लिङ्गे पिङ संरक्षण गर्न गाउँपालिकाले दियो लठ्ठा, एसईई उत्कृष्टलाई नगदसहित सम्मान – Nepal Press

लिङ्गे पिङ संरक्षण गर्न गाउँपालिकाले दियो लठ्ठा, एसईई उत्कृष्टलाई नगदसहित सम्मान

सिन्धुपाल्चोक । लोप हुँदै गएको लिङ्गे पिङ संरक्षण गर्न सुनकोशी गाउँपालिकाले पालिकाभर लिङ्गे पिङको लठ्ठा प्रदान गरेको छ । गाउँपालिकाले गत वर्षदेखि दसैँको अवसरमा गाउँ-गाउँमा पिङ थाप्न लठ्ठा वितरण सुरु गरेको थियो ।

दसैँमा स्थानीयलाई मनोरञ्जनका लागि र लिङ्गे पिङको संरक्षण गर्न पालिकाभर निःशुल्क लठ्ठा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिए । सात वडामा आवश्यकताको आधारमा लठ्ठा प्रदान गरिएको उनले जानकारी दिए ।

दसैँको अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम गर्दै गाउँपालिका अध्यक्ष तिमिल्सिना र उपाध्यक्ष कान्छी लामाले वडाध्यक्षहरुलाई लठ्ठा प्रदान गरेका थिए ।

सोही कार्यक्रममा गाउँपालिकाले यस वर्षको एसईई परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको छ । गाउँपालिकाका विद्यालयबाट उत्कृष्ट हुने बाघभैरव माविका आयुष खनाललाई नगद २५ हजारसहित गाउँपालिका अध्यक्ष तिमिल्सिना, उपाध्यक्ष लामा र प्रमुख प्रशासकीय अधिकृत युगबहादुर खडकाले सम्मान गरेका थिए ।

त्यस्तै संस्थागत विद्यालयबाट उत्कृष्ट हुने सदाबहार एकेडेमी खाीिचौरकी दृष्टि थापालाई पनि नगद २५ हजारसहित सम्मान गरियो । संस्थागततर्फ द्वितीय हुने सदावहारकै आदेशजंग कार्की र सम्राटजंग कार्कीलाई नगद १० हजारसहित सम्मान गरिएको थियो ।

सामुदायिक विद्यालयबाट छात्रातर्फ प्रथम हुने महेन्द्रदोय माविकी बन्दना थापालाई नगद १५ हजारसहित सम्मान गरिएको थियो । सामुदायिकतर्फ जाल्पा मावि कोठे र संस्थागततर्फ सदाबहार एकेडेमी खाडिचौरलाई सबैभन्दा बढी विद्यार्थी उत्तीर्ण गराएकोमा सम्मान गरिएको थियो ।

कक्षा १२ को परीक्षामा सुनकोशी पालिकाभर उत्कृष्ट हुने सेतीदेवी शारदा माविका अनुराग तिमिल्सिनालाई नगद १५ हजारसहित सम्मान गरिएको थियो । सोही विद्यालयलाई उत्कृष्ट विद्यालयको रुपमा गाउँपालिकाले सम्मान गरेको छ ।

लम्पी स्किनका स्वयंसेवीलाई सम्मान

देशभर फैलिएको लम्पी स्किन रोग नियन्त्रण गर्न गाउँपालिकाका कर्मचारीबाट मात्रै सेवा प्रवाह गर्न समस्या भएपछि स्वयंसेवक खटाएको थियो । पालिकाले रोग नियन्त्रण गर्न सहयोग गर्ने तिनै स्वयंसेवीहरुलाई पनि सम्मान गरेको छ । सविना थापा, निरोज बस्नेत र पृथ्वीमान तामाङलाई सम्मान गरिएको हो ।

त्यस्तै गाउँपालिका पशु शाखाका कर्मचारीहरु सीताराम खरेल र रामचन्द्र जिसीलाई पनि सम्मान गरियो । गाउँपालिकाले सम्मान गरे पनि पशु प्राविधिक रामचन्द्र जिसीले भने सम्मान ग्रहण गरेनन् । अध्यक्ष र उपाध्यक्ष सम्मानपत्र बोकेर बसे पनि उनी सम्मान ग्रहण गर्न आएनन् ।

कान्तिपुर दैनिकका पौडेल सम्मानित

सुनकोशी गाउँपालिका-४ यामुनाडाँडाका पत्रकार ऋषिराम पौडेलाई गाउँपालिकाले सम्मान गरेको छ । पत्रकार महासंघ सिन्धुपाल्चोकका पूर्वसभापति र हाल कान्तिपुर दैनिकमा कार्यरत पत्रकार पौडेलले सिन्धुकपाल्चोकको पत्रकारिता विकास र पत्रकारिताको माध्यमबाट जिल्लामा विकास निर्माण र सुशासनको क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गर्दै गाउँपालिकाले सम्मान गरेको हो ।

गाउँपालिकाले गत वर्षदेखि पालिकाभित्र विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउनेहरुलाई सम्मान गर्ने परम्परा सुरु गरेको र यसलाई आगामी वर्ष पनि निरन्तरता दिइने गाउँपालिका अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर