कृषि र पर्यटनबाट कोशी प्रदेशको समृद्धि : एमाले – Nepal Press

कृषि र पर्यटनबाट कोशी प्रदेशको समृद्धि : एमाले

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले कोशी प्रदेशको विकास र समृद्धि पर्यटन र कृषिबाट सम्भव रहेको भन्दै आर्थिक सामाजिक रूपान्तरणको प्रस्ताव पारित गरेको छ ।

एमाले कोशी प्रदेशको प्रथम अधिवेशनले प्रदेशको विकास र समृद्धिका लागि कृषि र पर्यटनबाट सम्भव रहेको प्रस्ताव पारित गरेको छ ।

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राई संयोजक रहेको तीन सदस्यीय समितिले तयार पारेको कोशी प्रदेशको आर्थिक सामाजिक रूपान्तरण र समृद्धिको प्रस्ताव पास गर्दै पर्यटन र कृषिमा लगानी गर्नु पर्नेमा जोड दिएको छ ।

समितिमा प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेश योजना अयोगका पूर्व उपाध्यक्ष सुबोधराज प्याकुरेल सदस्य थिए । सो समितिले पेस गरेको प्रस्ताव उपर ७ वटा समितिले छलफल गरी अधिवेशनबाट पास गरिएको छ । प्रस्तावमा प्रदेश समृद्धिका मूल आधार र सम्भावनालाई विभिन्न १४ वटा खण्डमा समेटिएका छन् ।

लगानीका दृष्टिले प्रदेशको उद्योगमा कुल राष्ट्रिय औद्योगिक लगानीको २० प्रतिशत र राष्ट्रिय विद्युत् उत्पादनमा प्रदेशको योगदान १७ प्रतिशत रहेको उल्लेख छ । यसको वृद्धिमा थप कार्य गर्न सकिने र यसबाट प्रदेशमा समृद्धिको आधार तय हुने एमालेले कोशीले दाबी गरेको छ ।

कोसी प्रदेशलाई धार्मिक पर्यटनको क्षेत्रको हिसाबले निकै महत्त्वपूर्ण मानिएकाले अर्थतन्त्रको महत्त्वपूर्ण अङ्ग भनिएको छ ।

कृषितर्फ अलैँचीमा ९४ दशमलव २ प्रतिशत, अदुवामा ३४ दशमलव ८ प्रतिशत, आलुमा ३३ दशमलव १ प्रतिशत, मकैमा २८ दशमलव ३ प्रतिशत, धानमा २१ दशमलव ५ प्रतिशत, दूधमा २० दशमलव ७ प्रतिशत र गहुँमा १० दशमलव २ प्रतिशत योगदान रहेको जनाइएको छ । वन, जडीबुटी तथा निकुञ्जको योगदानबारे समेत उल्लेख गर्दै पर्यटनको विविध क्षेत्रको विकासमा जोड दिइएको छ ।

प्रदेशको समृद्धिका लागि कृषि र पशुपालनमा जोड दिनु पर्ने प्रस्तावमा उल्लेख छ । प्रस्तावमा भनिएको छ, ‘पहाडी जिलाहरूमा अर्ग्यानिक कृषि तथा रैथाने खेतीमा जोड, निजी क्षेत्र, बैक तथा वित्तीय संस्था मार्फत लगानीको प्रबन्ध गरिनु पर्छ । प्रस्तावमा उत्पादन सङ्कलन, बिचौलिया रहित मूल्य र बजारको ग्यारेन्टी गरिनु पर्ने प्रस्तावमा उल्लेख छ ।

प्रदेशको समृद्धिका लागि चिया, अलैँच र अदुवा जस्ता नगदे बालीमा जोड दिँदै पशुपालनमा पहाडमा चौँरी र भेडा पालन गर्नु पर्ने उल्लेख छ । प्रस्तावमा जडीबुटी खेतीमा समेत जोड दिनु पर्ने उल्लेख गरिएको छ ।

समितिले पेस गरेको प्रस्तावमा बस्तुको प्रशोधन, भण्डारण, बजारीकरण र ब्रान्डिङलाई जोड दिइएको छ । खानेपानी, सिँचाइ, पर्यावरण–स्थानीय सहभागिता र जलविद्युत् विकासलाई प्राथमिकतामा राखिएको छ ।

यस्तै धार्मिक, सांस्कृतिक, र कृषि पर्यटनको विकास गर्न आवश्यक पूर्वाधार तयार गर्नु पर्ने उल्लेख छ । समृद्ध कोसी प्रदेशका लागि एमालेले खेलेको भूमिका र प्रयासबारे समेत प्रतिवेदनले बोलेको छ ।

२०७४ मा बहुमतको सरकार बनेपछि प्रदेशको समग्र विकासमा भूमिका खेलेको र त्यसको केही सकारात्मक परिणामसमेत आएको प्रतिवेदनमा जनाइएको छ ।

एमाले नेतृत्वको प्रदेश योजना आयोग गठन गरी आवधिक योजना तयार गरेर विकासका कार्य अघि बढाइएको जनाइएको छ ।

समग्र आर्थिक तथा सामाजिक विकासका लागि एमाले कोसीले केन्द्रीय राजनीतिको प्रभाव प्रत्यक्ष रूपमा प्रदेश र स्थानीय तहमा पर्नुलाई चुनौतीको रूपमा लिएको छ ।

राजनीतिक अस्थिरताले जनतामा निराशा बढेको र अधिकार प्रदेशमा हस्तान्तरण हुनुपर्नेमा जोड दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर