पारससँगको अन्तरंग भेट, जसले बदल्यो सन्दीपको मनोदशा – Nepal Press

पारससँगको अन्तरंग भेट, जसले बदल्यो सन्दीपको मनोदशा

सुरूमा चतुरसमेत सामूहिक छलफल, त्यसपछि पारस-सन्दीप वान टु वान

काठमाडौं । नेपाली क्रिकेटमा सबैभन्दा ठूला दुई नाम हुन् पारस खड्का र सन्दीप लामिछाने । सन्दीप अन्तर्राष्ट्रिय ख्यातिप्राप्त क्रिकेटर हुन् भने पारस देशभित्र अत्यधिक लोकप्रिय छन् ।

तर, यी दुई क्रिकेटरको पारस्परिक सम्बन्ध भने उति न्यानो नरहेको चर्चा पहिल्यैदेखि मिडियामा हुने गर्थ्यो । उनीहरूकै केही गतिविधिले यो चर्चालाई मलजल गरेको पनि हो । २०७६ सालमा सन्दीपले ट्वीटर र इन्स्टामा पारसलाई अनफलो गरेपछि उनीहरूबीच सबै ठीकठाक नरहेको संकेत पहिलाेपटक देखापर्‍यो । टीम क्याप्टेनलाई नै अनफलो गर्दा आलोचना भोगेका सन्दीपले केही दिनपछि नै फलोब्याक त गरे, तर गसिपहरू बन्ने क्रम रोकिएन ।

यता, नेपाल क्रिकेट संघ (क्यान) सँग पनि पारसको असमझदारी चुलिँदो थियो । संघ अध्यक्ष चतुरबहादुर चन्दको कार्यशैलीसँग पारस, ज्ञानेन्द्र मल्ल लगायतका थुप्रै खेलाडी सन्तुष्ट थिएनन् । चन्द पनि पारस-ज्ञानेन्द्रसँग खुशी थिएनन् । कप्तान र व्यवस्थापनको ‘टसल’ ले नेपाली क्रिकेटलाई नै असर पुर्‍याउन थालिसकेको थियो ।

अन्ततः पारसले कप्तानीबाट राजीनामा दिए, २०७६ सालको असोजमा । त्यसको करिब दुई वर्षपछि खेलाडी जीवनबाटै सन्न्यास लिए । पारसले खेल्ने उमेर बाँकी छँदै अर्ली रिटायरमेन्ट लिनुमा क्यानसँगको असमझदारीलाई नै मुख्य कारकतत्व मानिन्छ । खासगरी अध्यक्ष चन्दसँग ग्रह मिल्न नसक्दा उनले अप्रिय निर्णय लिएका थिए ।

तर, समयको बेगले कसलाई कहाँ पुर्‍याउँछ केही भन्न सकिन्न । आज पारस नेपाल क्रिकेट संघ (क्यान) को व्यवस्थापनमा भित्रिएका छन् । उनले अध्यक्ष चन्दकै प्यानलबाट केन्द्रीय सचिवमा उम्मेदवारी दिएका थिए । हिजोको तिक्तता बिर्सेर उनीहरूले क्यानको चुनावमा सहकार्य गरे र दुवैजना सफल पनि भए । चतुर र पारसबीचको हार्दिकता अहिले उचाइमा पुगेको छ ।

यता, सन्दीपका लागि भने अध्यक्ष चन्द पहिल्यैदेखि दाहिना थिए । क्यानले पारस खड्काको अवकाशपछि तत्कालीन उपकप्तान ज्ञानेन्द्र मल्ललाई कप्तानमा बढुवा गरेको थियो । तर, एक वर्षपछि नै उनलाई अनुशासन उल्लंघनको आरोपमा बर्खास्त गरियो र सन्दीपलाई कप्तान बनाइयो । २०७८ साल मंसिर २९ गते सन्दीपको काँधमा नेपाली क्रिकेटको नेतृत्व आयो, जतिबेला उनी २१ वर्षका थिए । राम्ररी परिपक्व भइसकेका थिएनन् ।

सन्दीपको क्रिकेट करिअर लोभलाग्दो गरी फक्रिरहेको थियो । कम उमेरमै राष्ट्रिय टीमको नेतृत्व पाएका थिए । अन्तर्राष्ट्रिय फ्रेन्चाइजेजहरूमा उनी डिमान्डेड थिए । सर्वत्र वाहवाही थियाे ।

स्रोतका अनुसार पारसले सन्दीपलाई जस्तोसुकै परिस्थितिमा पनि आफूलाई खेलबाट बाहिर नराख्न आग्रह गरेका थिए । सन्दीपले एसियाड खेल्नैपर्नेमा पारसको जोड थियो । सन्दीपको सरोकारका विषयहरूमा पारसले निकै गम्भीरता देखाएको स्रोत बताउँछ ।

तर, एक वर्षअघि सन्दीपको करिअरमा ठूलो ‘सेटब्याक’ भयो, जब उनी यौनजन्य कसुरमा पक्राउ परे । एक युवतीले उनीमाथि बलात्कारको आरोपमा जाहेरी दिएकी थिइन् । त्यसयता उनले भोगेका हण्डर ठक्कर यहाँ वर्णन गरिराख्नु नपर्ला । उनी केही समय जेलसमेत बस्नुपर्‍यो । त्यसबेला उनी डिप्रेसनमै पुगेका थिए ।

सन्दीपलाई गम्भीर मुद्दा लागे पनि आममानिसहरूको समर्थन र सहानुभूति उनीतिर रह्याे । क्रिकेट समर्थकहरू उनलाई दोषी मान्न तयार भएनन् । ‘पब्लिक’ ले पनि सन्दीप र युवतीको ‘नाइट आउट’ लाई बलात्कार मान्न तयार भएन । पाटन उच्च अदालतले उनलाई धरौटीमा छोड्ने आदेश दियो । छुटेलगत्तै नेपाल क्रिकेट संघ (क्यान) ले बोल्ड निर्णय लिएर सन्दीपलाई तत्काल टीममा फर्कायो । राष्ट्रिय टीमका खेलाडीहरूले उनलाई कुनै फरक व्यवहार गरेनन् र टीममा न्यानो स्वागत गरे ।

अदालतमा विचाराधीन मुद्दाको टर्चर बोकेर पनि सन्दीपले आफूलाई ‘लडाकु’ सावित गर्दै मैदानमा उत्कृष्ट प्रदर्शन गरे । नेपालको एकदिवसीय मान्यता जोगाउन उनको महत्वपूर्ण भूमिका रह्यो । नेपाललाई एसिया कपमा छनोट गराउन पनि सन्दीप नै निर्णायक बने । यसले गर्दा क्रिकेट समर्थक र जनमानसमा उनको लाेकप्रियता थप चुलियो ।

यता, पारस भने सन्दीपको मुद्दालाई लिएर उनीप्रति अलिकति ‘रिजर्भ’ देखिए । हरेकपटक नेपालले क्रिकेट म्याच जित्दा उनी सामाजिक सञ्जालबाट बधाइ दिन्थे, तर सन्दीपको नाम र तस्विर नराखिकन । सन्दीपले आफ्नो एकल बलबुतामा जिताएका म्याचमा पनि पारसले उनको नाम लिन कञ्जुस्याइँ गरेपछि निकै आलोचना व्यहोर्नुपर्यो । सन्दीपमाथि पारसले पुरानो तुष निकाल्न खोजेको आरोप लाग्यो । त्यसपछि भने पारसले सन्दीपको बारेमा पनि पोस्ट गर्न थाले

यो सबै वृतान्त यहाँ किन खोतलिएको हो भने पारस र सन्दीपको पुरानो तुष अब मेटिएको छ । नेपाली क्रिकेटका यी दुई पिल्लर एक ठाउँ आएका छन् । हिजो उनीहरूबीच हार्दिकतापूर्ण भेटघाट र मन माझामाझ भयो ।

अदालतमा लगातार आफ्नो मुद्दा पछि धकेलिएपछि निकै तनावग्रस्त थिए सन्दीप । उनले क्यान अध्यक्षलाई भेटेर आफू एसियाडमा खेल्नका लागि मानसिकरूपमा तयार नरहेको जनाउ समेत दिएका थिए । उनको मनोबल बास्तवमै निकै गिरिसकेको थियो । यो पंतिकारसँग  संक्षिप्त फोन संवाद गर्दा सन्दीपले निकै निराशाजनक कुरा गरेका थिए । तर, पारससँगको भेटपछि सन्दीपको मनस्थिति बदलिएको छ ।

पारस-सन्दीप भेटका लागि चाँजो मिलाएका थिए, क्यान अध्यक्ष चतुरबहादुर चन्दले । राति आठ बजे चन्द, सन्दीप र पारसबीच काठमाडौंको एउटा होटलमा भेट भएको थियो । स्रोतका अनुसार आफ्ना वकिल सरोज घिमिरे र आफन्त दाइ बालकृष्णसहित होटलमा आउँदा सन्दीप निरश मुद्रामा थिए । तर, होटलबाट फर्किँदा उनको बडील्याङ्वेज बदलिएको थियो । उनी उत्साहित देखिएका थिए ।

सुरूमा क्यान अध्यक्ष चन्द र पारसले सन्दीपसँग संयुक्त छलफल गरे । त्यसपछि पारस र सन्दीपबीच छुट्टै वान टु वान कुराकानी भएको थियो । १५-२० मिनेटको उक्त कुराकानी नै सन्दीपको मनस्थिति बदल्न पर्याप्त बनेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार पारसले सन्दीपलाई जस्तोसुकै परिस्थितिमा पनि आफूलाई खेलबाट बाहिर नराख्न आग्रह गरेका थिए । नेपालकाे उपाधि सम्भावना भएकाले सन्दीपले एसियाड खेल्नैपर्नेमा पारसको जोड थियो । सन्दीपको सरोकारका विषयहरूमा पारसले निकै गम्भीरता देखाएको स्रोत बताउँछ ।

‘उहाँ निकै सकारात्मकरूपमा प्रस्तुत हुनुभयो । सन्दीप र पारस एक ठाउँमा उभिनु नै नेपाली क्रिकेटको सर्वोपरी हितमा हुन्छ भन्ने भाव उहाँको अभिव्यक्तिमा प्रकट भएको थियो,’ स्रोतले भन्यो ।

पारसले सन्दीपको मुद्दामा उनको पक्षमा फैसला आउने विश्वास समेत व्यक्त गरेका थिए । मुद्दा किनारा लाग्नासाथ सन्दीपलाई सेन्ट्रल कन्ट्र्याक्टमा समेटेर पारिश्रमिक सुचारु गर्ने उनको प्रतिवद्धता थियो ।

त्यसो त यी आश्वासनहरू क्यान अध्यक्षले पनि सन्दीपलाई दिएका थिए । तर, क्यानमा पारस महत्वपूर्ण भूमिकामा आएकाले अध्यक्षको वचनबाट मात्रै सन्दीप आश्वस्त हुन सकेका थिएनन् । पारसप्रति उनमा केही न केही संशय थिए । तर, पारस आफ्नो ओहदाको दायित्वलाई बुझेर जिम्मेवार ढंगले पेश भएपछि सन्दीपले उनीबाट अभिभावकत्व महसुस गरेका छन् ।

राति ८ बजे सुरू भएको डिनरसहितको बैठक साढे नौ बजेसम्म चलेको थियो । पारसले भने केही दिनअघि मात्रै आफ्नो सासुआमाको निधन भएकाले होटलको खानेकुरा खाएनन् ।

सन्दीप आजै चीन प्रस्थान गरेका छन् । उनको हिजोको टिकट आजलाई सारिएको थियो । सन्दीपसँगै अर्का स्पिनर सागर ढकाललाई पनि क्यानले चीन पठाएको छ । ढकाल घाइते स्पिनर ललित राजवंशीको प्रतिस्थापनमा गएका हुन् । त्रिभुवन विमानस्थलमा पुग्दा सन्दीपको चेहरामा चिरपरिचित मुस्कान थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर