म्याच प्रिभ्यू: दबाबमुक्त नेपाल, भयमुक्त पाकिस्तान – Nepal Press
एसिया कप

म्याच प्रिभ्यू: दबाबमुक्त नेपाल, भयमुक्त पाकिस्तान

यस्तो छ, दुवै टीमको सम्भावित प्लेइङ ११

काठमाडौं । र, प्रतिक्षाको घडी समाप्त भएको छ । नेपाली राष्ट्रिय टीमले इतिहासमै पहिलो पटक क्रिकेटको एउटा महाशक्ति राष्ट्रसँग भिड्दैछ भोलि । यो क्षणका लागि नेपाली क्रिकेटप्रेमीले लामो समयदेखि सपना देखेका थिए ।

क्रिकेटमा नेपालभन्दा धेरै बलियो राष्ट्र हो पाकिस्तान । उसले एक दिवसीय विश्वकप, टी-२० विश्वकप र च्याम्पियन्स ट्रफी जस्ता प्रतियोगिताहरु जितिसकेको छ । भर्खरैमात्र पाकिस्तान एक दिवसीय क्रिकेटको विश्व वरियतामा एक नम्बरमा उक्लियो । अर्थात्, नेपाल विश्वको नम्बर एक क्रिकेट टीमविरुद्ध भिड्दैछ ।

स्वाभाविक रुपमा पाकिस्तान जीतको दावेदार हो । यसलाई ९०ः१० को प्रतिस्पर्धा मान्दा पनि हुन्छ । तर, क्रिकेट सबैभन्दा अनिश्चितताको खेल पनि हो । र, पाकिस्तान अनिश्चित क्रिकेट खेल्न कहलाएको छ । एक दिन ऊ उत्कृष्ट क्रिकेट खेल्छ भने अर्को दिन साह्रै झूर पनि खेल्छ । कहिले आफूभन्दा बलियो टीमलाई सहज रुपमा हराउँछ, कहिले निकै कमजोर टीमसँग पनि लज्जास्पद हार व्यहोर्छ । यदि भोलिको म्याचमा पाकिस्तानको कमजोर रुप प्रकट भयो भने नतिजा केही भन्न सकिन्न ।

नेपाली क्रिकेट भने यतिबेला अहिलेसम्मकै उचाइमा छ । विश्वकप लिग २ मा नेपालले अविश्वसनीय रुपमा पछिल्ला १२ मध्ये ११ वटा खेल जित्यो । घरेलु मैदानमा एसीसी प्रिमियर कपमा विजेता हुँदै नेपाले एसिया कपमा स्थान बनाएको हो । अर्थात, नेपालले कुनै आरक्षण पाएर वा कागताली परेर एसिया कप खेल्न पाएको होइन । आफ्नो स्थान आफैंले संघर्ष गरेर बनाएको हो ।

नेपाली खेलाडीका लागि एसिया कप खेल्नु सपनाभन्दा कम होइन । तर, अब त्यसो भनेर खेलाडीहरु मैदानमा मखलेल ट्वाल्ल पर्नेवाला अवश्य छैनन् । खेल्नु नै ठूलो कुरा हो भने सुरुमै पराजित मानसिकतामा उत्रिने छैनन् । समर्थक चाहन्छन्, कम्तीमा पनि प्रतिस्पर्धात्मक क्रिकेट खेलोस् नेपाली टीमले । सहजै आत्मसमर्पण नगरून् ।

नेपाली टीमसँग यतिबेला उत्साह छ, आत्मविश्वास छ, प्रतिभा छ र स्थिरता पनि छ । टीममा हरेक विशेषताका खेलाडीहरु छन् । टीमको ब्याटिङ पंक्ति निकै लामो छ । १० नम्बरसम्म आउनेले मज्जाले ब्याट चलाउन सक्छन् । अलराउन्डरहरु टीममा भरपुर छन् । हार्ड हिटरहरु छन् । यदि केहीको कमी छ भने त्यो हो स्तरीय फास्ट बलरको । सोमपाल कामी र करण केसीको जोडीसँग अनुभव छ । तर, बलिङमा धार छैन । उनीहरुलाई पाकिस्तानी ब्याट्सम्यानले टार्गेट गर्ने निश्चित छ ।

पाकिस्तानको प्रमुख हतियार भनेको फास्ट बलिङ हो । साइन साह अफ्रिदी, ह्यारिस रफ र नसिम साहको ‘तिगडी’ ले जतिसुकै बलियो ब्याटिङ पंक्तिलाई पनि धराशायी बनाउन सक्ने क्षमता राख्छन् । यद्यपि, नेपालका लागि सन्तोषको पक्ष चाहिँ मुल्तानको पिचले फास्ट बलरलाई त्यति सहायता गर्दैन । फास्ट बलिङको तुलनामा पाकिस्तानको स्पिन अलिक फितलो छ । सदाब खान मुख्य स्पिनर हुन् भने इफ्तिकार अहमदले पार्टटाइम स्पिन गर्न सक्छन् ।

नेपालको चाहिँ मुख्य शक्ति नै स्पिन हो । सन्दीप लामिछाने र ललित राजवंशीको बललाई खुलेर खेल्न त्यति सजिलो हुनेछैन पाकिस्तानी ब्याट्सम्यानका लागि । साथमा दीपेन्द्रसिंह एैरीले पनि कसिलो १० ओभर फ्याक्न सक्छन् । नेपालले पाकिस्तानविरुद्ध आफ्नो बलिङ आक्रमण स्पिनमै केन्द्रित गर्नुपर्ने देखिन्छ ।

ब्याटिङको कुरा गर्दा पाकिस्तानसँग केही विश्वस्तरीय ब्याट्सम्यान छन् । लामो समयदेखि विश्व वरियताको एक नम्बरमा रहेका बाबर आजम पाकिस्तानी ब्याटिङका मुख्य खम्बा हुन् । इमाम उल हक र फकार जमानको ओपनिङ जोडी पनि निकै बलियो छ । फकार जमान क्रिजमा सेट भए भने खतरनाक रुप लिन सक्छन् । इमाम पनि निकै प्रतिभाशाली ब्याट्सम्यान हुन्, जो विश्व वरियताको तेस्रो नम्बरमा छन् ।

पाकिस्तानको मध्यक्रममा मोहम्मद रिजावन, आघा सलमान र इफ्तिकार अहमदले सम्हाल्नेछन् । सातौं नम्बरमा खेल्ने सदाव खान पनि आक्रामक ब्याट्सम्यान हुन् । उनले धेरै वटा म्याचमा पाकिस्तानको रेस्क्यु गरेका छन् ।

नेपालको ब्याटिङ पंक्ति स्थिर नै छ । धेरै चलाउनुपर्ने केही छैन । यद्यपि, तेस्रो नम्बरमा कसलाई खेलाउने भन्नेमा अलिकति संशय हुनसक्छ । अवस्था हेरेर भीम सार्की वा कुशल मल्लमध्ये एक जनाले तेस्रो नम्बरमा खेल्न सक्छन् ।

नेपालको ओपनिङ जोडी कुशल भुर्तेल र आसिफ शेख नै हुन् । कुशल राम्रो फर्ममा छन् भने आसिफ केही संघर्ष गरिरहेका छन् । उनीहरुले राम्रो सुरुवात दिएको खण्डमा तल्लो क्रमले खुलेर खेल्नसक्छ ।

नेपालको मिडल अर्डर एसोसिएट्सको स्तरमा सशक्त छ । रोहित पौडेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा जस्ता फरक फरक शैलीमा खेल्ने ब्याट्सम्यानहरु नेपालसँग छन् । पाकिस्तानसँगको खेलमा नेपालले दीपेन्द्रबाट बढी आश राखेको छ । उनी अनुभवी हुनुका साथै हालै ग्लोबल टी-२० मा केही विश्वस्तरीय बलरहरुको सामना गरेर फर्किएका हुन् । नेपालले आरिफ शेख र भीम सार्कीमध्ये एकलाई बेञ्चमा राख्नुपर्नेछ, ताकि ललित राजवंशीलाई अटाउन सकियोस् ।

नेपालको ब्याटिङ कुनै दुईतीन व्याट्सम्यानमा निर्भर छैन । फरक फरक म्याचमा फरक फरक खेलाडीले आफूलाई प्रुफ गर्दै आएका छन् । भोलिको म्याच भने सबै खेलाडीका लागि ठूलो अवसर हो, आफ्नो क्षमता देखाउने । यदि कुनै ब्याट्सम्यानले उत्कृष्ट इनिङ खेल्न सफल भएमा उनीहरु विश्व क्रिकेटकै नजरमा पर्न सक्छन् ।

एउटा कुरा के हो भने पाकिस्तानविरुद्धको म्याचमा नेपाललाई कुनै दबाब छैन । ‘जिते चमत्कार, हारे स्वीकार’को स्थितिमा नेपाली टीम छ । अर्कोतर्फ पाकिस्तानी टीम नेपाललाई सहजै हराउनेमा विश्वस्त छ ।

मुल्तानको पिच ब्याट्सम्यानमैत्री मानिन्छ । नेपालको त्रिवि मैदानको पिचसँग मिल्दोजुल्दो भएकाले नेपाली ब्याट्सम्यानहरुले खुलेर खेल्ने अपेक्षा गर्न सकिन्छ । अर्कोतर्फ पाकिस्तानको आफ्नो होम ग्राउन्डमा घरेलु दर्शकमाझ आफूभन्दा कमजोर टीमसँग खेल्दैछ । उनीहरु जीतमात्र भन्दा पनि ठूलो अन्तरको जीत चाहन्छन् ।

सम्भावित टीम

नेपाल

कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, ललितसिंह राजवंशी

पाकिस्तान

फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकिपर), आघा सलमान, इफ्तिकार अहमद, सदाब खान, फहिम अस्रफ/मोहम्मद नवाज, साहिन साह अफ्रिदी, नसिम साह, ह्यारिस रफ

– चिरञ्जीवी पौडेल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *