जनार्दनको प्रस्ताव- भाग लगाएर कति दिन चल्ने ? राष्ट्रिय सहमतिको सरकार बनाऔं (भिडिओ) – Nepal Press

जनार्दनको प्रस्ताव- भाग लगाएर कति दिन चल्ने ? राष्ट्रिय सहमतिको सरकार बनाऔं (भिडिओ)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन् ।

बुधबार नेकपा(माओवादी केन्द्र) काठमाडौँ महानगर कमिटी वडा नं. १६ ले दशैँको अवसरमा आयोजना गरेको शुभकामना तथा चियापान समारोहलाई सम्बोधन गर्दै उपमहासचिव शर्माले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका हुन् । उनले पार्टीहरुका बिचमा प्रतिस्पर्धामा चुनाव गर्नुपर्ने र चुनावपछि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताए ।

उनले सरकारको नेतृत्व भाग लगाएर लिने गर्नाले सरकारको काममा गति नआएको बताए । दलहरुका बिचमा आपसी गालिगलौजलाई अन्त्य गर्दै सहमतिको मन्त्रिमण्डल बनाएर काम गर्नुपर्ने बताए । सहमतिको सरकार बनाउन सकेमा मात्रै ठूलो परियोजनाका काम गर्न सकिने र देशलाई समृद्ध बनाउन सकिने उनको भनाई छ ।

‘पार्टीहरुको बीचमा प्रतिष्पर्धाको चुनाव हुन्छ । पूर्ण समानुपातिक भयो भने झन राम्रो भयो । त्यो चुनावबाट आइसकेपछि आज देशलाई राष्ट्रिय सहमतिको खाँचो छ । राष्ट्रिय सहमति गरेर जानुपर्छ । यदि राष्ट्रिय सहमती गर्ने होइन भने के देखियो भने सरकार पनि कतिदिन चल्ने? कति महिना चल्ने ? भन्ने प्रश्न । दुई वर्ष एउटालाई भाग । एक वर्ष एउटालाई भाग । दुई वर्ष अर्कालाई भाग । भाग लाउँदा लाउँदै सरकारको पनि गति नआउने । प्रतिपक्ष र सत्तापक्षले एकले अर्कोलाई सत्तोसराप गाली गर्ने । एकले अर्कालाई दमन गर्ने, एकले अर्कालाई गालि गर्ने कुरा भएको छ’, उनले भने, ‘यो कुराको अन्त्य गरेर राष्ट्रिय सहमतिका आधारमा मन्त्रिमण्डल बनाउने । राष्ट्रिय सहमतिमा मन्त्रिमण्डल बनाएर सबै पार्टीलाई समेट्ने । सबै पार्टीहरुलाई समेटेर सरकारमा रहेका मन्त्रिहरुको बीचमा प्रतिष्पर्धा । भ्रष्टाचारका बिरुद्धमा को अब्बल हुने भन्ने प्रतिस्पर्धा । रोजगारी सृष्टि गर्नेमा सबभन्दा अघि को बन्ने भन्ने प्रतिस्पर्धा । उत्पादन वृद्धिमा को अगाडी बढ्ने भन्ने प्रतिष्पर्धा । गुणस्तरीय काम कसले गर्ने, जनतालाई सेवा प्रवाह कसले राम्रो गर्ने भन्ने प्रतिस्पर्धा गरेर सरकार सञ्चालन गरेर १० वर्षलाई हामी यसरी जानसक्यौँ भने हाम्रो देश समृद्ध हुन्छ । सहमती नगरी हुँदैन । सहमति गरेर मात्रै ठूलो ठूलो परियोजना बनाउन सक्छौँ । त्यसो गरे देशलाई समृद्ध गर्न सक्छौँ र जनताको असन्तुष्टिलाई पनि सम्बोधन गर्न सक्छौँ ।’

उपमहासचिव शर्माले माओवादी केन्द्र आगामी चुनावमा कसैसँग गठबन्धन नगर्ने बताए । उनले माओवादी केन्द्र एक्लै चुनाव लड्ने स्पष्ट पारे । उनले पार्टीलाई एक्लै प्रतिस्पर्धा गर्ने हैसियतमा पुर्याइने पनि बताए ।

उनले भने, ‘हाम्रो पार्टी कसैसँग गठबन्धन गरेर चुनाव लड्दैन । हामी एक्लै लड्छौँ । एक्लै प्रतिष्पर्धा गर्छौ र एक्लै प्रतिष्पर्धा गर्ने हैसियत हाम्रो पार्टीको बनाउने योजना छ । कसैसँग मिल्दैनौँ । यो प्रतिवद्धता हो । संकल्प हो । यो कुरालाई म स्पष्ट गर्न चाहन्छु ।’

उनले प्रदेश सरकारलाई छिटो भन्दा छिटो अधिकार हस्तान्तरण गरेर प्रदेश सरकारलाई बलियो बनाउनुपर्ने बताए । उनले स्थानीय सरकारलाई पनि साधन, स्रोत थप गरेर अझै बलियो बनाउनुपर्ने बताए ।

उनले भने, ‘प्रदेशले काम गर्न सकेन भनिएको छ । प्रदेशले काम गर्न नसकेको होइन । प्रदेशलाई काम गर्न नदिइएको हो । प्रदेशलाई दिनुपर्ने जनशक्ति दिएको छैन । प्रदेशलाई दिने अधिकार दिइएको छैन । प्रदेशलाई दिने सुरक्षा निकाय दिइएको छैन । अनि कसरी प्रदेशले काम गर्छ त ? नामले मात्रै काम गर्ने होइन । त्यसकारणले छिटोभन्दा छिटो अधिकार हस्तान्तरण गर्नुपर्छ । सरकारले, पार्टीहरुले अधिकार तल हस्तान्तरण गरेर प्रदेशलाई बलियो बनाउनुपर्छ । स्थानीय सरकारलाई थप साधन, स्रोतसहित अझ बलियो बनाउनुपर्छ । यसलाई मजबुद बनाउने हो ।’

उपमहासचिव शर्माले प्रदेश सरकारमा मुख्यमन्त्रीसहित ५ सदस्यीय मात्र मन्त्रिमण्डल बनाउनुपर्ने बताए । प्रदेश सरकारका मातहतका संरचनाहरुलाई पनि कम गर्नुपर्नेमा उनले जोड दिए ।

 


प्रतिक्रिया

One thought on “जनार्दनको प्रस्ताव- भाग लगाएर कति दिन चल्ने ? राष्ट्रिय सहमतिको सरकार बनाऔं (भिडिओ)

  1. मन्त्री खाएर कमाउन पल्केकालाई सत्तम बाहिर बस्दा छटपटी हुन्छ । यस्ता बाँङ्गा कुरा गरिदिएपछि मन्त्री पद पाईन्छ भनेर शुरू गरे यिनले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर