बागबजारे कथित मार्क्सवादीहरु ! जसको ‘समाजवाद’ टुकुचाको ढलमा जन्मन्छ – Nepal Press

बागबजारे कथित मार्क्सवादीहरु ! जसको ‘समाजवाद’ टुकुचाको ढलमा जन्मन्छ

डिस्क्लेमर* :- यो आलेख बागबजारको चिया पसलबाट समाजवाद ल्याउन कसरी सम्भव छ भन्ने विषयमा केन्द्रित छ । तर, मार्क्सवादको विरोधमा भने लेखिएको होइन । मार्क्सवादले जुन सपना देख्छ, त्यो सपनालाई भजाएर खाने ‘कथित मार्क्सवादी’हरुको चरित्रलाई उदांगो बनाउन यो लेख लेखिएको हो ।

केही दिनअघि नेपाल प्रेस डटकममा मेरा ‘बागबजार’ शीर्षकका तीन कविता छापिए । ती कविता प्रकाशित भएपछि बागबजारे मार्क्सवादीहरुको प्रश्न ममाथि तेर्सिए-

‘तपाईँका कविता साँच्चै कविता हुन् त सुरज जी ?’

‘तपाईँले कवितै भनेर लेख्नु भएको हो त ?’

बागबजारे प्रतिनिधिले ममाथि तेर्साएका प्रश्नमा मैले प्रतिप्रश्न गरेँ, ‘तपाईंहरुलाई मन परेको कुनै कविताको कुनै एक पङ्क्ति सुनाउनुहोस् न ।’

तर, बागबजारे प्रतिनिधिहरू जवाफविहीन बने । उनीहरूको जवाफविहीनताले के प्रष्ट भएँ भने बागबजार अरूलाई आरोप लगाउन मात्रै उद्यत हुन्छ जहिल्यै । जो आफूजस्तो छैन, त्यसलाई ‘वाम होइन’ भनेर घोषणा नै गरिदिन्छन् । जो वाम होइन, त्यो त झनै ‘बदनाम’ हो भनेर स्वघोषणा गरिदिन्छन् ।

मेरा कविताहरू साँच्चै कविता थिए या थिएनन्, त्यो पाठकको जिम्मा भयो । तर, मेरा कवितामाथि उठेका प्रश्नहरूको जवाफ चाहिँ दिएँ, ‘अमेरिकी साम्राज्यवाद मुर्दावाद, दलाल पूँजीवाद मुर्दावाद, शैक्षिक माफिया मुर्दावाद, वैज्ञानिक समाजवाद जिन्दाबाद भनिएजस्तो दमदार चाहिँ छैन । तर, पनि ती कविता नै हुन् । किनकि जसरी बागबजारले घोषणा गर्‍यो कि आन्दोलन भनेकै ऊ हो र ऊ भनेकै आन्दोलन हो । त्यसरी नै मैले घोषणा गरेँ कि कविता भनेकै म हो र म भनेकै कविता हो । बाँकी कुरा पाठकले अनुभूत गर्लान् । विश्लेषण गर्लान् । समालोचना गर्लान् । सबै जिम्मा पाठकको । खास कुरा के भने समसामयिक बिग्रँदो वाम चरित्रलाई मिहिन रूपले अनुभूत गर्ने अधिकार लेखकलाई छ र त्यही सूक्ष्म अनुभूति कवितामा व्यङ्ग्यका रूपमा प्रकट भएको हो ।’

खैर, मूल मुद्दा के हो भने समाजको तत्कालीन आवश्यकता के हो ? र दीर्घकालीन आवश्यकता के हो ? साथै समाधानको प्राथमिकता कता हो ?यी कुरा निर्धारण नै नगरी प्रारम्भिक संरचना नै विभेदपूर्ण छ भनेर गाली फलाकेर समाजवाद आउँदैन भन्ने कुरामा पङ्तिकार ढुक्क छ ।

‘बागबजार’लाई विम्ब मान्ने हो भने नेपालमा २००६ सालदेखि निरन्तर विचार निर्माणको काम भइरहेको छ । त्यसवेला पुष्पलाल श्रेष्ठहरूले विचार निर्माणको काम गरे । अहिले बागबजारेहरुले पुष्पलालहरुले निर्माण गरेको विचारको ठेक्का लिइरहेका छन् । यदि पुष्पलालहरुलाई आदर्श मानेर जाने हाे भने अहिले ७४ वर्षसम्ममा त्यो विचार हात्ती जत्रो बन्नु पर्ने थियो ।

दुर्भाग्य ! त्यो विशाल विचारलाई कमिलाले पहाड धकेले जस्तो गर्दैछ ‘बागबजार’ले । अहिलेको बागबजारे वाम विचार हात्ती बन्ने कुरा स्वैरकल्पनामा मात्रै सम्भव छ । हकिकतमा सम्भव छ भन्ने आम मान्छेलाई लाग्दैन । ज–जसलाई लाग्दैन ती मान्छे निराशावादी हुन् भन्ने बागबजारले बोकिरहेको ‘भ्रम’लाई लाग्छ । त्यसपछि केपी ओलीलाई पनि बडो ताजुब लाग्छ ।

बागबजारका उत्पादनले ‘बुर्जुवा शिक्षा खारेज गर’ भनेर नारा लगाए । ‘शैक्षिक माफिया मुर्दावाद’ भनेर नारा लगाए । एलएमा गएर चन्दा उठाएर एलएमा नै आफ्ना छोराछोरी पढाए । र वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गरे ।

यता मोटाघाटा नव मार्क्सवादीलाई युरोप, अस्ट्रेलिया, जापान, जर्मन, अमेरिका तथा क्यानडामा पुगेर अन्तर्राष्ट्रिय समाजवादी क्रान्ति सम्पन्न गर्ने कार्यभार सुम्पियो बागबजारले । उता दुब्ला, मरन्च्याँसे तथा ख्याउटे मार्क्सवादीलाई अरब, कतार, दुबई, मलेसिया, यमन तथा कुवेतमा पुगेर नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्ने जिम्मेवारी थोपरिदियो बागबजारले । यसरी नेपालमा २००६ देखि निर्माण हुँदै आएको क्रान्तिकारी विचारधाराले वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गरेर ‘समृद्ध नेपाल सुखी नेपाली’ जीवनशैलीलाई प्राप्त गर्‍यो ।

बागबजारसँग आत्मरतिमा रमाउनका लागि आन्दोलनको ऐतिहासिक विरासत त छ । तर, गर्व गर्न लायक वर्तमान छैन । छन् त दुनियाँलाई भिराउन प्रशस्त ट्यागहरू छन् बागबजारसँग । जस्तो: संशोधनवादी, सांसदवादी, दक्षिणपन्थी, संकीर्णपुरातनवादी आदि आदि । कथित बागबजारले भनेजस्तो संरचनामा जो छैन, उसले यस्ता ट्यागहरू भिर्नुपर्ने बाध्यता छ ।

वर्तमान शिक्षा प्रणालीलाई ‘बुर्जुवा शिक्षा’ करार गरेर विकल्पमा मार्क्सवादी विश्वविद्यालय बागबजारमा खुलाइएको छ । जहाँ युवा मार्क्सवादी,स्वघोषित अर्थशास्त्री, प्रोफेसर, डाक्टर,कथित गुरु श्री श्री श्रीले दास क्यापिटलमाथि प्रवचन दिनु हुनेछ । त्यो दिव्य प्रवचन सुनेर हामी मोक्षका निम्ति प्राप्त भएनौँ भने हामी दक्षिणपन्थी करार भइजान्छौँ ।

साँझमा हावा खाएर पेट भरिँदैन । आखिरमा हामीले पेट भर्न यही बुर्जुवा शिक्षाको सर्टिफिकेट बेच्नुपर्छ । बिहानबाट बेलुकासम्म धस्सिनुपर्छ । के बागबजारका प्रतिनिधिहरूले बुर्जुवा शिक्षाले दिएका आफ्ना सर्टिफिकेट च्यात्न सक्ने हुन् त ? सक्दैनन् । उनीहरू त केवल अवसर खोजेर बसेका छन्,फ्याट्ट क्यानडामा अन्तर्राष्ट्रिय समाजवादी क्रान्ति सम्पन्न गर्नका लागि ।

मार्क्सवादी, धुरन्धर तर्कशास्त्री, विद्वान तथा क्रान्तिकारी नेतृत्वले आफ्ना छोराछोरीलाई महँगा बोर्डिङ स्कुलमा पढाएर असल मान्छे बनाउने, यता जनताका छोराछोरी नेताको झोला बोकेर घगडान क्रान्तिकारी बनिदिनु पर्ने ? यस्तो पनि हुन्छ ? कहाँको मार्क्सवाद पढायो बागबजारले ? के आफ्ना सन्तानका लागि चाहिँ समाजवाद नचाहिने हो ?

अनि यही बागबजारले वैज्ञानिक समाजवादी क्रान्ति गर्छ भनेर हामीले पत्याइदिनु पर्ने ? काठमाडौं बाहिरबाट सुनौलो भविष्यको सपना बोकेर आरआर, ल, शंकरदेव, विश्वभाषा, पिके, त्रिचन्द्र पढ्न आउने जनताका छोराछोरीलाई आफ्ना स्वैरकल्पनामा जीवित वैज्ञानिक समाजवादको सपना बाँडेर, बाबाआमाले कुटो कोदालो गरेर पढ्न पठाएको पैसाले मार्क्सवादी ठेली किनाएर, भोलि अथवा पर्सी नै क्रान्ति सम्पन्न हुनेजस्तो आश्वासन बाँडेर ती कलिला युवाको जिन्दगी किन बर्बाद गर्दैछ बागबजार ?

बाबाआमाले जिन्दगीका कष्ट झेलेर काठमाडौं पढ्न पठाएको छोराछोरीले सात महिनामा हेगेलदेखि चेसम्म, आदिम साम्यवाददेखि वैज्ञानिक समाजवादसम्म, समाज, इतिहास, राजनीति, दर्शन, विज्ञान सबै पढेर फलाक्न भ्याउँछ तर, ब्याचुलर सात वर्षमा पनि कटाउँदैन, किन ? किनकि उसलाई बागबजारले ठुलो ठुलो स्वरमा गाली गर्न, धम्क्याउन र चन्दा उठाउन तयार पार्‍यो । न कि स्वरोजगार र श्रम गरेर बाँच्नका लागि, शिक्षा र सीप सँगसँगै सिक्नका लागि तथा आत्मविश्वासका साथ उत्पादनमा जोडिनका लागि सिकायो ।

बागबजारको उत्पादन भनेको आउटडेटेड नारा फलाक्नु, धम्काएर चन्दा उठाउनु, चन्दा ल्याएर नेतृत्वलाई चढाउनु, नेतृत्वप्रति भक्ति प्रदर्शन गर्नु, नेताको झोला बोक्नु हो । बागबजारले जिन्दाबाद भन्दा जिन्दाबाद भन्नु र मुर्दावाद भन्दा मुर्दावाद भन्नु नै सबैभन्दा ठुलो उत्पादन ठानेर रमाइरह्यो ।

समाज भनेको विभिन्न विचारहरूको खिचडी हो । त्यहाँ अनेक विचारहरूको अस्तित्व छ र समाज छ । आफ्नो भन्दा भिन्न विचारलाई निषेध गरेर, विद्वेष र शत्रुतापूर्ण व्यवहार गरेर, जागिर गर्नेहरू दलाल हुन्, ठुलो घर हुने शत्रु हो, गाडी चढ्ने दुस्मन हुन्, जनै लाउने चोर हुन्, मन्दिर जाने ढोङ्गी हुन्, पेशा गर्ने शोषक हुन् भनेर ती कलिला मस्तिष्कमा के भर्दैछ बागबजार ?

बाउले आमालाई ‘तँ’सम्बोधन गरेको भरमा बाउलाई पितृसत्ताको हिमायती घोषित गर्छन् । बिहानदेखि बेलुकासम्म स्कुलमा पढाएर स्वनिर्भर बनिरहेको साथीलाई शैक्षिक माफिया र दलाल भनेर ‘समाजवाद’ आउने भए त यस्ता महायज्ञ बागबजारमा १००८ पटक भइसक्यो ।

अब बागबजारले घोषणापत्रको रुद्रीपाठ बन्द गराउनुपर्छ । सपनाहरूको समाधी बनाउन बन्द गर्नुपर्छ । बारीमा फलेका राम्रा राम्रा सुन्तला मुख मिठ्याउँदै बेचेर, आफू महीमा पानी हालेर पिएर, बजारमा घिउ बेचेर काठमाडौंमा कलेज पढाइरहेको बाउलाई पितृसत्ताको पहरेदार भन्न लगाएर उनीहरूको शैक्षिक भविष्य बर्बाद पारिदिन बन्द गर्नुपर्छ ।

बागबजारमा बसेर ठूल्ठूला कुरा गरेर गफमा समाजवाद ल्याउनु केही अल्छीहरूको बसिबियाँलो होला । उनीहरूको काम होला त्यो । तर, जनताका छोराछोरीको सुनौलो भविष्य बर्बाद गर्ने गरी उनीहरूको समय खाइदिनु चाहिँ अपराध हो । बागबजार सच्चिनु जरुरी छ । अहिले हामी सबै मिलेर बागबजारे ढोँगीहरुले ल्याउने समाजवादको मलामी जाने वेला भयो । साह्रै दुर्गन्ध फैलियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *