छ दसैँ नेपालीकोमात्रै पर्व होइन भन्ने बुझिन्छ । यो त भुटानको पनि पर्व हो । जहाँ राजादेखि प्रधानमन्त्री सक्रिय सहभागी हुन्छन् ।

भुटानको सत्ताधारीहरूबाट दसैँको शुभकामना आउनु दुई कोणमा महत्वपूर्ण छ । एक, कुनै बेला आफ्नो भाषा धर्म संस्कृति मान्दा नेपाली भाषाी भुटानी धपाएको भुटान अहिले त्यो क्रुरताबाट अगाडि आएर नरम हुने लाइन छ । उसले नेपाली भाषी भुटानीको धर्म संस्कृतिलाई स्वामित्व लिएको छ वा लिन बाध्य भएको छ । दुई, दसैँको महत्व अब नेपाली दशगजाबाट पर पुगिसकेको छ । यो त भयो भुटानको कुरा । जुन हुन भुटानकै भूमिका छ । नेपालका नेपाली वा एनआरएनहरूको छैन ।

नेपालमै बसोबास गर्नेदेखि एनआरएनहरूकै कारण दसैँ ग्लोबल भएका अरु अरु गज्जब उदाहरणहरू पनि छन् ।

यो पनि पढ्नुस् : चार महादेशका चार नेपाली : कसले कसरी दसैँ मनाउँदै छन् ?

चैतको दसैँदेखि, असोज-कात्तिकको बडादसैँको लहरमा अर्को दसैँ मिसिएको छ, ग्लोबल दसैँ । नेपाल र नेपालीको प्रताप विश्वभर पुगेसँगै दसैँ अब ग्लोबल हुन गएको छ । ग्लोबल दसैँका आकर्षक बाछिटाहरु विश्वभर फैलिइरहेका छन् । विश्वका प्रतिष्ठित क्लबदेखि क्याबिनेटसम्म दसैँको शुभकामनाले स्थान पाएका छन् ।

बेलायतीदेखी स्पेनी क्लबहरूले दिएको दसैँ शुभकामना

हालसालै दसैँमा विश्वका चर्चित दुई फुटबल क्लबले शुभकामना दिएका छन् । फेसबुकमा १२ करोड बढी फलोअर भएको स्पेनिस क्लब रियल म्याड्रिडले २०८० को दसैँको शुभकामना दिएको छ । नेपालमा भएका आफ्ना समर्थकलाई सम्मान गरेर शुभकामनाको अगाडि नेपाली झण्डा राखेर क्लबले शुभकामना दिएको छ । यसले स्पेनी क्लबको नेपाली समर्थकलाई मात्रै होइन दसैँको ग्लोबल ब्राण्डिङमा सहयोग पुगेको छ ।

यस्तै चार करोड २० लाख बढी फेसबुक फलोअर भएको बेलायती फुटबल क्लब आर्सनलले पनि दसैँ र तिहारको एकमुस्ट शुभकामना दिएको छ । उसले विश्वभरका नेपालीहरूलाई उक्त शुभकामना दिएको छ । यसले पनि दसैँको गरिमा र क्लबको नेपाली अपनत्व बढाउन सहयोग पुर्‍याएको छ ।

आज नेपाली युवाहरूले विश्वका क्लबहरूको समर्थक हुँदा ती क्लबको नेपालमा महत्व मात्रै बढाएका छैनन्, नेपाल र नेपालीको दसैँ तिहार जस्ता चाडहरु पनि उनीहरुले विश्वभर नोटिसमा ल्याउन सफल भएका छन् । यो नेपाल सरकार र नेपालका तलबी कूटनीतिज्ञहरूको कूटनीतिले भएको होइन । यो नेपाली युवाहरूको गुडविलले भएको हो । यसमा नेपाली युवा धन्यवादका पात्र छन् । विश्वको सबैभन्दा लोकप्रिय खेलका दुई नामी क्लबहरूको नजरमा दसैँ पार्न सफल हुनु नेपाली युवाको मात्रै होइन नेपाली संस्कृतिको पनि एक खुशीको क्षण हो । अहिले समर्थकमात्रै हुँदा विश्व फुटबलका हस्ती क्लबको आँखामा पर्न सफल नेपाली संस्कृति भोलि नेपाली खेलाडी, कोच, रेफ्री आदिको रूपमा ती क्लबमा प्रवेश भएको दिन झनै बढेर जाने सम्भावना देखिएको छ । राज्य तहमा देशको विश्व हैसियत कमजोर भइरहेको बेला नागरिक तहमा यो स्तरको सकरात्मक मार्क बन्नु चानचुने कुरा होइन । त्यसैले धन्यवाद नेपाली युवा । धेरै धेरै धन्यवाद नेपाली खेलप्रेमी युवा ।

अस्ट्रेलियाको प्रधानमन्त्री कार्यालयदेखि अमेरिकी सदनमा दसैँ माहोल

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी एल्बानेजले दसैँको शुभकामना दिए । उनले प्रधानमन्त्री कार्यालयको लेटरहेडमै शुभकामना दिएका छन् । असत्यमाथि सत्यको जितको पर्व भन्दै एल्बानेजले अस्ट्रेलियाभरका समुदायहरूले हप्तौंदेखि दसैँको तयारीमा लागेको भन्दै शुभकामना दिएका छन् ।

अस्ट्रेलियाका प्रधानमन्त्रीले दसैँको शुभकामना दिनुमा नेपाली दाजदूतको योगदान छैन, त्यहाँका नेपालीहरूको योगदान छ । अस्ट्रेलिया भ्रमणमा जाने नेपाली सत्ताधारी अनुहारको योगदान छैन । अस्ट्रेलियामा बसेर आफ्नो उपस्थिति देखाउन सफल नेपाली समुदयाको योगदान छ । भन्न सकिन्छ भोटको लागी प्रधानमन्त्रीले शुभकामना दिए । तर, भोटकै लागि पनि त देखिने सुनिने समुदायमा नेपाली परेछन् । भोटकै लागि पनि त नेपाली समुदाय अब प्रभावशाली समुदायमा एक समुदाय हुन पुगेछ । विदेशमा बसेर नेपालको चिन्ता नगर भन्ने धम्की दिने नेता तथा कार्यकर्तालाई पनि आफूले मान्ने दसैँ शुभकामना अस्ट्रेलिया जस्तो शक्तिशाली र विकसित देशको प्रधानमन्त्रीबाट आउँदा खुशी नै ल्याएको छ । अब त उनीहरूलाई पक्कै थाहा भयो होला एनआरएनले नेपाली नेताभन्दा धेरै नेपाल चिनाउन सहयोग गरेका छन् ।

अमेरिकी खबर झनै सुन्दर छ । अमेरिकाको मेरिल्याण्डको प्रदेशसभाले गत अक्टोबर १ मा एक कानून लागू गर्‍यो । कानूनले हरेक वर्षको अक्टोबर ५ लाई ‘दसैँ डे’ मनाउने घोषणा गरेको छ । अमेरिकी राज्यमा बस्ने नेपालीहरूको चाडको सम्मानमा ‘दसैँ डे’ घोषणा भएको हो । यो पनि नेपाली नेता, प्रधानमन्त्री, राष्ट्रपति अथवा अमेरिकाका लागी नेपाली कूटनीतिज्ञहरूले गरेको पहल होइन । यो त नेपालमा जन्मेर अमेरिका पुगेका ह्यारी भण्डारीले गरेको पहल हो । प्रदेश सांसद भण्डारीले पहल गरेर कानूनीरूपमै अब अमेरिकाको प्रदेश सरकारले दसैँलाई मान्यता दिएको छ ।

उसो त दीपावाली मनाउने अमेरिकी राष्ट्रपतिदेखि बेलायती प्रधानमन्त्रीका तस्बिर नआएका होइनन् । तर, त्यो नेपाली शैलीको दीपावली नभएर भारतीय दीवालीको शुभकामना हो । एकै सभ्यताको चाड भएपनि नेपाली मौलिकता सम्मान गरेर त्यो शुभकामना आएको होइन । त्यो भारतीय डायस्पोराको सम्मानमा हो । दसैँ भने नेपालीहरूकै हो । नेपालीहरूको मौलिक पर्व नै हो । त्यसैले दीपावली शुभकामनामाभन्दा धेरै खुशी दसैँ शुभकामनामा मान्नुपर्छ ।

आज अमेरिकाको एउटा सदनमा एक नेपाली पुग्दा दसैँले कानूनी मान्यता पायो । अब अरु सदनमा अरु नेपाली पुग्दा त्यसले थप महत्व र ब्राण्ड पाउनेछ । मेरिल्याण्ड राज्यको उदाहरण दिएर अरु राज्यमा त्यसले थप सहज अभियान बन्न सहजता हुनेछ । भोलिका दिनमा अमेरिकी रास्ट्रपति तहबाटै शुभकामना दिने ट्रयाक पनि यसैबाट खुलेको छ । आज नेपालीको पर्वलाई अमेरिकामा पनि कानूनी मान्यता दिनुमा ह्यारी भण्डारीको योगदान छ । ह्यारीले प्रतितिधित्व गर्ने नेपाली डायस्पोराको योगदान छ । त्यसैले धन्यवादन ह्यारी । धन्यवाद एनआरएन ।


प्रतिक्रिया

One thought on “अबको युग ग्लोबल दसैँः धन्यवाद नेपाली युवा, धन्यवाद एनआरएन !

  1. दशैंको मुल चरित्र मा नगईकन एनआरएन को भरौटे बनेर दशैं र नेपाल मै बस्ने भन्दा बिदेश जाने र बिदेशमा दशैं मनाउने शुभकामना दिइएको कुराको जुन उत्साहमा लेख्यौ नि भाइ त्यो शुरु देखि अन्त्य सम्म तिम्रो दृष्टिकोण र नियत राम्रो छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *