बुद्व मावली देवदहमा विपश्यना ध्यान केन्द्र निर्माण सुरु (भिडिओ) – Nepal Press

बुद्व मावली देवदहमा विपश्यना ध्यान केन्द्र निर्माण सुरु (भिडिओ)

रूपन्देही । रुपन्देहीको देवदहमा विपश्यना सेन्टर निर्माण थालिएको छ । देवदह विपश्यना केन्द्र (धम्मगाम) ले सेन्टर निर्माण थालेको हो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयले विपश्यना केन्द्र निर्माणका लागि जमिन प्रदान गरेको स्थानमा पूर्वाधार निर्माण शुरु गरिएको हो । यसलाई अन्तर्राष्ट्रिय विपश्यना ध्यान केन्द्रसहित रिसर्च सेन्टर बनाउने दीर्घकालीन योजना रहेको छ ।

विपश्यना केन्द्रका शिक्षक गोपाल पोखरेलले दुई चरणमा गरी विपश्यना केन्द्रको निर्माण गरिने बताए । लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा प्राप्त भएको ५ विगाह जमिनमा पूर्वाधार निर्माण गर्न थालिएको र एक वर्षभित्र मै केन्द्र सञ्चालनमा आउने उनले बताए ।

धम्मगामभित्र पहिलो चरणमा एक सय साधकसाधिकाले ध्यान गर्न सक्ने हल, ५० पुरुष र ५० महिलाको बासस्थान, भोजन कक्ष, गुरु आवास निर्माण गरिने पोखरेलले बताए । दोस्रो चरणमा दुई सय जना अट्ने ठूलो ध्यान कक्ष, ५०÷५० जना क्षमताका दुई ध्यान कक्ष, विपश्यना अनुसन्धान केन्द्र निर्माण गरिनेछ । पहिलो चरणमा २ करोडभन्दा बढी लागतमा पूर्वाधार निर्माण हुने पोखरेलले बताए ।

गौतमबुद्धले देवदह सुत्त देशना गरेको स्थानमा विपश्यना केन्द्र निर्माण गर्न लागिएको हो । यो निर्माणमा साधकसाधिकाहरुको दान सहयोग रहेको छ ।

बर्माबाट आएका साधकसाधिका, भिक्षु भिक्षुणी तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यसहितको सहभागितामा परित्राण पाठ गरी भूमि पुजन गरिएको थियो ।

विश्वविद्यालयका रजिष्ट्रार आचार्यले देवदहमा रहेको जग्गाको गुरुयोजना अनुरुप ध्यान केन्द्र निर्माणका लागि सहकार्य गरिएको बताए । विश्वविद्यालयले सोही स्थानमा योगिक साइन्स विषय शुरु गर्ने निर्णय गरेको उनले बताए । अहिले देवदहमा विश्वविद्यालयले डिन कार्यालय निर्माण गरिरहेको छ ।

देवदह विपश्यना सेन्टरले दोस्रो पटक ध्यानमा आउने साधकसाधिकाहरुले प्रदान गरेको दान रकमबाट विपश्यना सेन्टर निर्माण हुने जनाएको छ । पहिलो पटक ध्यानका लागि आउने साधक साधिकाको दान भने पूर्वाधार निर्माणमा प्रयोग नहुने केन्द्र शिक्षक पोखरेलले बताए । विपश्यना केन्द्रहरुमा एक जना केन्द्र शिक्षक रहने गर्दछन् ।

यस क्षेत्रमा लुम्बिनीमा मात्रै विपश्यना ध्यान केन्द्र रहेको छ । देवदहलाई बौद्ध विश्वविद्यालयको सहकार्यमा विपश्यना रिसर्च सेन्टरका रुपमा विकास गर्ने योजना रहेको पोखरेलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *