कोशीमा अस्थिर सत्ता राजनीति: नौ महिनामै चार पटक फेरिए मुख्यमन्त्री – Nepal Press

कोशीमा अस्थिर सत्ता राजनीति: नौ महिनामै चार पटक फेरिए मुख्यमन्त्री

विराटनगर । कोशी प्रदेशमा ९ महिनामा चार पटक मुख्यमन्त्री फेरिएका छन् । नौ महिनाको अवधिमा हिक्मतकुमार कार्की र उद्धव थापाले दुईदुई पटक मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन् । यस अवधिमा कोशीमा १८ मन्त्री र २ जना राज्यमन्त्री नियुक्त भएका छन् । १८ मन्त्रीमध्ये केहीमात्रै दोहोरिए ।

प्रदेशसभाको दोस्रो निर्वाचन भएसँगै पुस २४ गते नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई एमालेक ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाको १ जना प्रदेश सांसदले समर्थन गरेका थिए ।

यसबीच जसपाले जेठ १८ र माओवादी केन्द्रले २१ गते समर्थन फिर्ता लिएसँगै कार्की नेतृत्वको सरकार अल्पमतमा परेको थियो । जसअनुसार असार १५ गते प्रदेशसभामा विश्वासको मत लिँदा कार्की अल्पमतमा परे र उनको सरकार ढलेको थियो । विश्वासको मत पाउन ४७ सदस्य आवश्यक पर्थ्यो तर, उनलाई ४६ प्रदेशसभा सदस्यले मात्रै विश्वासको मत दिएका थिए ।

एमाले संसदीय दलका नेता कार्कीले विश्वासको मत पाउन नसकेपछि नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा असार २१ गते मुख्यमन्त्री नियुक्त भए । संविधानको धारा १६८ (२) अन्तर्गत दुई या २ भन्दा बढी दलहरूको समर्थनमा प्रदेश प्रमुखद्वारा मुख्यमन्त्री नियुक्त भएका थापालाई सर्वोच्च अदालतले पदबाट मुक्त गरिदियो ।

उनलाई सर्वोच्च अदालतको साउन ११ गतेको फैसलाले पदबाट बर्खास्त गरेको थियो । बहुमत देखाउने नाममा उनले सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रदेश प्रमुखसमक्ष पेस गरेका थिए ।

सभामुखको समेत हस्ताक्षर देखाएर मुख्यमन्त्री नियुक्त भएको भन्दै एमाले संसदीय दलका नेता कार्की असार २२ गते रिट लिएर सर्वोच्च गएका थिए । उनको रिटउपर सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले थापालाई मुख्यमन्त्री नियुक्त गर्ने सबै निर्णय बदर गर्दै साउन १७ गतेभित्र नयाँ सरकार गठन गर्न आदेश दिएको थियो ।

पहिलो पटक सर्वोच्चले पद मुक्त गरेपछि सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर आर्थिक मामिला तथा योजनामन्त्री बनाउँदै थापा दोस्रो पटक साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

भदौ ४ मा विश्वासको मत लिने क्रममा सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले विश्वासको मत दिएपछि एमाले पुनः सर्वोच्च गयो । भदौ ६ गते सर्वोच्चमा रिट दायर गरेका एमाले संसदीय दलका नेता कार्कीको माग दाबीअनुसार सर्वोच्चले फैसला गर्‍यो ।

उनको माग दाबीअनुसार मन्सुरीले मत हालेको विषय असंवैधानिक ठहर गर्दै थापालाई सर्वोच्चले दोस्रो पटक भदौ २१ गते पदमुक्त गरेको छ । सर्वोच्चले संविधानको धारा १६८ (३) अनुसार प्रदेशसभाको ठूलो दलको हैसियतले एमाले संसदीय दलका नेता कार्कीलई मुख्यमन्त्री नियुक्त गर्न परमादेशसमेत दियो ।

परमादेशअनुसार कार्की भदौ २२ गते दाेस्राे पटक कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । उनले ३० दिनभित्र संविधानको धारा १६८ (४) अनुसार विश्वासको मत लिनु पर्नेछ ।

राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले एमालेलाई विश्वासको मत दिने बताएका छन् । तर, सत्ता गठबन्धनमा आवद्ध दलहरुले भने परमादेशी सरकारलाई विश्वासको मत नदिने बताएका छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री उद्धव थापाले अहिले नै विश्वासको मत दिने आधार तय नभएको बताए । यसका लागि शीर्ष नेताहरू राजी र तयार हुनुपर्ने उनको भनाइ छ ।

मुख्यमन्त्री कार्की भने सहमतीय सरकारको पक्षमा छन् । तर, उनले भने जस्तो सहमति हुने अवस्था छैन । सहमति कसरी बन्छ ? माओवादी प्रदेशसभा सदस्य गणेश उप्रेती भन्छन्, ‘आफू मुख्यमन्त्री हुँदा सहमतिको कुरा गर्ने, अरू सरकारमा हुँदा अदालत कुद्ने पाराले सहमति हुँदैन ।’

नौ महिनाभित्र १८ मन्त्री र २ राज्यमन्त्री

कोशीमा नौ महिनामा ४ पटक मुख्यमन्त्री फेरिँदा १८ मन्त्री र २ जना राज्यमन्त्री भएका छन् । मन्त्री भएकामध्ये कोही १९ दिनमात्रै मन्त्री बनेका छन् । कांग्रेसका तर्फबाट मन्त्री भएका उदयपुरका प्रदेशसभा सदस्य रामकुमार खत्रीले १९ दिनमात्रै मन्त्रीको जिम्मेवारी पाएका थिए । उनले मन्त्रालयको जिम्मेवारी भने पाएनन् ।

यस्तै माओवादीबाट मन्त्री भएका सङ्खुवासभाबाट निर्वाचित राजेन्द्र कार्कीले पनि जिम्मेवारीविना नै मन्त्री पद छोड्नुपर्‍यो । खत्री र कार्की असार २४ गते विनाविभागीय मन्त्री भएका थिए । १८ जनामध्ये तिलकुमार मेन्याङ्वो, जीवन आचार्य र निर्मला सुब्बा दुई कार्यकाल मन्त्रीमा दोहोरिएन पाएका छन् ।

कार्की नेतृत्वको सरकारमा पहिलो पटक मन्त्री भएका मेन्याङ्वो अहिले फेरि कार्की दोस्रो पटक मुख्यमन्त्री हुँदा पनि दोहोरिएका छन् । उनले खानेपानी सिंचाइ, ऊर्जा तथा स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेका छन् ।

कार्की नेतृत्वको सरकारमा उद्योग पर्यटन तथा वन मन्त्री भएका जीवन आचार्य उद्धव थापा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री भएका थिए। यस्तै कार्की नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री भएकी निर्मला सुब्बाले थापा नेतृत्वको सरकारमा पनि स्वास्थ्यमन्त्री नै बन्ने अवसर पाइन् ।

कार्की नेतृत्वको सरकारमा एमालेका बुद्धिकुमार राजभण्डारी, माओवादीका दुर्गाप्रसाद चापागाईं र राप्रपाका भक्ति सिटौला मन्त्री भएका थिए ।

पहिलो पटक असार २१ गते मुख्यमन्त्री भएका कांग्रेस संसदीय दलका नेता थापा र उनीसँगै शपथ लिएका मन्त्रीहरू प्रदीप सुनुवार र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जवेगु साउन ११ सम्म २२ दिनमात्र मन्त्री बने ।

त्यसपछि साउन १६ गते प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) बमोजिम नै कांग्रेस नेता थापालाई दोस्रो पटक मुख्यमन्त्री नियुक्त गरे । थापा नेतृत्वको सरकारमा मन्त्री बनेका बाबुराम गौतम, कमलप्रसाद जबेगु र प्रदीप सुनुवार ३७ दिन पदमा बहाल रहे । जसपाबाट मन्त्री भएकी निर्मला लिम्बू २८ दिन दोस्रो पटक मन्त्री बनिन् ।

प्रदेशसभाको अध्यक्षता गर्नुपर्ने बाध्यता टार्न राज्यमन्त्री बनेका कांग्रेस नेता गयानन्द मण्डल २३ दिनमात्र मन्त्री पदमा कायम रहे ।

दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त कार्कीले भदौ २२ गते ३ मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गरेका छन् । कार्कीले मेन्याङ्वो, एकराज कार्की र पाँचकर्ण राईलाई मन्त्री नियुक्त गरेका हुन् । यस्तै सिर्जना राईलाई राज्यमन्त्री नियुक्त भएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर