कमेडी क्लव विथ च्याम्पियनमा पुगेका प्रकाश सपुत जब भक्कानिए – Nepal Press

कमेडी क्लव विथ च्याम्पियनमा पुगेका प्रकाश सपुत जब भक्कानिए

‘मेरो बुवा साउदी नगएको भए सायद म बन्दिनँ थिएँ होला'

काठमाडौं । हास्यप्रधान टिभी रियालिटी शो ‘कमेडी क्लव विथ च्याम्पियन’को पहिलो सिजन सुपरहिट थियो, तर दोस्रो सिजनको त्यति चर्चा छैन । पहिलो सिजनको टिमलाई हटाएर पुरै नयाँ टिम ल्याएपछि दोस्रो सिजनमा दर्शकको आकर्षण घटेको हो । यद्यपि, युवा कमेडियनहरुले शोलाई माथि उठाउन प्रयास गरिरहेका छन् ।

कमेडी क्लव विथ च्याम्पियन २.० को पछिल्लो एपिसोडमा अतिथि बनेर पुगेका छन् गायक प्रकाश सपुत र नायिक वर्षा शिवाकोटी । उनीहरु त्यहाँ आफ्नो चलचित्र परदेशी–२ को प्रमोसनका लागि पुगेका थिए । यो एपिसोड प्रशारन हुन बाँकी छ, तर प्रोमोले नै चर्चा बटुल्न सफल भएको छ ।

यस कार्यक्रममा विभिन्न अतिथिहरुलाई बोलाएर रोस्ट गरिन्छ र हँसाइन्छ । प्रकाश र वर्षालाई पनि कलाकारहरुले खुब हँसाए । तर, एक कमेडियनको प्रस्तुतिमा प्रकाश सपुत भावविव्हल भए । उनले आँशु थाम्न सकेनन् ।

प्रोमोमा देखाइएअनुसार ती कमेडियनले वैदेशिक रोजगारीका लागि खाडी मुलुक जाने युवाहरुको पिडा अभिव्यक्त गरेका छन् । उनले खाडीका कामदारको प्रसंग निकाल्ना साथ कार्यक्रममा सन्नाटा छाएको थियो । हाँस्दा हाँस्दै प्रकाश र वर्षा भावुक बनेका थिए ।

वैदेशिक रोजगारीबाट छुट्टिमा आएको लागि हिँडेको युवाको भूमिकामा देखिएका कमेडियनलाई कार्यक्रमका होस्ट यमन श्रेष्ठले सोध्छन्, ‘एयरपोर्टमा कोही छोड्न आएन ?’

उनी जवाफ दिन्छन्, ‘केको छोड्न आउनु दाजु । हामीलाई छोड्न बसपार्कदेखि ट्याक्सी त एयरपोर्ट जान मान्दैनन् । मान्छे के आउँथे । त्यही पनि अष्ट्रेलिया, अमेरिका जाने भए पो लावालस्कर लागेर आउँथे । हामीलाई त को छोड्न आउँछ ?’

‘लहै गएँ है । मेरो त फ्लाइट छ अहिले । यो चोटि आउँदा खुट्टैमा आइयो । उताबाट बाकसमा आइन्छ कि ।’

यो डाइलगले प्रकाश सपुतलाई रुवाँउछ । उनी आँशु लुकाउन खोज्छन् तर सक्दैनन् । दर्शकहरु पनि आँशु पुछ्न थाल्छन् ।
सपतुले रुवाइमिश्रित आवाजमा भन्छन्, ‘यो १५/२० वर्षमा नेपाललाई कसैले पालिरहेको छ भने खाडीले पालिरहेको छ जस्तो लाग्छ । यदि मेरो बा साउदी नगएको भए सायद म पनि बन्दिनँथे होला ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *