बालेन, के छैन तिम्रो शहरमा ? – Nepal Press

बालेन, के छैन तिम्रो शहरमा ?

तिमी मेयर भयौ,
तिम्रो चर्चा छ
तिमीसँगै तिमिले चलाएको
बुल्डोजरको चर्चा छ ।

साँझमा बल्दा बिजुली
झलमल्ल, उज्यालो देखिन्छ
झरि परेर उघ्रिएको मौसममा
गगनचुम्वी महल भव्य र आकर्षक देखिन्छन् ।

व्यस्त छ, सडक…
पैदलयात्री ठेलिएर/पेलिएर
हिडिरहन्छन् फुटपाथमा
सुत्दैन रातको १२ बजेसम्मै
भालेको डाको अघि उठिसक्छ ।

०००

यही व्यस्ततालाई, यही कोरा सुन्दरतालाई
शौम्य शहर भन्दै त छैनौं ?
साझको बत्तीले भिलिमिलि देखिएजस्तो,

अग्ला-अग्ला महलको टुप्पाबाट नियाल्दा
मनोमोहक देखिएजस्तै छ र शहर ?
भोको पेट पाल्न सडकमा गाउने
मगन्तेप्रति दया नजाग्नेहरु
हजारौं उडाउँछन् रेष्टुराँ र बारहरुमा

हिड्नलाई फुटपाथ छैन
मुख थुन्नु पर्छ, दुर्गन्धले

०००

पूजा अर्चना गर्न जाँदा
मन्दिर, शक्तिपीठहरुमा
भक्तजनहरुका जुत्ता हराउँछन्

भान्छामा सकिँदा नुन
पैंचो चल्दैन, छिमेकीको ।
गाडी चढ्दा जेव काटिन्छन्,
अगाडीको कोठामा शोक पर्दा
पछाडी भोज चल्छ ।

पहिले घर बनाएर,
खोलामाथि सडक बनाएर
भव्य विकास गरियो ।
अहिले घर भत्काएर, सडक भत्काएर
खोला बनाएर विकास गरिदैछ ।

०००

बाहिर निस्कदा वर्षात्मा
बढीले बगाउँछ, हिउँदमा धूलोले ढाक्छ
विद्यालय गएको बच्चो सडकको भेलसँगै बग्छ
दशक पहिले थालेको अधुरो फ्लाइ ओभर
दैनिक पैदल यात्रुलाई गिज्याइरहन्छ,

विभिन्न कोण प्रतिकोणबाट
मानवता र स्वाभिमानको
बलात्कार गरिरहन्छ ।
भन त बालेन, के हुँदैन, तिम्रो शहरमा ?

०००

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *