मुकुन्दसँगै गुम्यो वडा नम्बर १६ मा कांग्रेसको नेतृत्व, बाँकी चारै सदस्य एमालेका – Nepal Press

मुकुन्दसँगै गुम्यो वडा नम्बर १६ मा कांग्रेसको नेतृत्व, बाँकी चारै सदस्य एमालेका

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनपछि कांग्रेसको सो वडाको नेतृत्व गुमाएको छ । रिजालको निधनसँग कांग्रेसले वडा नम्बर १६ मा कांग्रेसको नेतृत्व गुमेको हो ।

काठमाडौं ७ का क्षेत्रीय सभापतिसमेत रहेका रिजालले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय थिए । कांग्रेस कमजोर रहेको कामनपा १६ मा रिजाल व्यक्तिगत लोकप्रियताकै कारणले दुई पटक निर्वाचित भएका थिए ।

वडा नम्बर १६ मा मुकुन्दअघि सधैँ एमालेले जितेको थियो । एमालेबाट रामवीर मानन्धर २०४९ र २०५४ मा वडाध्यक्ष जितेका थिए । पञ्चायतकालमा पनि तत्कालीन नेकपा मालेनिकट जनपक्षीय उम्मेदवारले जित्थे ।

गत स्थानीय तहको निर्वाचनमा रिजालले ४ हजार १९ मत ल्याएर विजयी बनेका थिए । उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार लक्ष्मीरत्न तुलाधारले ३ हजार ३१० मत मात्रै ल्याएका थिए ।

यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमार्फत जित हासिल गरेका रिजालले विकास निर्माणको कामलाई सक्रियता देखाएका थिए । अध्यक्षमा दोस्रो पटक रिजाल निर्वाचित भएपनि वडाका चारै सदस्यमा एमालेले जितेका छन् ।

यहाँ महिला सदस्य शारदा सुवेदी, दलित महिला सदस्य मनिता विश्वकर्मा (दियाली), सदस्य पुष्प महर्जन र सदस्य हर्कबहादुर खाती एमालेबाट निर्वाचित हुन् ।

वडाध्यक्ष रिजाल पछिल्लो कार्यकालमा प्रमुख बालेन शाहसँगको सम्बन्धको कारणले पनि चर्चामा थिए ।

सरस्वती क्याम्पसमा अध्ययनरत रहँदा नेपाल विद्यार्थी संघमा आवद्ध भई राजनीतिक यात्रा प्रारम्भ गरेका रिजालले मानव अधिकारवादी संघ संस्थामा समेत आवद्ध भएर काम गर्दै आएका थिए । उनको निधनले पार्टीले एक होनाहार नेतृत्वलाई गुमाएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर