नेकपा एसलाई एमालेमै मिलाउन चाहन्छन् झलनाथ ? – Nepal Press

नेकपा एसलाई एमालेमै मिलाउन चाहन्छन् झलनाथ ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालबीचको विवाद सतहमै देखिएको छ ।

एमालेबाट विभाजित भएर देशभर पार्टी निर्माणको काम नसक्दै नेपाल र खनालबीचको सम्बन्धमा दरार आएको हो । पार्टीमा जनाधार निरन्तर ओरालो लागिरहेको बेलामा शीर्ष नेताहरुबीच नै विवाद बढ्दै जाँदा पार्टीको भविष्य नै अन्योलतातर्फ धकेलिन सक्ने विश्लेषण हुन थालेको छ ।

पार्टीभित्र अन्यौलता र विवादको कारणले नेकपा एस छाड्ने नेताहरू उल्लेख्य छन् । अधिकांश नेताहरू एमालेमै फर्किएका छन् भने केही माओवादीसहित नयाँ दल रोजेका छन् ।

एमालेबाट विद्रोहको औचित्य पुष्टि गर्न नसकेको कारणले नेताहरूले पार्टी छाड्न थालेको नेताहरू नै स्वीर्काछन् । अध्यक्ष नेपालले एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि भइसकेको दाबी गर्दा नेता खनाल त्यो कुरामा सहमत छैनन् ।

नेकपा एसले माघको दोस्रो सातमा पार्टीको दशौं महाधिवेशन गर्ने तयारी गरेको छ । महाधिवेशनमा नेताहरूको उचित व्यवस्थापन र जिम्मेवारी दिन सके पार्टीमा नेताहरू जोगाउन सक्ने नेतृत्व पङ्क्तिको बुझाइ छ ।

औचित्य पुष्टि गर्न नसक्नुको साथै एमालेभन्दा फरक पनि देखिन नसकेको भन्दै आलोचना गर्न थालेका छन् । शीर्ष नेताहरूमै मतभेद बढ्न थालेपछि आगामी महाधिवेशनबाट पार्टी नयाँ शिराबाट अघि बढ्ने नेता मेटमणि चौधरी दाबी गर्छन् ।

उनले भने, ‘अहिले हामी पार्टी निर्माणको चरणमा छौँ । पार्टी महाधिवेशन नजिकिरहेको बेलामा शीर्ष नेताहरुबीच नीतिको विषयमा बहस हुनु स्वभाविक हो । त्यसलाई अन्यथा लिन हुँदैन ।’

उनले कम्युनिष्ट पार्टीभित्र हुने आन्तरिक बहसलाई विवादको रूपमा लिन नहुने दाबी गरे । उनले भने, ‘उहाँहरुबीच (माधव–झलनाथ) बीच हुने बहसलाई स्वाभाविक रूपमा हेर्नुपर्छ । यस्तो भएन भने पार्टी विकास नै हुँदैन ।’

उनले महाधिवेशनमा नेता खनालले मात्रै नभएर अरूले नेताहरूले पनि दाबी गरे पनि स्वाभाविकरूपमा लिनुपर्ने तर्क गर्छन् । पछिल्लो समय नेता खनाल अध्यक्ष नेपालबाट पार्टी चल्न नसक्ने भन्दै आन्तरिक रूपमा आफैँ नेतृत्वमा जाने आन्तरिक गृहकार्यमा लागेका उनी निकट नेताहरू बताउँछन् ।

केही दिनअघि सम्पन्न केन्द्रीय कमिटी बैठकमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल ।

तर, नेता खनालले अध्यक्षमा दाबी प्रस्तुत गर्ने तयारी गरे पनि संस्थापन पक्षका नेताहरू अहिले नेतृत्व परिवर्तन हुन नसक्ने दाबी गर्दैछन् ।

नेपालनिकट एक नेताले भने, ‘अहिले हामी पार्टी निर्माणको क्रममा छौँ । यो बेलामा एकजुट भएर अघि बढ्नुपर्ने बेलामा उहाँ आफ्नै ढंगले अघि बढ्न खोज्दै हुनुहुन्छ । तर, यो महाधिवेशनमा नेतृत्व परिवर्तनको कुनै सम्भावना पनि छैन । आन्तरिक रूपमा उहाँले त्यो सक्नुहुन्न पनि ।’

त्यही महाधिवेशन लक्षित गर्दै भदौ पहिलो साता बसेको निर्णय अनुसार नेताहरूको कार्य विभाजन अध्यक्ष माधव नेपालले सर्कुलर गर्दा पार्टीभित्र विवाद चर्किएको छ । अध्यक्ष नेपालको निर्णयप्रति असन्तुष्टि जनाउँदै आएका खनाल पक्षको कडा आपत्तिपछि अहिले कार्यान्वयन रोक लगाइएको छ ।

अपानीको विषयमा छलफल नगरेर नयाँ पठाउनको लागि भोलि शीर्ष नेताहरू छलफलमा बस्न लागेको नेता चौधरीले बताए ।

त्यसो त अध्यक्ष नेपालको एकपछि अर्को कार्यशैलीमाथि खनाल सन्तुष्ट छैनन् । माधव नेपालले पार्टीको अस्तित्व जोगाउनकै लागि गठबन्धन हुँदै समाजवादी मोर्चामा सामेल भएका छन् । माओवादी केन्द्र, जसपा र विप्लव नेतृत्वको नेकपासँग पार्टी एकतासम्मको लक्ष्य राखेर नेकपा एस पनि मोर्चामा सामेल छ ।

तर, यो मोर्चाप्रति नेता खनाल सन्तुष्ट छैनन् । उनी सुरुआती चरणदेखि नै एमालेसँग छन् । कांग्रेस नेतृत्वको गठबन्धनको पनि विपक्षमा छन् । उनी गठबन्धनबाटै निर्वाचन लड्दा समेत पराजित भएपछि थप आक्रामक बनिरहेका छन् ।

उनले गठबन्धनले पार्टीलाई कहीँ पुर्‍याउने भन्दै वर्ग शत्रु किटान गरेर अघि बढ्नुपर्ने राय राख्दै आइरहेका छन्। एमालेसँग सकारात्मक रहेका खनाल कांग्रेसलाई वर्ग शत्रु मानेर जानुपर्ने उनको विश्लेषण छ ।

तर, उनको भनाइप्रति अध्यक्ष नेपाल सन्तुष्ट छैनन् । पार्टीलाई गठबन्धनबाट बाहिर निकाल्नु पार्टीलाई नै सिध्याउने षड्यन्त्र भइरहेको उनले बुझाइ छ । उनले कांग्रेसलाई चिढ्याएर एमालेलाई खोज्नु भनेको पार्टी सिध्याउने कुरा मात्रै भएको बताएका छन् ।

शनिवार एक कार्यक्रमलाई सम्बोधन गर्दै भनेका थिए, ‘अहिले गठबन्धनको सरकारबाट बाहिरिनुपर्छ भन्नु पार्टी सिध्याउन खोज्ने कुरा हो । कांग्रेसलाई शत्रु बनाएर, कांग्रेसलाई बिच्क्याएर अरू कसैलाई खुसी पार्न खोजेको छ भने त्यो कुरा सिंगो अभियान धराशायी पार्ने हो। हामी त्यो दिशामा जान सक्दैनौँ ।’

पछिल्लो समय सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चा कसकाविरुद्ध भन्दै नेकपा एसले प्रमुख शत्रु किटान गरेर जानुपर्ने बताइरहेका बेला नेपालले लगातार खनालको धारणाको प्रतिवाद गरिरहेका छन् ।

अध्यक्ष नेपालसँग दूरी बढाइरहेका नेता खनाल इलाम २ बाट चुनाव लड्न सकारात्मक छन् । उनले एमालेका केही नेताहरूसँग आगामी उपनिर्वाचनमा आफू लड्न तयार रहेको संकेत गरिसकेका छन् । नेता खनालले पार्टी कमजोर बन्दै गइरहेको अवस्थामा कम्युनिष्ट एकताको पहल गर्नुपर्ने भन्दै पार्टीलाई नै एमालेमा फर्काउने चाहेको विश्लेषण हुन थालेको छ ।

तर, नेता खनाले अहिले आफू पार्टी छाडेर एमालेमा फर्किने पक्षमा नरहेको बताउँछन् । आफू कम्युनिष्ट एकताको पक्षमा रहेपनि तत्काल एमालेमै पार्टीलाई फर्काउने वा आफै फर्किने सम्भावना नरहेको प्रष्ट्याए । इलाममा हुने उपनिर्वाचनमा आफूले जित्ने निश्चित भएको अवस्थामा लड्ने संकेत गरेका छन् । तर, अहिलेसम्म त्यसबारेमा कुनै निर्णय नगरेको बताए ।

अध्यक्ष नेपालसँग पछिल्लो समय विमति राख्दै आउनुभएको छ नि भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले भने, ‘पार्टी राजनीतिमा आन्तरिक बहस हुनु स्वभाविक हो । अब यो महाधिवेशनमा नगएसम्म टुंगिँदैन् । हामी महाधिवेशनको तयारीमा जुटिसकेका छौँ ।’

महाधिवेशनमा विचार, दृष्टिकोणबीच छलफलको क्रममा विवाद हुनुलाई स्वभाविक रूपमा लिनुपर्ने उनको भनाइ छ ।

पार्टीभित्र नेताहरूको जिम्मेवारी बाँडफाँटलगायतको विषयमा सामान्य विवाद हुने स्वभाविक भएको उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए ।

उनले भने, ‘नेताहरूको कार्य विभाजनलगायतको विषयमा सबैले चित्त नबुझ्न सक्छ। नपाउनेहरूले असन्तुष्टि व्यक्त गर्नु स्वभाविक हो। योसहित पार्टीभित्र उठेपछि विषयलाई समेटेर लान्छौँ ।’

यता नेकपा एमालेले आफ्नो इलामको उपनिर्वाचनको बारेमा अहिलेसम्म कुनै छलफल प्रक्रिया नै नथालेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए। उनले नेता खनाल एमालेमै आए त्यसबारेमा सोच्न सकिने संकेत गरे।

उनले भने, ‘अहिले हामीले उपनिर्वाचनबारे कुनै छलफल थालेका छैनौं । आयोगले मिति तोकेको पनि छैन । तर, कसैले एमालेका नीति र सिद्धान्तअनुसार अघि बढ्न तयार छु भनेर आए त्यसबारेमा सोच्न सकिन्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर