युद्धले बिथोलिएको परदेशको दसैँ – Nepal Press

युद्धले बिथोलिएको परदेशको दसैँ

इजरायल र दसैँ शब्दले नै रोमाञ्चित बन्छन् कास्कीको अन्नपूर्ण गाउँपलिका- ३ का गणेश गिरी । १५ वर्षदेखि इजरायलमा बस्दै आएका उनले परिवारको साथमा दसैँ मनाउन नपाएको ८ वर्ष भइसकेको छ । गाउँघरमा दसैँको बेला नयाँ कपडा लगाएर साथीसंगीसँग रमाउँदै उफ्रिएको विगतले सधैं चिमोटिरहन्छ उनलाई ।

‘तर, के गरौं चाहेर पनि प्रत्येक वर्ष दसैँ मनाउन घर जान सकिँदैन’, उनी भन्छन् । यसो भन्दै गर्दा मनको पीडा उनको मलिन अनुहारमा झल्किन्थ्यो ।

हुन त इजरायलमात्रै होइन, देश छाडेर विदेशिएकाहरु चाडवाडका बेला घर, परिवार र साथी नसम्झने को पो नहोलान् र !

अघिल्ला वर्ष इजरायलमा बस्ने नेपालीहरुले एकै ठाउँमा भेटेर आफूभन्दा ठूला व्यक्तिको हातबाट टीका लगाई दसैँ मनाएका थिए । यसरी जमघट भएर दसैँ मनाउँदै गर्दा नेपालको न्यास्रो धेरथोर मेटिन्थ्यो पनि । तर, अहिले अवस्था फरक छ ।

पछिल्ला दिन इजरायलमा बस्ने नेपालीका हरेक दिन त्रासदीपूर्ण छ । दसैँ मनाउन त पर, सहज रुपमा साथीभाइ भेट्ने अवस्थासमेत छैन । इजरायल-हमास युद्वका कारण यस वर्ष दसैँ मनाउने अवस्था छैन । त्यही बहानामा रमाउने अवसर पनि यसपालि छैन । ‘दुःखदायी अवस्थाका कारण यो पटक त दसैँ शब्दले रोमाञ्चित बनाएको हैन, कता कता घोचे झैं पो लागिरहेको छ’, उनी सुनाउँछन् ।

नेपालबाट रोजगारीको लागि इजरायल आएकी कुसुमको परदेशमा यो दोस्रो दसैँ हो । टिकटकमा पहिलेको दसैँको फोटो र भिडियो हेरेर टोलाइरहेकी कुसुम नेपालमा दसैँको बेला गरिएको सपिङ, घुमघाम र पोज-पोजका फोटो सेसन गरेको पल सम्झिएर भावुक बनिन् ।

‘मनको पीडा कम गर्न आँखाको आँसु सहारा बनेको छ’, उनी भन्छिन्, ‘यहाँको युद्धले देशको सम्झना गरेर परदेशमै भए पनि दसैँ मनाउने अवसरसमेत गुमेको छ ।’

गणेश र कुसुम जस्ता धेरै नेपाली छन् इजरायलमा आफ्नो देशको दसैँ सम्झिएर भक्कानिँदै बस्नेहरु ।

त्यस्ता नेपालीलाई अपनत्वसहित रमाइलो गराउन इजरायलमा भएका विभिन्न संघ-संगठनहरुले योजना बनाइरहेका थिए । तर, इजरायल-प्यालेस्टाइन युद्धले ती सबै योजना स्थगित भए ।

एनआरएन इजरायलले घुम्ने र रमाउने योजनासहित देशको न्यास्रो मेटाउन कार्यक्रम आयोजनाको तयारी गरेको थियो । अन्य विभिन्न नेपाली समाज र संस्थाले पनि तय गरेका कार्यक्रम रोकिन पुगेका छन् ।

‘हामीले दसैँको बेला आफ्नो देश फर्कन नपाउने नेपालीहरुलाई नरमाइलो नलागोस् भनेर भ्रमणलगायतका कार्यक्रम राखेका थियौं । तर, युद्धमा १० नेपालीले ज्यान गुमाउनुपरेको पीडादायी परिस्थिति र सुरक्षाका कारण पनि सबै कार्यक्रम स्थगित गर्‍यौं’, एनआरएन इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले भने ।

युद्धको कारण परिस्थिति अनुकूल नभएको भन्दै दसैँ मनाउने नै भए पनि आफू बसेको ठाउँमै मनाउन आग्रह गर्छन् भण्डारी ।

प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी इजरायलले पनि दसैँमा आफ्नो देश फर्कन नसक्नेहरुको लागि सामूहिक रुपमा टीका लगाउने कार्यक्रम स्थगित गरेको छ ।

‘इजरायलप्यालेस्टाइन युद्ध र त्यस युद्धमा १० नेपालीले ज्यान गुमाएको पीडादायी परिस्थितिका कारण कार्यक्रम स्थगित गर्‍यौं’, कमिटी अध्यक्ष गीता सुवेदीले भनिन् ।

दैनिक सयौं बमका आवाजले त्रसित कतिपय नेपाली युद्ध लम्बिँदै गए घर फर्कन बाध्य हुने चिन्तामा छन् । डर, त्रास र चिन्ताका बीचमा आएको दसैँले खुशी कम र पीडा धेरै थपेको छ यसपालि ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *