अध्यक्ष शौचालय गएको बेला सामुदायिक वनको चेक चोरी, २५ लाख चप्काएर होटल व्यवसायी सम्पर्कविहीन – Nepal Press

अध्यक्ष शौचालय गएको बेला सामुदायिक वनको चेक चोरी, २५ लाख चप्काएर होटल व्यवसायी सम्पर्कविहीन

कारबाहीको माग गर्दै पीडित पक्षकाे उजुरी

हेटौंडा । खाजा खाएर शौच गर्न गएको समयमा झोलामा भएको चेक चोरर २५ लाख रुपैयाँ आफ्नो खातामा हालेर मकवानपुरमा एकजना होटल व्यवसायी सम्पर्कविहीन भएका छन् ।

मकवानपुरको मनहरी गाउँपालिका-६ स्थित सिस्नेरीपाखा सामुदायिक वन उपभोक्ता समूहको चेक चोरी गरी २५ लाख रुपैयाँ अनधिकृत रुपमा आफ्नो खातामा हालेर मनहरी-६, डिपार्टमा दिदीबहिनी होटलका सञ्चालक लालकुमार थिङ सम्पर्कविहीन भएका हुन् ।

गत माघ १४ गते सिस्नेरीपाखा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष शिवकुमार बिक थिङकै होटलमा खाजा खाएर शौचालय गएको समयमा थिङले चेक चोरी गरी माघ १८ गते चेक काटेर वन समूहको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाताबाट आफ्नो नाममा कामना सेवा बैंकमा रहेको खातामा २५ लाख रुपैयाँ ट्रान्सफर गरेको पत्रकार सम्मेलनमार्फत विकले बताए ।

वन क्षेत्रमा कुवा तथा काठे पुल निर्माणपछि निर्माण व्यवसायीलाई रकम दिनको लागि समितिको बैठकको निर्णयबाट आफूले बिरामी कोषाध्यक्षको घरमै पुगेर हस्ताक्षर गरी आफूले पनि हस्ताक्षर गरी छाप लगाएर रकम लेख्ने स्थान बाँकी राखेको चेक थिङले चोरी गरी रकम निकालेर आफ्नो खातामा ट्रान्स्फर गरेको उनको भनाइ छ ।

बिकका अनुसार थिङले २ थान चेक चोरी गरी रकम वन समूहको रकम आफ्नो खातामा सारेका हुन् । काम सम्पन्न भइसकेकोले भुक्तानी दिने तयारी गरी समूहले बैठक बसेर निर्णय समेत गरिसकेको अवस्थामा चेक चोरी गरेर रकम झिकिदिएपछि आफूहरु समस्यामा परेको उनले बताए ।

चेक चोरी भएको र चेकबाट रकम झिक्ने मानिसको पहिचान भएपछि आफुहरुले प्रहरीमा चेक चोरीको मुद्दा समेत दायर गरेको प्रहरीको समन्वयमा पैसा फिर्ता गर्ने मौखिक सहमति भए पनि पैसा फिर्ता नभएपछि वन समूहले चैत ५ गते प्रहरीमा चोरी मुद्दा दर्ता गरेको उनले बताए ।

फागुन २० गतेसम्म पैसा फिर्ता गर्न सहमत भएका थिङले अहिले ज्यान मार्नेसम्मको धम्की दिएको अध्यक्ष विकको भनाइ छ । उनले चेक चोरीको घटनामा संलग्न थिङलाई तत्काल पक्राउ गरि आवश्यक कारबाहीको माग समेत गरेका छन्।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *