एमाले कोशीको अध्यक्षमा घनश्यामलाई सर्वसम्मत गराउन हेडक्वार्टरको कसरत, ढकालले पनि नछाड्ने – Nepal Press

एमाले कोशीको अध्यक्षमा घनश्यामलाई सर्वसम्मत गराउन हेडक्वार्टरको कसरत, ढकालले पनि नछाड्ने

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडाको नाममा सहमतिका लागि पार्टी हेडक्वार्टरले प्रयास सुरू गरेको छ । बिहीबार रातिबाट खतिवडालाई सर्वसम्मत गराउन सहमतिको प्रयास थालिएको हो । कोशीको अधिवेशन आजबाट सुरू हुँदैछ । नेतृत्वका लागि अहिलेका अध्यक्ष तुलसीप्रसाद न्यौपानेसहित ४ जना दाबेदार देखिएका छन् ।

एमाले केन्द्रीय सदस्य विनोद ढकाल, वर्तमान अध्यक्ष तुलसीप्रसाद न्यौपाने, उपाध्यक्ष टीकाराम चेम्जोङ्ग र घनश्याम खतिवडा आकांक्षी छन् ।

एमाले कोशी प्रदेश अधिवेशन प्रचार प्रसार उपसमितिले बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज रघुवीर महासेठले सर्वसम्मत नेतृत्व चयनको प्रयास हुने बताए । सर्वसम्मत नेतृत्व छनौटमा समस्या भए निर्वाचन हुने तर प्यानल बनाएर निर्वाचनमा जान नपाउने पार्टीको धारणा प्रष्ट्याए ।

पत्रकार सम्मेलनमा अध्यक्षका चारैजना आकांक्षी सहभागी थिए । पत्रकारले पटक-पटक उम्मेदवारीबारे सोध्दा उनीहरू केही बोलेनन् । प्रदेश अध्यक्ष तुलसीप्रसाद न्यौपानेले मनोनयन दर्तापछि मात्रै आफू बोल्ने बताए । अर्का प्रत्यासी विनोद ढकालले पनि अहिले नै उम्मेदवारी घोषणा गर्ने बेला नभएको बताएका छन् । अध्यक्षले नै उम्मेदवारी घोषणा गर्न नसक्दा पदाधिकारीको उम्मेदवारी घोषणा पनि तैँ चुप मैँ चुप रहेको अवस्था छ ।

कोशी प्रदेशको अधिवेशनमा ९९७ जना प्रतिनिधि छनौट भएका छन् । जसमा ३१७ जना महिला छन् ।

भूगोल र जन सङ्गठनबाट छानिएका प्रतिनिधिको ५ प्रतिशत थप प्रतिनिधि मनोनीत गर्ने भनिए पनि अहिलेसम्म मनोनयन हुन सकेको छैन । विवादका कारण प्रतिनिधि मनोनयन हुन नसके पनि प्रदेश अधिवेशनमा जम्मा प्रतिनिधि १०५० हुने पत्रकार सम्मेलनमा अध्यक्ष न्यौपानेले बताए ।

होला त सर्वसम्मत ?

अन्य प्रदेशमा चुनावी प्रतिस्पर्धाबाट नेतृत्व छनौट भइरहँदा कोशीमा मात्रै सर्वसम्मत नेतृत्व छनौट गर्न चर्को रहेको एक स्थायी कमिटी सदस्य बताउँछन् ।

उनका अनुसार आकांक्षी ४ जना देखिए पनि अन्तिममा विनोद ढकाल र घनश्याम खतिवडाबीचमा प्रतिस्पर्धाको सम्भावना बढेको छ । कुनै बेला अध्यक्ष ओलीनिकट मानिने ढकाललाई यस पटक ‘ग्रीन सिग्नल’ नमिलेको एमाले वृत्तमा चर्चा छ । तर, अध्यक्षले अघि बढ नभने पनि ढकालले निक्कै अगाडिदेखि प्रदेश अध्यक्षको तयारी गरेकाले उनी व्याक हुने अवस्था नरहेको नेताहरू बताउँछन् ।

ढकालले आफू निकटसँग असोजको ५ गते नै केन्द्रीय सदस्यबाट राजीनामा दिएर अध्यक्षको उम्मेदवारी घोषणा गर्ने बताएको भए पनि अहिलेसम्म केन्द्रीय सदस्यबाट राजीनामा दिएका छैनन् । उनी अहिले पनि पर्ख र हेरको अवस्थामा छन् ।

अध्यक्षका अर्का प्रत्यासी खतिवडाले भोट भने माग्दै गरेको बताए । उनले भने, ‘भोट माग्दैछु । अहिलेसम्म कार्यकर्ताले बाहेक तिमी अध्यक्ष बन भनेर नेताले भन्नु भएको छैन ।’ पुराना नेता भएका कारण यस पटक अध्यक्ष ओलीले खतिवडालाई ‘गो अ हेड’ भनेको उनी निकटका नेताको दाबी छ ।

ढकाललाई अहिले भीम आचार्यको साथ छ । उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि ढकालको पक्षमा खुलेर लागेका स्थायी कमिटी सदस्यहरू समेत मौन देखिएका छन् ।

अहिलेका अध्यक्ष न्यौपानेले अधिवेशनबाटै नेतृत्वमा आउने चाहना व्यक्त गरेका छन् । तर, उनलाई केन्द्रीय सदस्य बनाउँदै संखुवासभा इन्चार्जमा व्यवस्थापन गर्ने तयारी छ ।

एक नेता भन्छन्, ‘यहाँ उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलले पनि केही इन्ट्रेस्ट देखाउनुभएको छैन । अध्यक्षले जसलाई भन्नु हुन्छ उही आफ्नो उम्मेदवार हुने भनिरहनुभएको छ ।’

पदाधिकारीमा को को ?

एमाले स्रोतका अनुसार सचिवमा पाँचथरका राजकुमार भण्डारी र तेह्रथुमका लक्ष्मण तिवारीले दाबी गरेका छन् ।

उपाध्यक्षमा भने अहिलेका उपाध्यक्ष टीकाराम चेम्जोङ्गलाई नै दोहोर्‍याउने तयारी छ । उपसचिवमा शैलेश लामालाई नै जिम्मेवारी दिने तयारी भएको स्रोत बताउँछ । ढकालले भने अहिलेसम्म प्यानल बनाइसकेका छैनन् । उनले उद्घाटनपछि प्यानलको तयारी गर्ने उनी निकट एक नेताले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर