चार महादेशका चार नेपाली : कसले कसरी दसैँ मनाउँदै छन् ? – Nepal Press

चार महादेशका चार नेपाली : कसले कसरी दसैँ मनाउँदै छन् ?

बेइजिङ । दसैँ दशजगाभित्रको मात्रै पर्व रहेन । किनभने नेपालीहरू विश्वभर छरिएर रहेका छन् । दसैँ नेपाली नागरिकताधारीहरूको मात्रै पर्व रहेन । दसैँ नेपाली भाषी विश्वभरका विभिन्न नागरिकको पनि पर्व हो । किनभने नेपाली भाषी नेपालका मात्रै नागरिक छैनन् । विश्वभरका छन् । आवासीय नेपालीदेखि गैरआवासीय नेपालीसम्मको साझा पर्व हो- दसैँ । नेपालबाहिरका नेपालीले कसरी दसैँ मनउँदैछन् ? चार महादेशका चार नेपालीसँग कुराकानी गरेर यो सामग्री तयार पारिएको छ ।

धरानबाट किनेका नयाँ लुगा, पिङ धेरै मिस हुन्छः इन्दु गौतम, स्कटल्याण्ड

तेह्रथुमको मेन्छ्यायेम गाँउपालिकाको मुकाम मोराहाङ बजारमा बाल्यकाल बिताएकी इन्दु गौतम बेलायत पुगेको डेढ दशक भयो । देशबाहिर भएको दसैँ पनि उत्तिकै समयको भयो । स्कटल्याण्डमा दुई सन्तान र श्रीमान्‌सँगै बस्दै आएकी उनी आमा, गृहिणी र कामकाजी महिलाको भूमिकामा छिन् । अष्टमीको दिनसम्म काममा व्यस्त उनले नवमी र दशमीमा बिदा मिलाएकी छिन् । स्कटल्याण्डको एयर भन्ने ठाउँमा ज्यादै कम नेपाली भएको क्षेत्रमा उनी बस्छिन् । टीकाको दिन उनी डेढ घण्टा ट्रेन चढेर भावनात्मक नाताका दाजुभाउजूकोमा टीका थाप्न सपरिवार जाँदैछिन् ।

इन्दुलाई तेह्रथुमको मोराहाङ गाउँको पिङ खेलेको, ठूलो परिवारमा मनाएको दसैँ, लाएको टीका र पाएको आशीर्वाद मिस हुन्छ । नेपाल प्रेससँग उनले धरानबाट चार हप्ता अगाडि दसैँको नयाँ लुगाको बास्ना, साथीहरूलाई देखाउँदाको खुशी सम्झिइन् । राति-राति पिङ खेलेको, ठूलाबडाकोमा गएर आशिष लिएको, कुन घरमा कत पैसा आउँछ भनेर हिसाबकिताब गरेका रमाइला सम्झना झलझली आउने इन्दु बताउँछिन् ।

उनी भन्छिन्, ‘हात र मुखबाट लिएका आशीर्वाद धेरै मिस हुन्छ ।’

विदेशको दसैँ न्यास्रो नबनाउन सामाजिक सञ्जाल धेरै उपयोगी भएको इन्दु सुनाउँछिन् ।

‘सन् २००९ मा पहिलो दसैँ यता मनाउँदा काठमाडौंमा मात्रै स्काइपमा सम्पर्क सजिलो थियो, गाँउमा थिएन’, इन्दु भन्छिन्, ‘अहिले त गाँउमा पनि मज्जाले भिडियो च्याट गर्न सकिन्छ । सजिलो छ ।’

टीकामा पसल बन्द गर्ने गरेको छुः प्रसन्न संग्रौला

पूर्वी नेपालको काकडभिट्टा बसपार्कनजिकै जन्मिएका प्रसन्न संग्रौलाको दसैँ पनि बसपार्कसँगै जोडिएको छ । दसैँ लागेपछि बसपार्कमा आउने हुलका हुल मान्छेहरूमा आफ्नाहरूको अनुहार खोज्ने ती दिन उनको दिमागमा ताजै छ । डाइस र तास खेलेका दसैँ सम्झना उनले पनि सुनाए । झापा, इटहरी, काठमाडौं, नर्वे हुँदै अमेरिका पुगेका उनी सन् २००५ अक्टोबरदेखि नियमित विदेशी दसैँ अनुभव लिइरहेका छन् । नर्वेमा पुग्दाका दसैँ निरस भएपनि अमेरिकी दसैँहरू भने सम्झना लायक भएको उनी सुनाउँछन् ।

सन् २०१५ पछिका हरेक दसैँ सम्झनालायक भएको उनी बताउँछन् । आफ्नाहरू र आमाबुबा अमेरिका भएपछि दसैँ रोचक भएको उनी बताउँछन् । सन २०१९ मा इटहरी आएर मनाएको दसैँबाहेक हरेक दसैँ विदेशमा मनाएका संग्रौला यो दसैँमा आफ्नो पसल टीकाको दिन बन्द गर्ने योजनामा छन् । बाल्टिमोर राज्यले दसैँ डेलाई औपचारिकता अक्टोबर ५ दिएको भन्दै यो सम्भव हुने उनले बताए ।

आफ्नो दसैँ नहुने भएपनि पसलमा काम गर्ने नेपालीलाई दसैँ मनाउन सहज गर्न यस्तो गरिएको उनले बताए । आफ्ना तीन वर्षका जुम्ल्याहा छोरी चार वर्ष पुगेपछि अर्को साल नेपालमा दसैँ मनाउने उनको योजना छ । आफू अमेरिकामा दसैँ मनाउन ‘एक्स्ट्रा माइल’ जाने भन्दै संग्रौलाले छोरीहरूले सिकुन् भनेर जमरालगायतका विधि सबै गर्ने गरेको बताए । आफ्ना छोरी पढ्ने स्कुलमा दसैँका दिन गयल नगर्ने व्यवस्था गर्न पर्वको बारेमा केही पहल गर्ने योजना भएको समेत उनले सुनाए । अमेरिकामा संग्रौलाले सम्झने दसैँ सन् २०१७ को हो जतिबेला भर्जिनियाको नर्दन साइडमा आफ्ना मातापिताको हातबाट टीका थाप्न १५० हाराहारी नेपालीहरूको जमघट भएको थियो । अहिले भूगोलबाट पर भएपनि सामाजिक सञ्जालले नजिक गराएको उनी बताउँछन् ।

परदेश र घरदेशको दसैँ सामाजिक सञ्जालले जोडेको छः आशिष विश्वकर्मा

भोजपुरको हतुवागढी गाँउपालिका-१ मा १६ वर्षसम्म किशोर जिन्दगी बिताएका आशिष विश्वकर्माले पछि इटहरी ४ मा युवावय समय बिताए । विगत ६ वर्षदेखि उनी अस्ट्रेलियाको ताज्मिनियामा छन् । उनको दसैँ उतै छ । खासमा आमाबुबा नहुनु भएकोले दसैँ खल्लो हुने उनी बताउँछन् । तर पनि, दसैँ विदेशमा बसेर विदेशकै शैलीले मनाउँदै आएका छन् । कतिपय विदेशमा हुने नेपालीले बिहान काम हुँदा साँझमा टीका लाउने र साँझमा काम हुनेले बिहान लाउने गरेको उनले बताए । अग्रजहरूबाट टीका लाउने प्रचलन भएको उनी बताउँछन् । उनले यो दसैँमा टीकाको दिन कामबाट आराम लिएर मनाउने तयारी गरेका छन् ।

आशिषलाई सबैभन्दा धेरै दसैँको मिस हतुवागढीकै हुन्छ । घरघरमा जमरा राखेको, खसी सुँगुर मार हानेको, खसी पालेको, केराका घरी राखेको, चिउरा कुटेको, मालाश्री गाएको, परदेशबाट दाजुभाइ आएकोदेखि फूलको रंगले गाँउघर ढाकेका दिन उनी सम्झिन्छन् ।

भन्छन्, ‘मिल्ने भए त पुनः बाल्यकालमै फर्किएर दसैँ मनाउन पाए हुन्थ्यो जस्तो लाग्छ । तर, के गर्नु अब गाउँमा गाँउ नै छैन । सहर पस्ने, परदेश जाने चलन बढ्यो ।’

अर्को वर्ष चैँ नेपालमा गएर दसैँ मनाउने उनको योजना छ । नेपालमा जस्तो साइतको टीका लाउन विदेशमा सम्भव नभए पनि सम्भव जसरी नेपालीहरू भेला हुने, रमाइलो गर्ने, टीका लाउने भने गज्जब चलन भएको आशिषले सुनाए ।

परदेशको दसैँलाई घरदेशको दसैँमा जोड्न सामाजिक सञ्जालले सहयोग गरेको भन्दै उनी भन्छन्, ‘आफन्तसँगै छु जस्तो बनाइदिएको छ । टाढा छु जस्तो पनि नहुने । नेपालमा भएको भिडिओमा हेर्न पाइने ।’

नेपाली परिकार बनाएर दसैँ मनाउने योजना छः सुलोजा खड्का

काठमाडौं बालुवाटारकी सुलोजा खड्काको पहिलो विदेशको दसैँ अनुभव यही बर्ष हो । तीन दिदीबहिनी र आमाको परिवारमा आमाको एक्लो दसैँ पनि यहि वर्ष भयो । एक बहिनी टोकियो, एक बहिनी चीनको सियान र सुजोला सांघाईमा छिन् । सबैलाई घर फर्किने अवसर यो दसैँमा मिलेन । फुतान विश्वविद्यालयकी विद्यावारिधिकी विद्यार्थी सुलोजाले विश्वविद्यालयको कम गयल हुने नियमको कारणले जान नपाएको बताउँछिन् । तर, नेपाल जान नपाए पनि सामाजिक सञ्जाल खासगरि विच्याटबाट जोडिने उनी बताउँछिन् ।

चीनमा पनि दसैँ र तिहारको तयारी उनले गरिरहेकी छिन् । दसैँको दिन नेपालीहरू भेला हुने, नेपाली परिकार बनाउने र दसैँ मनाउने उनको योजना छ । दसैँ र तिहारको प्याकेज उत्सव भने उनले इस्ट चाइना नर्मल युनिभर्सिटीमा मनाउने योजना छ । युनिभर्सिटीको सांस्कृतिक कार्यक्रममा नेपाली देउसी भैलो कार्यक्रम पनि यही नोभेम्बर ४ मा भएको भन्दै सुलोजाले आफू त्यता पनि सहभागी हुने बताइन् ।

विद्यावारिधिको पहिलो सेमेस्टरको कक्षाहरु धमाधम भइरहेकोले आफूले त्यता धेरै समय दिनाले यो दसैँ पहिला जस्तो नभएको उनले बताइन् । उनको फुतान विश्वविद्यालयमा शनिबार र आइतबार भने बिदा हुन्छ । त्यही सप्ताहन्त बिदामा मज्जाले दसैँ मनाउने योजना सुलोजाको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *