१५० रूपैयाँमा इन्टरनेट बेच्न थालेका अग्रहरी भन्छन्- लुट्ने मानसिकता त्यागे अरुले पनि सक्छन् (भिडिओ) – Nepal Press
नेपाल टक

१५० रूपैयाँमा इन्टरनेट बेच्न थालेका अग्रहरी भन्छन्- लुट्ने मानसिकता त्यागे अरुले पनि सक्छन् (भिडिओ)

नेपाली बजारमा अहिले न्युनतम ५ सयदेखि १२ सयसम्म तिरेरमात्रै इन्टरनेट जोड्न सकिने अवस्था छ । तर, सुपर भिजन नेटवर्कले ५० एमबीपीएसको इन्टरनेट मासिक १५० रूपैयाँमा नै वितरण सुरू गरेको छ ।

नेटवर्कले नेपालगञ्जबाट यो सेवाको थालनी गरेको हो । एउटै सहरभित्र फरक-फरक ठाउँमा घर र व्यवसाय भएकाहरूले १५० रूपैयाँ शुल्क तिरेर दुई ठाउँमा नै चलाउन सक्ने छन् । इन्टरनेटको गुणस्तर अरु कम्पनीको भन्दा कम नभएको सञ्चालकको दाबी छ ।

१५० रूपैयाँमा नै ५० एमबीपीएस इन्टरनेट दिन कसरी सम्भव भयो ? यसै विषयमा केन्द्रित रहेर सुपर भिजन नेटवर्कका सञ्चालक विनोद अग्रहरीसँग गरिएको कुराकानी नेपाल टकमा

– १५० रुपैयाँमा नै ५० एवीपीएसको इन्टरनेट प्रदान गराउन थाल्नुभएको छ । यो कस्तो खालको इन्टरनेट हो ?

यो अहिले हामीले उपलब्ध गराइरहेको इन्टरनेट अरु इन्टरनेटजस्तै सामान्य खालको इन्टरनेट हो । यसबाट अन्य नेटजस्तै टिकटक, यूट्युब, फेसबुक, भाइबर, ट्वीटर तथा सम्पूर्ण अन्य सामग्रीहरू हेर्न सकिन्छ । कम्पनीलाई म आफैंले व्यवस्थित गरेर आम नागरिकहरूलाई सस्तोभन्दा सस्तोमा दिने प्रयास गरेको हुँ ।

– बजारमा अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले ४ सयदेखि १५ सय, दुई हजार रूपैयाँसम्ममा इन्टरनेट बेचिरहेको बेला १५० रूपैयाँमा बेच्न कसरी सम्भव भयो ?

म स्वयम्लाई इन्टरनेटको वास्तविक मूल्य कति हुन्छ भनेर थाहा पाउन दुईदेखि तीन वर्ष लाग्यो । २०/३० रूपैयाँमा मज्जाले ३/४ वटा मोबाइल मज्जाले चलाउन सकिन्छ । सामान्य इन्टरनेट कम्पनीको बिल हेर्दा १४ सय रूपैयाँको छ । ७०० रूपैयाँ इन्टरनेट चार्ज लिएका हुन्छन् भने ७०० मर्मत खर्च भनेर ठोकिरहेका हुन्छन् । जबकी मर्मत खर्च ५ रूपैयाँदेखि १० रूपैयाँमात्र पर्ने देख्छु ।

म २०-२५ वर्षदेखि केबल व्यवसायमा छु । १५ रूपैयाँको नाफाले घरमै गएर मर्मत गरेर प्रदान गर्दै आएको सेवा इन्टरनेट कम्पनीहरूले ७ सय रूपैयाँ लिनु अस्वभाविक हो ।

मैले १५० रूपैयाँमा नेट बिक्री गर्दा पनि सरकारको राजस्वसहित सबै खर्च कटाएर पनि ७० देखि ८० रूपैयाँ नाफा भइरहेको छ । मलाई टीभीभन्दा नाफा यसैमा भइरहेको छ । टीभीमा १० रूपैयाँमा सेवा दिन्थेँ भने, मलाई ८० रूपैयाँ नाफा आइरहेको छ । मेरो लागि टीभीभन्दा राम्रो यही चलिरहेको छ ।

– तपाईँले प्रदान गर्ने इन्टरनेट र अन्य कम्पनीहरूले प्रदान गरिरहेको इन्टरनेटको स्पीडमा केही फरक छ ?

इन्टरनेटको स्पीडमा पनि ठगी भइरहेको छ । कम्पनीहरूले ५० एमबीपीएस, १००-२०० एमबीपीएस भनेर भन्ने कुरा नेपालमा सबैभन्दा ठूलो ठगी हो । मलाई पनि यो बुझ्न अलिक समय लाग्यो ।

कुनै पनि मोबाइलको क्षमता १.२ एमबीपीएसभन्दा माथि हुँदैन । जुनसुकै कम्पनीले जति एमबीपीएस दिए पनि मोबाइलले लिनसक्ने भनेको १.२ एमबीपीएस हो । १.२ एमबीपीएसलाई कम्पनीहरूले सफ्टवेयरको माध्यमबाट २००, ३०० र ४०० एमबीपीएस बनाएर बेच्ने हुन् । ल्यापटप, कम्प्यूटरले हदैसम्म लिएर दुई तिन गुणभन्दा बढी लिँदैनन् ।

– तपाईंले कुन-कुन क्षेत्रहरूमा इन्टरनेट बेचिरहनुभएको छ ?

हाल मैले नेपालगञ्ज उपमहानगरपालिका लगभग पूरै क्षेत्रमा सञ्चालन गरिरहेको छु । त्यहाँ पहिलेबाटै फाइबर नेटवर्क रेहेको थियो । पूर्वाधार पनि पहिले नै तयार थियो । त्यसलाई अहिले प्रदान गरिरहेको नेटवर्कमा कन्भर्ट गरेको मात्रै हो ।

– अहिले ठाउँ-ठाउँमा फ्री वाईफाई भनेर पनि भनिरहेका हुन्छन् । त्यो चाहीँ के हो ?

यस्तो खालका इन्टरनेटहरू लुट्नका लागि मात्रै हो । फ्री वाइफाइ भनेको ठाउँमा नगरपालिका र गाउँपालिकाले पैसा तिरिराखेका हुन्छन् । तर फ्री वाइफाई भने कहीँ पनि चल्दैन । १०-२० वटा एपी लगाएर बजारबाट लाखौं रूपैयाँ आइएसपी कम्पनीहरूले लुटिरहेका छन् ।

तर, मेरो कम्पनीले कुनै पनि सरकारी निकायबाट एक रूपैयाँ अनुदान र सहायता मागेका छैन । मेरो इन्टरनेट आधा घण्टा विनापासवर्ड पूरै चल्छ । मैले सेवा दिइरहेको ठाउँ नाकामा पर्ने भएकोले हाम्रो ठाउँमा जो कोहीले चलाउन सक्छन् ।

– बजारमा सस्तो भनेर सीजी इन्टरनेट आयो । त्यसपछि अहिले वाईफाई नेपाल आएको छ । तर, यो इन्टरनेट त्योभन्दा पनि सस्तो आयो । के बजारमा हलचल नै ल्याउन खोज्नुभएको हो ?

यसले हलचल हुँदैन, तर ठूला ठूला कम्पनीहरूले सुध्रिनुपर्‍यो । आमनागरिकहरूलाई लुट्ने मानसिकता त्याग्नु पर्‍यो । यो आवश्यक भएकोले सर्वसुलभ दरमा प्रदान गर्नुपर्‍यो । अब सबैले मूल्य घटाउनुको विकल्प नै छैन । ग्राहकले पनि विचार गर्छन् ।

– इन्टरनेट कम्पनीहरूलाई इन्टरनेट सस्तोमा दिन केही समस्या छ ?

यहाँ इन्टरनेट सस्तोमा दिनु समस्या होइन । जस्तै वाईफाई नेपालले नै सबैभन्दा सस्तोमा इन्टरनेट दिन्छु भनेर दावा गर्छ । त्यो वर्ल्डलिंकबाटै सञ्चालित कम्पनी हो । आफ्नो कम्पनीको दर कम गर्दा पूरै देशभर दर नै खल्बलिने भएकोले आफ्नो ग्राहक नगुमोस् भनेर अर्को नामबाट चलाएको इन्टरनेट कम्पनी हो ।

इन्टरनेटको दुई-तीन ठाउँमा समस्या छन् । अफिसमै गएर तिर्दा अलग खर्च लाग्छ । अनि घर तथा पसलमा छुट्टै वाईफाई लगाउदा एउटा ठाँउको वाईफाई खेर गइरहेको हुन्छ । तर, मेरो इन्टरनेटमा १५० रूपैयाँमा नै दुवै ठाउँमा एउटै पैसाबाट चलाउन सकिन्छ । १५० रूपैयाँमा दुवै ठाउँमा इन्टरनेट चलाउन सक्नुहुन्छ । पैसा घर र अफिसको छुट्टै तिर्नु पर्दैन ।

त्यस्तै, पैसा तिर्न कतै जानु पर्दैन । पसलमा गएर रिचार्ज कार्ड किनेर गर्दा हुन्छ । केही समस्या पर्दा कल पनि नगर्दा हुन्छ । मिस कल गर्दा हाम्रो हटलाइन रहेको छ । जसले हामी आफैंले कल गर्छौं । त्यो सेवा ग्राहकको एक रूपैयाँ पनि बचाउछौं ।

– तपाईंहरूका लागि इन्टरनेटको लागत मूल्य कति पर्छ ?

समग्रमा भन्न सकिँदैन । तर, घरमा एकजनाको मोबाइलको खर्च २० रूपैयाँभन्दा माथि जाँदैन । बाँकी अन्य सञ्चालन तथा मर्मतमा लाग्ने हो । तारको खर्च, पोल भाडा तिर्नुपर्‍यो । लागत भनेको अन्य खर्चले बढाउने हो ।

– तपाईँको इन्टरनेटको जडान शुल्क कति छ ?

हामीले कुनै जडान खर्च लिँदैनौ । १५० रूपैयाँमा अतिरिक्त एक रुपैयाँ लिँदैनौं । तार र राउटर तपाईंले बजारबाट किन्नु्पर्ने हुन्छ । हामीले तार र राउटर बेच्ने गरेका छैनौं । तपाईँले बजारबाट जुनसुकै राउटर किनेर हामीलाई फोन गर्नुभयो भने हामी नि:शुल्क जडान गरिदिन्छौं । हामीलाई चाहिने भनेको इन्टरनेटको १५० रूपैयाँमात्रै हो ।

घर सार्दा पनि एक रुपैयाँ लाग्दैन । शुल्क तिर्न नसकेमा पनि हरेक दिन आधि घण्टा निशुल्क चल्छ इन्टरनेट ।

– ग्राहकहरूको प्रतिकृया कस्तो रहेको छ ?

अहिलेसम्म हामी परीक्षणमा थियौं । एक हप्ताभित्र लञ्च गर्दैछौं । अहिले ३ हजारले यो इन्टरनेट फ्रिमा चलाइरहेका छन् । त्यसमा ग्राहकहरूको प्रतिक्रिया उत्साहजनक छ । कुनै पनि समस्या देखिएको छैन ।

– इन्टरनेट जडान गराउन कहाँ सम्पर्क गर्ने कसरी गर्ने ?

हाम्रो अफिस नेपालगञ्ज क्यूएफएक्स फिल्म हलको अगाडि रहेको छ । यसका साथै मोबाइलबाट फोन गरेर पनि हुन्छ । २० वर्ष पुरानो केबल अफिस रहेको छ । इन्टरनेट जडान गर्नुभन्दा २/४ दिन अगाडि भन्नुपर्ने हुन्छ । किनभने हामी प्रत्येक दिन २० देखि २५ घरहरूमा काम गरिहेका छौं । हामी आफ्नो समय मिलाएर गर्दै छौं ।

– यति सस्तोमा इन्टरनेट प्रदान गर्दा अन्य कम्पनीहरूबाट थ्रेट त आएको छैन ?

यस्तो खालका कामहरू सुरू भइसकेका छन् । अन्य कम्पनीले हाम्रो कर्मचारीहरूलाई भड्काएर वा लोभ्याएर लैजाने गरेका छन् । उनीहरूले अवरोध गर्न सुरू गरिसकेका छन् । यो भनेको प्रविधि हो । यसलाई रोक्न सकिदैन । मैले नगरेमा अरु कसैले गर्छ । नेपालमा विस्तारै सस्तो हुदै जान्छ ।

– विश्व बजारमा इन्टरनेटको कस्तो खालको दर र प्रयोग रहेको पाइन्छ ?

वास्तवमा इन्टरनेट फ्रि नै हो । यसको पैसा पर्दैन । जुन पैसा लाग्छ, त्यो भनेको ‘क्यारिङ चार्ज’ हो । विश्वभरी इन्टरनेट फ्रि नै रहेको छ । फेसबुक ट्वीटर, यूट्युब सबै फ्रि नै छन् । कसैले म पैसा तिरिरहेको छु भन्छ भने त्यो लुटमात्रै हो ।

– पछिल्लो समय इन्टरनेट स्लो हुने, रोकिने नभेर ग्राहकहरूको गुनासो धेरै सुनिन्छ । यस्तो किन हुन्छ ?

यहाँ आईएसबी कम्पनीहरूको दादागिरी रहेको छ । जति पनि पोर्न साइटहरू थिए, सरकारले तीन चार वर्षअघि नै बन्द गराइसकेको थियो । तर आइएसबीहरू कानुनी बन्देजहरू मान्दै मान्दैनन् । इन्टरनेट सुस्त हुने कारण भनेको शुल्क बढी लिने तर सुविधा कम दिन खोज्नको नतिजा हो ।

– यो यति सस्तो इन्टरनेट प्रदान गर्ने अवधारण कसरी आयो ?

सबैभन्दा पहिला म आफैं टेलिकमको विद्यार्थी हुँ । मैले अष्ट्रेलिया टेलिकममै डिप्लोमा गरेको हुँ । नेपालमा म केबल अपरेटर थिएँ । तीन-चार वर्ष पहिला आइएसपीहरूले इन्टरनेट लिनुस, टीभी फ्रि भनेर लगभग ८० प्रतिशत ग्राहक लगिदिए । त्यतिबेला हामीले स्वीच गर्न सकेनौं ।

हाम्रो ग्राहक लगिसकेपछि हामीले यो के रहेछ भनेर बुझ्दा टिभी महंगो र इन्टरनेट सस्तो रहेछ । उनीहरूले चाहीँ टिभी सस्तो, इन्टरनेट महंगो भनेर हामीलाई गिराउनु भयो । पछि हामीले सबै कुरा थाहा पायौं ।

सबै इन्टरनेटमा एउटा समस्या देखिन्छ । कहीँ कतै जाँदा वाईफाईको पासवर्ड माग्दा आफैँलाई अफ्ठेरो लाग्छ । तर, मरो इन्टरनेटमा त्यस्तो केही छैन । मेरो नेटर्वकभित्र कसैसँग पासवर्ड माग्नु पर्दैन । आधा घण्टा अटो कनेक्ट हुन्छ । पहिले नै हामीले टेस्टिङको लागि छोडेका थियौं । अहिले पनि चाहिएमा हामी गएर जडान गरिदिन्छौं ।

– तपाईंले प्रदान गर्ने इन्टरनेटका विशेषताहरू के कस्ता रहेका छन् ?

बच्चाहरूको मोबाइलमा पोर्न साइटहरू चल्ने कुराहरू हामीले लक गरिदिएका छौं । बच्चाको मोबाइलमा पब्जी र पोर्न साइटहरू खुल्दैनन् । १८ वर्षभन्दा मुनिका बच्चाहरूले कुन-कुन साइटहरूमा लगइन गरेको छ ? कुन-कुन साइटहरू चलाएको छ ? त्यसको बारेमा महिनाको १ गते आमाबुबालाई प्रिन्ट पठाइदिन्छौं । मैले बुझेको समस्याको समाधान गरेको छु । यसमा १५ जना इन्जिनियरहरू छौं । अढाई वर्षदेखि यो समस्यालाई समाधान गर्दै गर्दै यहाँसम्म आइपुगेका छौं ।

– तपाईहरूको भावी योजना के-के छन् ?

अहिले सबैले १५० रूपैयाँमा चलाउन् । अबको तीन/चार वर्षमा पूर्णरूपमा फ्रिमा नै उपलब्ध हुन्छ । यो प्रविधिले फड्को मार्छ । फड्को मार्नेवित्तिकै इन्टरनेट भन्ने कुरा निशुल्क हुनुपर्छ ।

मेरो मान्यता पनि त्यही हो । भोलिको दिनमा यो सम्भव हुन्छ । सबै ठाँउमा त जान सकिन्न । अन्य ठाउँका मानिसहरूले यस्तो गर्न चाहे लैजान सक्छौं । अहिले यस्तो प्रविधि आइरहेको छ । जहाँ २ किलोमिटरसम्म राउटर चल्छ । मेरो अनुमान लगभग ४ वर्षमा इन्टरनेट निशुल्क उपलब्ध हुन्छ ।

– हामीले ल्याउने इन्टरनेटको पैसा पर्दैन बाहिरबाट ल्याउँदा ?

यो खाली पूर्वाधारको मात्रै पैसा हो । दिल्लीबाट काठमाडौंको भाडा मात्रै हो लाग्ने । काठमाडौंदेखि नेपालगञ्जको भाडा हो । नेपालगञ्जको अफिसबाट ग्राहकसम्म पुर्‍याएको भाडामात्रै हो लाग्ने । इन्टरनेटको पैसा लाग्ने होइन ।

-बाहिरी कम्पनीहरूले फ्रिमा दिएको हन्छ इन्टरनेट कसरी दिन्छ ?

उस्ले निशुल्क रूपमा इन्टरनेट दिएको हुन्छ । यहीँका आईएसपीहरूलाई सेध्ने हो भने थाहा हुन्छ । फेसबुक, युट्युब, गुगलले सबैलाइ निशुल्क दिएको छ । सर्वर नै राखिदिएको छ १० करोड २० करोडको । तर, इन्टरनेट कम्पनीहरूले झुक्याएर पैसा लिएका हुन् । यसको पैसा केही कतै पर्दैन ।

– नगरपालिका तथा विद्यालयहरूमा निशुल्क इन्टरनेट बाँडिरहेका हुन्छन । यस्तो केही गर्नुभएको छ ?

हाम्रो पहिला आम सर्वसाधारणहरूको क्षेत्र रहेको छ जस्तै हस्पिटल, बसपार्क तथा सर्वाजनिक क्षेत्रमा जडान गर्ने । भोलि मैले निशुल्क सबैलाई इन्टरनेट दिए भने नगरपालिका गायउँपालिकाले अरु कसैलाई पैसा दिनु पर्दैन । पहिला निशुल्क इन्टरनेट दिन्छु भनेर ढाटिरहेकालाई रोक्नुपर्‍यो । त्यो आम जनताहरूले थाहा पाउँछन् तब आफैं बन्द हुन्छन् ।

– दुई-तीन वर्ष अध्ययन गर्दा के के भोगाइहरू बाधाहरू रहे ?

पहिला यति सस्तो इन्टरनेट प्रदान गर्दा के कति सामानहरू ल्याउनुपर्‍यो । त्यसैमा कोभिडको समय थियो । सामान आउन तीन-चार महिना लाग्ने । अनुसन्धानमै मेरो दुई करोडभन्दा बढी खर्च भयो । अहिले बल्ल हामी विनाअवरोध यसरी बाँड्न सफल भयौं ।

– विनाराउटर कसरी इन्टरनेट चल्छ ?

हामीले ठाउँ-ठाउँमा ‘एक्सेस प्वाइन्ट’ लगाएका छौं । त्यसको दूरी २०० मिटरसम्म काम गर्छ । त्यो दूरीभित्र तपाईँको घर छ भने, त्यहाँ राउटर लगाउनु परेन । कोठाभित्र वा टाढा वाईफाई नपुग्ने अवस्थामा त्यहाँमात्रै राउटर लगाउनुपर्ने हुन्छ । त्यो पनि जुन तपाईँलाई मन पर्छ त्यही किनेर ल्याउँदा पनि हुन्छ । त्यो राउटर पछि जुनसुकैमा पनि प्रयोग गर्नमिल्ने हुन्छ । भोलिको दिनमा मेरो सेवा मन परेन भने अर्को कम्पनीसँग गएर प्रयोग गर्न सक्नुहुन्छ ।

– तपाईँको इन्टरनेट नेपालगञ्ज बाहेक अन्य ठाउँहरूमा अरुले बिक्री गर्न चाहेमा के गर्नुपर्छ कहाँ जानुपर्छ ?

कसैले यस्तै इन्टरनेट अन्य ठाउँमा लैजान चाहन्छन् भने, मैले सहयोग गर्ने भनेको प्रविधिमा हो । यसलाई सकारात्मकरूपमा चाहिँ प्रयोग गरिदिनुपर्‍यो । एउटा सामान्य आमाबुबाले बच्चा पढ्छ भनेर हजारौं रूपैयाँ जडान भनेर लगिरहेको देखेर यो सुविधा ल्याएको हो । यदि कसैले सकारात्मक रूपमा यसको सदुपयोग गर्छ भने म पूर्णरूपमा प्राविधिक सहयोग गर्न तयार छु ।


प्रतिक्रिया

2 thoughts on “१५० रूपैयाँमा इन्टरनेट बेच्न थालेका अग्रहरी भन्छन्- लुट्ने मानसिकता त्यागे अरुले पनि सक्छन् (भिडिओ)

  1. Hahaha, Australia ma padhera aaunu bhayeko raicha, australia ma 50mbps ko 50$ parcha, tyo k ko paisa line raicha ? Tapai ko ISP ko name k ho, kasari linu bhayeko chha bandwidth tyo pani sabai khulayera bhannu parne ? Tesmathi NTA la kasari tapai ko tariff approve garyo? k hisab ma gareko chha, details hali dnu bhayeko bhaye sajilo hune thiyo bujna lai. Hawa kura garera attension seakers hune kaam chodnus.

    1. ईन्टरनेट सबै फ्रि नै हो …. पैसा पुर्बाधारको मात्रै हो … पढाई मात्रै होइन …. अस्ठलियाको दुई मात्र ईन्टरनेट प्र्दायक कम्पनी अप्ठ्स मा १ बर्ष टेलेस्त्रामा दुई बर्ष काम गरेको अनुभव छ …. सुरु सुरुमा सबै कुरा हावा गफ नै लाग्छ … यति अंतरबार्ताले मात्रै ठुलो ठुलोले १ बर्षको प्याकेजमा दुई बर्ष सेवा सुरु गरि सकेका छन ….

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर