एक हजार रनको माइलस्टोन नजिक नेपालका तीन ब्याट्सम्यान, एसिया कपमा पूरा गर्लान् ? – Nepal Press

एक हजार रनको माइलस्टोन नजिक नेपालका तीन ब्याट्सम्यान, एसिया कपमा पूरा गर्लान् ?

काठमाडौं । नेपालले बुधबार पाकिस्तानसँग खेल्दै एसियाको सबैभन्दा ठुलो एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता एसिया कपको यात्रा थाल्दै छ । विश्व क्रिकेटका दुई बलिया टोली पाकिस्तान र भारतसँग नेपालले पहिलो चरणमै प्रतिस्पर्धा गर्नु छ । नेपाललाई यी खेलमा जित हात पार्नेभन्दा बढी अनुभव प्राप्तिको अवसरका रुपमा हेरिएको छ ।

सन् २०१८ मा पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त गरेको नेपाल त्यसयता अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल–आईसिसीका एसोसिएटले खेल्ने माथिल्लोस्तरका प्रतियोगिताहरुमा नियमित सहभागी भइरहेको छ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म नेपालका रोहित पौडेल र आसिफ शेखले मात्र एक हजार रन पूरा गरेका छन् ।

कप्तानसमेत रहेका रोहितले ५२ खेलमा एक सतक र ८ अर्धसतकसहित एक हजार ६ सय ६९ रन बनाएका छन् । उनी तीन खेलमा शुन्यमै आउट भएका थिए । यस्तै, विकेटकिपरसमेत रहेका प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखले ४१ खेलमा एक सतक र ९ अर्धसतकसहित एक हजार १ सय ८७ रन जोडेका छन् । उनी ५ पटक शुन्यमा आउट भएका छन् ।

अन्य ३ जना नेपाली ब्याट्सम्यान एक हजार एकदिवसीय अन्तर्राष्ट्रिय रन पुरा गर्ने स्थितिमा देखिएका छन् । कुशल भुर्तेल, आरिफ शेख र दीपेन्द्रसिंह ऐरी उक्त सफलताको नजिक छन् । यीमध्ये पनि कुशलले ९ सय ८६ रन जोडेका छन्। अब १४ रन जोडेको अवस्थामा उनको एक हजार रन पूरा हुने छ ।

कुशलले ४४ खेलमा एक सतक र ६ अर्धसतक बनाएका छन्। ६ खेलमा उनी शुन्यमै आउट भएका थिए। ४७ खेलमा ६ अर्धसतक बनाएका आरिफको ८ सय ७८ रन रहेको छ । उनी ४ पटक मात्र शुन्यमा आउट भएका थिए । दीपेन्द्रले ५० खेलमा एक सतक र तीन अर्धसतकसहित ८ सय ५७ रन जोडेका छन्। ३७ खेलमा ७ अर्धसतकसहित ८ सय ७६ रन जोडेका ज्ञानेन्द्र मल्लले हालै मात्र अन्तर्राष्ट्रिय खेलाडी जिवनबाट सन्याशको घोषणा गरेका थिए ।

उनीहरुभन्दा पछि रहेका कुशल मल्लको नाममा ६ सय २६ रन छ। उनले २७ खेलमा एक सतक र ४ अर्धसतक बनाएका छन्। अन्य नेपाली ब्याट्सम्यानले ५ सय रन छुन सकेका छैनन्। हालसम्म नेपालका लागि पारस खड्का, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, रोहित पौडेल र कुशल मल्लले मात्र एकदिवसीय अन्तर्राष्ट्रिय सतक बनाउन सकेका छन् । उनिहरु कसैले पनि एकपटकभन्दा बढी यस्तो सफलता प्राप्त गरेका छैनन् ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितले १० खेलयता अर्धसतकीय पाली पनि खेल्न सकेका छैनन् । यसबीचमा उनी दुईपटक मात्र दोहोरो अंक छुन असफल भएका थिए । रोहितले गत मार्चमा यूएईविरुद्ध ७७ रन बनाएयता अर्धसतक बनाउन सकेका छैनन् । आसिफले पछिल्ला १० खेलमा एक सतक र दुई अर्धसतक बनाएका छन् भने चारपटक शुन्यमा आउट भएका छन् ।

उनी पछिल्लो खेलमा नेदरल्यान्ड्सविरुद्ध शुन्यमा आउट भएका थिए। कुशल भुर्तेलले पछिल्ला १० खेलमा दुई अर्धसतक बनाएका छन् भने चारपटक दोहोरो अंक छुन असफल भएका थिए । यसबीचमा उनी गत जुनमा जिम्बावेविरुद्ध ९९ रन जोडेर आउट भएका थिए। आरिफले पछिल्ला १० खेलमा तीन खेलमा ब्याटिङ गर्नु परेन भने दुई खेलमा अर्धसतक बनाएका थिए ।

पछिल्ला दुई खेलमा भने उनी दोहोरो अंक छुन असफल भएका थिए। दीपेन्द्रले पछिल्ला १० खेलमा एकपटक मात्र अर्धसतक बनाएका छन् भने तीन खेलमा दोहोरो अंक छुन सकेका थिएनन् । एक खेलमा उनले ब्याटिङ नै गर्नु परेन ।

पछिल्लो खेलमा भने दीपेन्द्र आयरल्यान्डसँग खाता नखोल्दै आउट भएका थिए । कुशल मल्लले पछिल्ला १० खेलमा एक सतक बनाएका छन् भने तीन खेलमा दोहोरो अंक छुन सकेका थिएनन् । एक खेलमा ब्याटिङ नै गर्नु परेन। पछिल्लो खेलमा उनले आयरल्यान्डविरुद्ध ४४ रनको पाली खेलेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *