व्यर्थ कर्म : ज्या, व्यर्थै गरिएछ नि ! – Nepal Press

व्यर्थ कर्म : ज्या, व्यर्थै गरिएछ नि !

सात दशकभन्दा अधिक समयमा नेपाली समाजले शिक्षाको क्षेत्रमा धेरै अनुभव सँगालेको छ । शिक्षा आर्जनसँगै नेपाली समाज प्रबुद्ध बन्नेतर्फ पनि निरन्तर अघि बढिरहेकै छ । तर, कहिलेकाहीं नेपाली समाजको हालत देख्दा अचम्म लाग्छ । नेपाली समाजले मनपरेको व्यक्तिलाई महानायकको उपमा दिन बेरै लगाउँदैन । एक पटक महानायकको उपाधि पाएको व्यक्तिलाई महाखलनायकको दर्जामा उभ्याउन पनि कत्ति बेर लगाउँदैन । भावनात्मक नदीको प्रवाहसँगै बग्ने नेपाली समाजले एकै व्यक्तिलाई कहिले महानायक त कहिले महाखलनायक बनाएका धेरै उदाहरण पाइन्छ । त्यस्ता धेरै पात्रहरु नेपाली समाजले देखेको छ, जसलाई समाज र सञ्जालले निकै माथि पुर्‍याएर रसातलमा धसाएको पनि छ । फेरि पनि नेपाली समाजले न त्यस्तो प्रवृत्ति त्याग्न सकेको छ न त त्यस्ता कुनै व्यक्ति नै अहिलेसम्म फेला परेका छन्, जो निष्कलङ्क भएर समाजमा रहिरहन सकेका छन् ।

द्वैध चरित्र त नेपाली समाजले अनि नेपाली समाजमा हुर्किएका सबै पात्रहरूले देखाएकै कुरा हो । घरभित्रैको दुश्मन भने जस्तै व्यर्थैमा वा नबुझी गरिने कुनै पनि समर्थन वा विरोधका क्रियाकलापले नेपाली समाज सदैव ग्रस्त नै छ । हालैका दिनमा धरान उपमहानगरका मेयर हर्क साम्पाङलाई पनि पहिले समर्थन गर्नेहरूले पछि व्यर्थै समर्थन गरिएछ भन्नेहरू निस्किए । यसरी कुरै नबुझी वा नसुनी वा व्यर्थैमा वा लहलहैमा लागेर गरिने समर्थन र विरोधको लामो लहर नेपाली समाजले भोगेको निकै समय भइसकेको छ । यहाँ यस्तै व्यर्थै गरिने कर्मका बारेमा केही चर्चा गरिएको छ । व्यर्थ कर्म बुझेपछि कर्मयोगलाई बुझ्न पनि केही सहज अवश्यै होला !

हामी हाम्रो दैनिक जीवनमा त्यस्ता धेरै कर्म गर्छौं, जुन कर्म गरिसकेपछि हामी पछुताउने गर्छौं र भन्ने गर्छौं, बेकारमा गरिएछन् यी सबै ।

जानेरै वा नजानेरै पनि दैनिक जीवनमा हामीले त्यस्ता कर्महरू पनि गरिरहेकै हुन्छौं । जुन कर्म शास्त्रीय कर्मका व्याख्याहरूसँग पूर्ण रूपले मेल खान पुग्दैन वा भनौं, शास्त्रमा कर्मका गतिहरूको गहन व्याख्या गरिएकाले हामीले त्यसको सहजै भेउ पाउन सक्तैनौं । नेपाली समाजले भोग्दै र बुझ्दै अनि क्रिया गर्दै आएको कर्मको एउटा स्वरूप हो- व्यर्थ कर्म ।

व्यक्ति वा व्यवस्था बाँचुञ्जेल र अस्तित्वमा रहुञ्जेलसम्म कुनै किसिमको सम्मान नगर्ने र सदैव विरोधमात्रै गर्ने तर त्यही व्यक्ति वा व्यवस्था मरेपछि भने अनेक सम्मान दिनलाई नेपाली समाज कुनै कसर बाँकी राख्दैन भन्ने कुरा त हामीले देखी-भोगी-सुनी आएकै कुरा हो । निम्न वर्गदेखि उच्च वर्गसम्मका सबैखाले व्यक्ति अनि व्यक्तित्वलाई तथा शासन व्यवस्थालाई समेत देवत्वकरण र दानवीकरणको यो प्रचलनले ग्रस्त पारेको छ । तर, नेपाली समाजले यो किसिमको समस्याबाट आजसम्म मुक्ति पाउन सकेको छैन ।

व्यक्ति वा व्यवस्था बाँचुञ्जेल र अस्तित्वमा रहुञ्जेलसम्म कुनै किसिमको सम्मान नगर्ने र सदैव विरोधमात्रै गर्ने तर त्यही व्यक्ति वा व्यवस्था मरेपछि भने अनेक सम्मान दिनलाई नेपाली समाज कुनै कसर बाँकी राख्दैन भन्ने कुरा त हामीले देखी-भोगी-सुनी आएकै कुरा हो ।

समाजले कुनै व्यक्ति मन पर्‍यो भने त्यो व्यक्तिलाई तुरुन्तै देवताको कोटीमा स्थापित गर्दिन्छ । त्यही व्यक्ति समाजलाई मन पर्न छाड्यो भने देवबाट दानवको कोटीमा तुरुन्तै राखिदिन्छ । अनि सुरु हुन्छ, देवत्वकरण गरिएका व्यक्तिको दानवीकरण । नेपाली समाजले यस्तो कुराको अनुभव लामो समयदेखि भोगेको छ । केवल शासन सत्तामा बस्नेहरूको मात्रै देवत्वकरण र दानवीकरण गरिएको छैन, सामान्य जनजीवनमा रहेर जीवनयापन गर्नेहरूमा पनि यो समस्या उत्तिकै देखिन्छ ।

हुन त कर्मका धेरैथरी व्याख्या पूर्वीय दर्शनहरूमा पाइन्छ । दर्शनका आधारमा, फलका आधारमा, हेतुका आधारमा कर्मका प्रकारहरूमा विविधता रहेको पाइन्छ । त्यस्ता कर्महरूलाई कतै नित्य-नैमित्तिक र काम्य कर्म, कतै कायिक-वाचिक र मानसिक कर्म, कतै कर्म-अकर्म र विकर्म, कतै प्रारब्ध-सञ्चित-क्रियमाण जस्ता अनेक कर्महरुको व्याख्या पाइन्छ । तर, यहाँ ती सबै कर्मभन्दा फरक रहेर व्यर्थ कर्मबारे चर्चा गरिएको छ, जसले कर्मयोग बुझ्नलाई पक्कै सहज गर्नेछ ।

केही कर्म यस्ता व्यर्थका हुन्छन् कि जसलाई कतै लगेर टुंग्याउन हम्मेहम्मे पर्छ । व्यर्थ कर्मको तात्पर्य यो हो कि गल्ती गर्ने एउटा हुन्छ, अपराधी अर्कैलाई बनाइन्छ र सजाय अरू नै कसैले भोग्नुपर्ने हुन्छ । दैनिक जीवनमा हामी यस्ता धेरै कर्म गर्ने गर्छौं, जुन वास्तवमा बिल्कुलै व्यर्थ छ, बेकार छ । तर पनि हामी निरन्तर त्यस्ता कर्ममा आशक्त वा अग्रसर भइरहेका हुन्छौं ।

व्यर्थैको कर्म त्यो हो, जसबाट अहितमात्रै हुन्छ । अर्थात कसैको पनि हित हुँदैन । जसको परिणाम केवल दुःखदायीमात्रै हुन्छ । जसबाट कुनै किसिमको लाभ लिन सकिँदैन । व्यर्थ कर्मका रूपमा हामी क्रोधलाई लिन सक्छौं । यो हामी सबैले जानेकै कुरा हो कि क्रोध गर्नु हुँदैन र क्रोध सबैको शत्रु हो । तर पनि हामी दैनिक रूपमा कुनै न कुनै कारणवश क्रोध देखाउँछौं र क्रोधकै वशमा पर्ने गरेका हुन्छौं । अनि कसैले किन यस्तो गरेको भनेर सोधेको खण्डमा हामी जवाफ दिने गर्छौं कि रिसको बेला कसले वेद पढ्छ ?

केही कर्म यस्ता व्यर्थका हुन्छन् कि जसलाई कतै लगेर टुंग्याउन हम्मेहम्मे पर्छ । व्यर्थ कर्मको तात्पर्य यो हो कि गल्ती गर्ने एउटा हुन्छ, अपराधी अर्कैलाई बनाइन्छ र सजाय अरू नै कसैले भोग्नुपर्ने हुन्छ । दैनिक जीवनमा हामी यस्ता धेरै कर्म गर्ने गर्छौं, जुन वास्तवमा बिल्कुलै व्यर्थ छ, बेकार छ ।

क्रोध मानिसको स्वाभाविक र नैसर्गिक गुण नै हो भनेर भन्दा अतिशयोक्ति नहोला । क्रोधको अनन्तमा हामी पश्चाताप पनि गर्ने गर्छौं र एउटा दृढ निश्चयमा पनि पुग्ने गर्छौं कि अबदेखि कहिल्यै क्रोध गर्नेछैन वा क्रोधको वशीभूत भएर कुनै पनि कार्य गरिने छैन । पश्चाताप पनि त्यो बेलामा मात्रै गर्छौं कि जब क्रोधको व्यर्थतालाई हामीले अत्यन्तै नजिकबाट महसुस गर्ने गर्छौं वा क्रोधको व्यर्थता सामुन्ने प्रकट हुन पुग्छ । तर, मान्छेको अर्को एउटा नैसर्गिक गुण वा स्वभाव के पनि छ भने मान्छेमा विस्मृतिको अर्थात् बिर्सने नराम्रो बानी पनि छ । यही बानीको दास भएर अथवा बिर्सने रोगको शिकार भएर जीवनमा फेरि पनि क्रोध गर्न पुग्छौं हामी । विस्मृतिको यो रोग मान्छेसँग नहुँदो हो त मान्छेले जीवनमा कहिल्यै पनि क्रोध गर्ने थिएन । पश्चातापको त्यही भावना पनि अत्यन्तै क्षणिक हुने भएकाले पनि बारम्बार हामीले व्यर्थका अनेक कर्महरू गर्ने गर्छौं ।

व्यर्थ कर्म गर्नाले हामीलाई कुनै किसिमको पनि फाइदा हुँदैन । व्यर्थैका कर्महरू पापका मूल कारण हुन् । सारा दुःखको कारण पनि पाप नै हो । अर्थात व्यर्थका कर्महरू नै हुन् । व्यर्थका कर्महरू गरिनुको आशय हो, गल्ती अरू नै कसैको हो र त्यसको सजायको भागीदार आफूलाई बनाइनु । कसैले हामीलाई गाली गर्छ, गाली गर्ने गल्ती उसको हो । तर, त्यो गालीको प्रतिकारमा हामी क्रोध गर्छौं र आफैंले आफैंलाई सजाय दिइरहेका हुन्छौं ।

यस्ता व्यर्थ कर्म गर्नाले हामीलाई जीवनमा हानीबाहेक केही पनि प्राप्त हुन सक्तैन । तर, बानीको गाँजामा लट्ठिएर हामीले त्यस्ता व्यर्थका अनेक कर्महरू बारम्बार गरिरहने गर्छौं । यस्ता कार्यमा हामी बारम्बार सहजै सफल पनि हुने गर्छौं । व्यर्थका कार्यमा हुने सफलताले हाम्रो जीवनमा केवल रिक्तमात्रै सृजना गर्ने गर्छ । हृदयमा जो खालीपन रहेको हुन्छ, जसको परिपूर्णतामा हामी जीवनभर सङ्घर्ष गरिरहेका हुन्छौं, त्यही चीज नै हामीबाट निरन्तर टाढा जान्छ र हामीसँग व्यर्थका कर्मफलहरू मात्रै साथमा रहन्छ । जीवनको पूर्णता त्यहाँ रहन्छ, जहाँ कर्महरू सार्थक हुन्छन् र हुन्छन् हृदयका खालीपनमा पूर्णताको आभास पनि । जुन कर्मले हाम्रो हृदयको खालीपन वा शून्यतालाई पूर्ण गरेर परमानन्दको अनुभूति दिन्छ, त्यही कर्म नै वास्तविक कर्म हो भनेर हामी भन्न सक्छौं ।

कर्म सिद्धान्तलाई गहिरिएर विचार गर्दा जति पनि कर्म हामी गर्छौं, ती सबै कुनै न कुनै रूपले हाम्रा व्यक्तिगत अहँकारसिद्ध गर्न नै गरिएका हुन्छन् । हामीभित्रको अहं तृप्ति गर्न नै हामी कर्म गर्छौं । तर, अहंको तृप्तिले वास्तविक रूपमा आत्मतृप्ति हुन सक्तैन । आत्मतृप्ति अर्थात् सच्चिदानन्दको अनुभूत त त्यो बेलामात्रै हुनसक्छ, जब हामी कुनै सार्थक कर्म गर्न सक्षम हुन्छौं । अर्थात त्यस्तो कर्म, जसले सबैतिर प्रेमको सुवास छर्न सकोस् र सदैव आनन्दको अनुभूति रहोस् ।

अब रह्यो कुरा, सार्थक कर्म के हो त ? कसरी सार्थक कर्म गर्न सक्षम भइन्छ ?

व्यर्थ कर्म गर्नाले हामीलाई कुनै किसिमको पनि फाइदा हुँदैन । व्यर्थैका कर्महरू पापका मूल कारण हुन् । सारा दुःखको कारण पनि पाप नै हो । अर्थात व्यर्थका कर्महरू नै हुन् । व्यर्थका कर्महरू गरिनुको आशय हो, गल्ती अरू नै कसैको हो र त्यसको सजायको भागीदार आफूलाई बनाइनु ।

सार्थक कर्म त त्यो हो, जसको परिणाम सुरुमै शुभ र हितकारक देखिन्छ र हुन्छ पनि । जुन कर्मको परिणाम शीघ्र देखिँदैन वा कर्मफल प्राप्त हुने लक्षणसम्म पनि देखापर्दैन भने त्यस्तो कर्मलाई व्यर्थ कर्म भनेर सम्झँदा हुन्छ । जुन कर्मको फल सार्थक छ र शुभ छ अनि तत्काल नै प्राप्त हुन्छ भने त्यस्तो कर्मलाई सार्थक कर्म वा शुभ कर्म पनि भन्न सकिन्छ । जस्तो हामी क्रोधमा उत्रन्छौं भने त्यसले तुरुन्तै प्रभाव त देखाउँछ । तर, भित्रभित्रै हृदयमा जलन पैदा गर्छ भने मस्तिकमा पनि उत्तेजना तीव्र रूपले फैलन पुग्छ । पूरा शरीरमा रक्तसञ्चार बढ्ने हुन्छ भने त्यस क्रोधले हामीलाई र हाम्रा वरिपरिका सबैलाई हानीमात्रै पुग्ने हुन्छ । यसको ठीकविपरीत कुनै अबोध शिशुको बालसुलभ मुस्कान देखेर हामी आफैं पनि मुस्कुराउने गर्छौं । कुनै अबोध बालकको बालसुलभ शैलीको व्यवहार देखेर हामी तुरुन्तै आनन्द महसुस गर्छौं र हामी पनि आफूलाई बाल्यकालको स्मृतिको धरातलमा उभ्याएर त्यो बालसुलभ आनन्द लिने कोसिस गर्छौं ।

त्यसरी मुसुक्क मुस्कुराउनुको फल हामीलाई तुरुन्तै मिल्छ भने हृदय पनि शीतल हुन्छ र तनावग्रस्त मन पनि शान्त बन्न पुग्छ । त्यहाँ मुस्कुराउने जुन कर्म छ, त्यो नितान्त शुभ कर्म छ । त्यो कर्मको फल पनि तुरुन्तै प्राप्त भएको छ भने वरिपरि रहनेहरूका लागि पनि कर्म र कर्मको फल दुवै लाभदायक नै छ । मुस्कुराउने जुन कर्म छ, त्यो कर्म स्वार्थवश प्रेरित भएर भएको होइन अपितु निस्वार्थ कर्म हो र हो, निष्कर्म पनि । यस्ताखाले निष्कर्म वा निस्वार्थ भावले गरिएका कर्मले सबैलाई सुखी तुल्याउँछ भने कर्तालाई पनि कर्मफलको लेश लाग्न दिँदैन र कर्ता पनि सदैव अकर्ताको भावमा रहन्छ । यही सार्थक कर्मले नै मानिसलाई सच्चिदानन्द स्वरूपमा स्थित रहनमा मद्दत गर्छ । सबैको हित गर्ने र निस्वार्थ भावले पनि सम्पादन हुने कर्म नै सार्थक कर्म हो ।

त्यस्तै बाटोमा हिँड्दै गर्दा कोही व्यक्ति लड्यो भने हामी उसलाई उठाउन पुग्छौं । कोही असहाय व्यक्ति छ भने उसलाई हामी मद्दत गर्न पुग्छौं । स्वार्थरहित भएर गरिने यस्ता कर्महरू, जसले हामीलाई तुरुन्तै एक किसिमको अभौतिक सुखको भण्डार प्रदान गर्छ । सुखको त्यो भण्डार केवल निस्वार्थ कर्म अर्थात् निष्कर्ममा मात्रै हुन्छ । स्वार्थको वशीभूत भएर गरिने कर्मले जीवनमा शान्ति र सुख दिन नसक्ने हुँदा त्यस्ता कर्मलाई व्यर्थ कर्म भनेर परिभाषित गरिन्छ । व्यर्थ कर्मलाई पाप कर्म वा स्वार्थी कर्म पनि भन्न सकिन्छ । दर्शनशास्त्रहरूमा विविध किसिमका कर्मको व्याख्या पाइन्छ । कर्मयोग बुझ्न निकै कठिन पनि छ भने कर्मको गति पनि निकै गहन छ । श्रीमद्भगवद्गीतामा पनि उल्लेख छ-

कर्मणो ह्यपि बोद्धव्यं बोद्धव्यं च विकर्मणस् ।
अकर्मणश्च बोद्धव्यं गहना कर्मणो गतिः ।।  -श्रीमद्भगवद गीता ४/१७

सार्थक कर्म त त्यो हो, जसको परिणाम सुरुमै शुभ र हितकारक देखिन्छ र हुन्छ पनि । जुन कर्मको परिणाम शीघ्र देखिँदैन वा कर्मफल प्राप्त हुने लक्षणसम्म पनि देखापर्दैन भने त्यस्तो कर्मलाई व्यर्थ कर्म भनेर सम्झँदा हुन्छ । जुन कर्मको फल सार्थक छ र शुभ छ अनि तत्काल नै प्राप्त हुन्छ भने त्यस्तो कर्मलाई सार्थक कर्म वा शुभ कर्म पनि भन्न सकिन्छ ।

अर्थात, कर्मको स्वरूप पनि जान्नुपर्छ, अकर्मको स्वरूप पनि जान्नुपर्छ र विकर्मको स्वरूप पनि जानुपर्छ । किनकि कर्मको गति गहन छ ।

व्यर्थ कर्मलाई विकर्मका रूपमा पनि लिन सकिन्छ । व्यक्ति र समाज दुवैको अहितमा हुने भएकाले व्यर्थ कर्मलाई विकर्मका रूपमा पनि परिभाषित गर्न सकिन्छ । वेदादि शास्त्रले निषेध गरेको कर्मलाई विकर्म भनिन्छ । व्यर्थैमा गरिने कर्मलाई पनि लगेर विकर्ममा मिसाउन सकिन्छ । विकर्म निकै गहन भएकाले बुझ्न सहज होस् भनेर व्यर्थ कर्मलाई छुट्टै व्याख्या गर्नुपरेको हो ।

व्यर्थ कर्मको त्याग गरेर जब हामी सार्थक कर्ममा अघि बढ्छौं, तब जीवनमा तथा समीपको सेरोफेरोमा समेत आनन्दको एक विशेष सुगन्ध फैलने गर्छ । सानातिना नै भए पनि सार्थक कर्मले जीवनमा आनन्दका लागि विशेष महत्त्व राख्ने गर्छ । एक अबोध बालकको मुस्कान देखेर जसरी हामी मुस्कुराउने गर्छौं । मुस्कुराउनुमा कुनै ठूलो परिश्रम वा लगानी नभए पनि त्यसको फल भने निकै आनन्ददायक नै हुन्छ । थाहै नपाइ हामी आनन्दको स्वरूपमा स्थित हुन पुग्छौं । यस्ता सद्भावपूर्ण सार्थक कर्मले जीवनमा आत्मतृप्तिको कार्य गर्छ ।

सबै कर्महरू ज्ञानमा गएर लीन हुने भएकाले र ज्ञान स्वरूप नै आत्मा भएकाले सार्थक कर्म गर्नु जरुरी हुन्छ ।

सर्वं कर्माखिलं पार्थ ज्ञाने परिसमाप्यते ।  -श्रीमद्भगवद गीता ४/३३

अर्थात, हे अर्जुन ! सबै कर्म ज्ञानमा नै आएर समाप्त (लीन) हुन्छ ।

सार्थक कर्मले नै ज्ञानको द्वार खोल्ने र ज्ञानद्वारा नै आत्मानन्द वा सच्चिदानन्दको अवस्थाको प्राप्ति हुन जान्छ भने कर्मफलको लेश पनि नलाग्ने हुन्छ । व्यर्थ कर्म वा सकाम कर्म नै जीवनमरण चक्रको कारक भएकाले पनि त्यस्ता कर्महरू नगरेर होसपूर्वक सार्थक कर्म वा निष्कर्म गर्नु नै श्रेयकर हुन जान्छ । यही नै हाम्रा शास्त्रहरूले बताएको, हाम्रा ऋषिमुनिहरूले बताएको मार्ग हो । मानव जीवनको सफलता वा सार्थकता पनि यही सार्थक कर्मकै विन्दूमा अडिएको छ ।


प्रतिक्रिया

One thought on “व्यर्थ कर्म : ज्या, व्यर्थै गरिएछ नि !

  1. हाम्रा कर्महरु हाम्रा विचारले निर्देशित हुन्छन् र हाम्रा विचारका स्रोत भनेका हाम्रै अवचेतन मनमा रहेका मूल्य मान्यता अनि विश्वासहरु हुन् । आत्म बोध र आत्म अवलोकनले हाम्रै मनमा जमेका मूल्य मान्यता अनि विश्वासहरुको शुद्धिकरण नगरि असल वा निष्काम कर्मको उपेक्षा गर्नु मुर्खता हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *