चाडपर्वमा अग्रिम टिकट बुकिङ अनिश्चित- भाडा वृद्धि गर्नुपर्ने व्यवसायीको माग, विकल्पको खोजीमा सरकार – Nepal Press

चाडपर्वमा अग्रिम टिकट बुकिङ अनिश्चित- भाडा वृद्धि गर्नुपर्ने व्यवसायीको माग, विकल्पको खोजीमा सरकार

काठमाडौं । यातायात व्यवसायीहरुले चाडपर्वको मुखमा आएर सरकारसँग अग्रिम टिकट बुकिङ खुला गर्न अड्को थापेका छन् । सरकारले दशैं अगाडि भाडा वृद्धि नगरे अग्रिम टिकट नकाट्ने यातायात व्यवसायीहरुको अडान छ ।

यातायात व्यवस्था विभागसँग पटक पटक भएको छलफलमा यातायात व्यवसायीहरुले भाडा वृद्धि र सडक मर्मत गर्नुपर्ने लगायतका माग राखेर अग्रिम टिकट बुकिङ खुलाउन मानिरहेका छैनन् ।

तर, यातायातमन्त्री र विभाग भने दशैंतिहार अगाडि भाडा वृद्धि गर्ने पक्षमा छैनन् । सरकार सर्वसाधारणलाई मारमा पर्ने गरी चाडपर्वको मुखमा भाडा वृद्धि गर्न तयार छैन । व्यवसायीहरु भने चडपर्वको मुखमै सरकारलाई अप्ठेरोमा पारेर भाडा बढाएरै छाड्ने पक्षमा छन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले यातायात व्यवसायीले भाडा वृद्धिको माग राखेकाले अग्रिम टिकट बुकिङ खुला गर्न रोकिएको बताए ।

उनले भने, ‘यातायात व्यवसायी चाडपर्वको बेलामै भाडा वृद्धि गर्नुपर्‍यो भनिरहनु भएको छ । तर, चाडपर्वको बेला कसरी भाडा वृद्धि गर्न सकिन्छ ? हामीले व्यवसायीलाई दशैंतिहारपछि माग सम्बोधन गरौंला भनिरहेका छौं । हामीले विद्यालय, कलेजको बसमा पनि यात्रुलाई दशैंमा घर पठाउन छलफल गरिरहेका छौं । एउटै रुट भएकाहरुलाई कलेज वा स्कुलको बसले पनि गाउँ पुर्‍याउन लगाउने विषयमा छलफल भइरहेको छ ।’

सरकारले चाहेको खण्डमा सेना र प्रहरीको गाडीबाट पनि गाउँ पुर्‍याउन सकिने उनको भनाइ छ ।

व्यवसायीले कति भाडा वृद्धि गर्नुपर्ने हो, खुलाएका छैनन् । विभागसँगको छलफलमा भाडा वृद्धि गर्नुपर्ने सर्तमात्रै राखेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले भाडा वृद्धि गर्नुको विकल्प नरहेको बताए । उनले भने, ‘हामीले भाडा वृद्धि र सडक मर्मतको माग राखेर सम्बोधन गर्न दबाब दिरहेका छौं ।’

भाडा वृद्धिमा प्रयोग हुने १६ वटा तत्वमध्ये सबैभन्दा धेरै मूल्यवृद्धि भएको ५ वटा वस्तुको मूल्यांकन गरेर भाडा वृद्धि गर्नुपर्ने उनको माग छ । ‘कानूनी व्यवस्था पनि त्यही छ । प्रत्येक वर्ष गाडीमा प्रयोग हुने ५ वस्तुको मूल्य हेरेर भाडा वृद्धि गर्नुपर्ने हो’, अध्यक्ष स्वाँरले भने, ‘बाँकी ११ वटा वस्तुको मूल्य हेरेर ५ वर्षमा पुनः भाडा समायोजन हुनुपर्ने हो । तर, भाडा बढाउन हुँदैन मात्रै भनिरहेको छौं ।’

पेट्रोलियम पदार्थले ३५ प्रतिशतमात्रै भाडाको सम्बोधन गर्छ । बाँकी ६५ प्रतिशत भाडा गाडीमा प्रयोग हुने टायरदेखि अन्य वस्तुको आधारमा निर्धारण हुनुपर्ने भन्दै उनले राज्यले व्यवसायीको कुरा नसुने दशैंमा अग्रिम टिकट नखुल्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर