भुवन केसीको प्रष्टीकरण- विकास बोर्डले सेन्सर रोक्दैन, रोक्न मिल्दैन – Nepal Press

भुवन केसीको प्रष्टीकरण- विकास बोर्डले सेन्सर रोक्दैन, रोक्न मिल्दैन

‘नामका विषयमा परेको निवेदनबारे सुरूमै निर्माण पक्षलाई जानकारी गराएको हुँ’

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन कसीले ‘एक भगवत गीता’ को सेन्सर बोर्डले नरोकेको दावी गरेका छन् । दुवै पक्षलाई सहमतिमा ल्याउन मात्र आफूले प्रयास गरेको उनको भनाइ छ ।
आज बोर्डमा आयोजित सामूहिक छलफलमा बोल्दै केसीले सो चलचित्रको नाम बाहिर आउनासाथै बोर्डमा निवेदन परेको बताए ।

‘यो नाम उपयुक्त हुँदैन भनेर बोर्डमा निवेदन आएको थियो । मैले निर्देशक झरना थापालाई जानकारी पनि गराएको थिएँ । उहाँले हिन्दू धर्ममा आँच आउने कुनै पनि विषयवस्तु चलचित्रमा नरहेको भनेर आश्वस्त तुल्याउनु भयो,’ उनले भने ।

चलचित्रको निर्माण इजाजत दिने अधिकारी विकास बोर्डसँग भए पनि चलचित्र कस्तो छ भनेर हेर्ने अधिकार आफूहरुसँग नरहेको केसीको भनाइ छ ।

‘चलचित्र हेर्ने जिम्मेवारी सेन्सर बोर्डको हो । हामीले सेन्सरका लागि सिफारिस दिने हो । सिफारिस रोक्ने अधिकार विकास बोर्डलाई छैन । हामीले रोकेका पनि होइनौं,’ उनले भने ।

केसीले थपे, ‘सेन्सर सिफारिस रोकियोस भनेर गुरुहरू आउनुभयो । नरोकियोस् भनेर निर्माण पक्षले माग गर्‍यो । यस्तो सेन्सेटिभ विषयमा निर्णय लिन हामीले केही समय मागेको हो । तर, रोकेको भनेर प्रचार गरियो । हामीलाई एकपटक पनि नसोधिकन सञ्चारमाध्यमले समाचार बनाए ।’

बोर्ड अब कार्यविधिअनुसार चल्ने उनले प्रष्ट पारे । आफू पनि एक निर्माता भएकाले निर्माताको भावना बुझ्ने, तर बोर्डको अध्यक्षका रुपमा भावुक बन्न नमिल्ने केसीले बताए ।

‘मैले सकेसम्म दुवै पक्षलाई सहमतिमा ल्याउने प्रयास गर्ने हो । त्यो नभएमा हामी कार्यविधिअनुसार चल्छौं । सेन्सर सिफारिस रोकिँदैन,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *