समीक्षादेखि दीपकसम्म- कसले कसरी मनाउँदै छन् दसैँ ? – Nepal Press

समीक्षादेखि दीपकसम्म- कसले कसरी मनाउँदै छन् दसैँ ?

काठमाडौँ । दसैँ भन्नेबित्तिकै धार्मिक आस्था र परम्परा अनुसार पूजा आराधना गर्ने, पारिवारिक जमघट र विशेष खानपानमा रम्ने अवसरका रूपमा लिइन्छ । काम विशेषले जन्मथलोबाट टाढा रहेका पनि दसैँकै बहानामा आफ्नो गाउँघर फर्किने गर्छन् भने आफन्तसँग बसेर रमाउँछन् । यही परिवेशमा सधैँ व्यस्त रहने कलाकार कोही आफ्नै क्षेत्रमा व्यस्त छन् । कोही जन्थलोमा पुगेर दसैँ मनाइरहेका छन् । कलाकारले दसैँ कसरी मनाइरहेका छन् त ?

दीपकराज गिरी

कलाकार दीपकराज गिरी यस वर्षको दसैँलाई सामान्य किसिमले मनाइरहेको बताउँछन् । गिरी शाकाहारी भएको १५ वर्षभन्दा बढी भइसकेकाले उनी मासुजन्य पदार्थबाहेक अरु खानेकुरामा रमाउँछन् ।

उनले नेपाल प्रेससँग भने, ‘मेरो दसैँ काठमाडौं भित्रै भए पनि अलिकति रिङरोड भन्दा टाढा चन्द्रागिरीमा गाउँमा मनाइरहेको छु । यहाँ परिवार, आफन्त र बालपनका साथीभाइ भेला हुने रमाउने गरिरहेको छु । मदिरापान धेरै गरिदैँन । सामान्य वियर खाएर रमाइलो गरिरहेको छु । दसैँमा लागेका सबै चलचित्र पनि हेरेर सकियो । दसैँमा पनि आफ्नो चलचित्र हलमा चलचित्र हल सञ्चालन तथा प्रमोशन गरिरहेको छु ।’

सुरक्षा पन्त

नायिका सुरक्षा पन्त यस वर्षको दसैँमा एकदमै फरक ढङ्गले मनाइरहेकी छन् । मानव सुवेदीसँग यसै वर्ष विवाह बन्धनमा बाँधिएकी उनी श्रीमान्‌को परिवारसँग पहिलो पटक झापामा दसैँ मनाइरहेकी छन् ।

उनले भनिन्, ‘विवाहपछिको मेरो पहिलो दसैँलाई नयाँ परिवारसँग मनाउँदा विशेष भइरहेको छ । एक हप्तादेखि यतै छु । नयाँ परिवारमा दसैँ मनाउन पाइदाँ एकदमै नयाँ र रमाइलो महशुस गरिरहेकी छ ।’

सामान्यतया चलचित्र छायाँकनमा बेला झापातिर पुगे पनि यसरी झापाका भित्री गाउँ घुम्न नपाएकाले अहिले घुमघाम पनि गरिरहेको उनले बताईन ।

समीक्षा अधिकारी

गायिका समीक्षा अधिकारी आफ्नो जन्मघर कास्कीको माछापुच्छ्रे गाउँपालिका एकमा रहेको घरमा फूलपातीकै दिन पुगिसकेकी छन् । उनी आफ्ना हजुरआमा बुवा, आमा दाइ लगायत आफ्न्तको हातबाट टीका लगाउने तयारीमा छन् । यद्यपि उनकी दिदी सर्मिला अधिकारी नेपाल बाहिर भएकाले अलिकति नरमाइलो भने महसुस गरिरहेकी छन् ।

उनले भनिन्, ‘दसैँको मौकामा घर आएर गाउँघरमा साथीभाइसँग रमाइरहेकी छु । टीकाको दिन हजुरआमा, बुवा, आमा र दाइ तथा आफन्तबाट टीका लगाउँछु । यस वर्ष दिदी घरमा नभएकाले अलिकति नरमाइलो महसुस गरिरहेकी छु ।’

दसैँमा घर पुगेका बेला उनी फुर्सद निकालेर टिकटकमा लाइभ बस्ने, मोवाइलबाट फोटो खिच्ने, भिडियो बनाउने काम गरेर पनि रमाइरहेकी छन् ।

उनले थप्दै भनिन्, ‘गाउँमा यसै पनि रमाइलो नै हुन्छ । गाउँको हरियाली बातावरण देखेपछि फोटो खिच्न, भिडियो बनाउन सारै मन पर्छ र त्यो पनि गरिरहेकी छु । बेला–बेलामा टिकटकमा लाइभ पनि बस्ने गरेकी छु ।’

एक सातापछि काठमाडौं फर्किएर डोल्पा, इटहरीलगायतका ठाउँमा आयोजित मेला महोत्सवमा सहभागी हुने उनको तालिका छ ।

खगेन्द्र लामिछाने, अभिनेता तथा लेखक

अभिनेता तथा लेखक खगेन्द्र लामिछाने यस वर्ष आफ्नो जन्म घरमा गएका छैनन् । जन्मघर स्याङ्जा भए पनि आफ्नो चलचित्र ‘पशुपति प्रसाद २ः भस्मे डन’ को प्रदर्शन सुरु भएका कारण काठमाडौँमै बसिरहेका छन् । यस वर्ष परिवारमा टीका नहुने भएकाले घर नगएको उनले बताए ।

आस्था राउत, गायिका

गायिका आस्था राउत अष्टमीदेखि नेपालको पूर्वी क्षेत्रमा सुरु हुने भएको साङ्गीतिक भ्रमणमा छन् । उनको नयाँ गीत ‘लै बरी लै’ घटस्थापनाको दिन सार्वजनिक भइसकेको छ ।

उनले भनिन, ‘दशमीका दिन फिदिममा दशमी मेला समितिले आयोजना गर्ने महोत्सवमा प्रस्तुति दिँदैछु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *