राष्ट्रिय पार्टी बन्न नसकेका माधव नेपालले पूर्वराजालाई दिए दल खोलेर चुनावमा आउन चुनौती (भिडिओ) – Nepal Press

राष्ट्रिय पार्टी बन्न नसकेका माधव नेपालले पूर्वराजालाई दिए दल खोलेर चुनावमा आउन चुनौती (भिडिओ)

काठमाडौं । नेकपा एसका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी बनाएर चुनावमा लड्न चुनौती दिएका छन् ।

बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले पूर्वराजा ज्ञानेन्द्रलाई आफू त्याग, तपस्या र बलिदान गरेको व्यक्ति हो र जनताको साथ छ भन्ने लाग्छ भने पार्टी खोलेर वा पुरानै पार्टीबाट चुनाव लडेर देखाउन चुनौती दिएका हुन् । उनले प्रतिगमनको दिशामा देशलाई लैजान खोज्नै कुनै कार्य स्वीकार्य नहुने बताए । कुनै वंशको शासन नेपालमा नेपाली जनतालाई स्वीकार्य नरहेको भन्दै भक्तपुर र झापाका जनताले यसबारेमा सोच्नुपर्ने ।

नेपालले भने, ‘विगतमा उनीहरूले कसरी यो मुलुक चलाएका थिए, तिनीहरूका पनि हामीलाई एकएक कुराहरू सबै थाहा छ । त्यसो हुनाले संविधानलाई मास्न खोज्ने, प्रतिगमनको दिशामा लैजान खोज्ने, पुरानै अवस्थामा यो देशलाई फर्काउन खोज्ने त्यस्ता तत्वप्रति सबै होशियार हुनुपर्छ । कुनै वंशको शासन नेपालमा नेपाली जनतालाई स्वीकार्य छैन । भक्तपुरमा यो आवाज अझै गुञ्जाउनुपर्छ, किनभने भक्तपुरबाट नै संकेत दिन खोजियो । झापाले त्यो आवाज उठाउनुपर्छ, झापाले नि संकेत दिन खोज्यो । अस्ति भएको निर्वाचन आफैँमा जनमत संग्रह हो । जनताले सीधै पार्टीलाई विश्वास गरेका छौं भन्ने देखाए । अरुलाई पनि लाग्छ भने पार्टी बनाउन् आउन्, चुनावमा सामेल होउन् । असल काम गरेको छु, त्याग तपस्या र बलिदान गरेको छु भन्ने लागेको छ भने आए हुन्छ । दुःख उठाउन कहिले जानेको छैन, सुखमा जन्मियो, हुर्कियो, अनि जनतालाई भ्रममा राख्ने कोशिस सफल हुनेछैन । हामी अहिले देशका समस्या पहिचान गर्नेकुरामा अघि बढेका छौं । यो गठबन्धन ५ वर्षको लागि हामीले बनाएका छौँ, यसलाई भत्काउने अनेक कोसिस भइरहेका छन् । ति कुनै कोसिस सफल हुनेवाला छैनन् । यो गठबन्धनको सरकार एकतावद्ध भएर नै अघि बढ्नेछ ।’

नेपालले जनताले सक्कली र नक्कली कुराको पहिचान गर्न सक्नुपर्ने बताउनु भयो ।

नेपालमा राजाले कहिल्यै दलीय राजनीति गरेको इतिहास छैन । दलीय राजनीतिमा नरहेका पूर्व राजालाई चुनावमा आउँन चुनौति दिने नेकपा एसका अध्यक्ष माधव नेपाल आफैं राष्ट्रिय मान्यता प्राप्त गर्न नसकेको दलका नेता हुन् ।

उनको पार्टीले गत निर्वाचनमा देशभर खसेको मतको ३ प्रतिशत मत पनि कटाउन नसकेपछि राष्ट्रिय मान्यता पाउन सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर