चलचित्र ‘दान्भी’मा पूजा शर्माको एक्सन अवतार – Nepal Press

चलचित्र ‘दान्भी’मा पूजा शर्माको एक्सन अवतार

काठमाडौं । नायिका पूजा शर्माको शीर्ष भूमिका रहेको फिल्म ‘दान्भी’को हाल धमाधम एक्सन दृश्यको छायांकन भइरहेको छ । काठमाडौंको नैकापमा सेट नै लगाएर यसको निर्माणपक्षले क्लाइमेक्सका दृश्यहरु खिचिरहेको छ ।

जहाँ, नायिका पूजा शर्माको एक्सनको दृश्य खिचिएको निर्देशक रुपेश तामाङले जानकारी दिए । फिल्ममा श्री श्रेष्ठले एक्सन निर्देशन गरिरहेका छन् ।

हरि लामा घलेको छायांकनमा तयार भैरहेको फिल्मका सह–निर्देशक नवराज शर्मा हुन् । फिल्ममा कथा रविना थापा मगरको छ भने पटकथा तथा संवाद संजोग रानाको छ । फिल्ममा अर्जुन पोखरेलेको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ ।

अनुप गदाल र देव मगरको लगानीमा तयार भैरहेको यो फिल्ममा कमला लिम्बु र गोकुल सुवेदी सह–निर्माताको रुपमा छन् ।

फिल्म ‘दान्भी’को क्लाइमेक्समा सय जना फाइटर प्रयोग गरिएको निर्देशक तामाङले जानकारी दिए । उनले भने, ‘फिल्मको क्लाइमेक्सका लागि हामीले निकै मेहनत गरिरहेका छौ । दर्शकले साउथ र बलिउड फिल्ममा देख्दै आउनुभएको उच्च तहको एक्सन नेपाली फिल्ममा पनि अब देख्न पाउनुहुनेछ ।’

फिल्मको क्लाइमेक्सका लागि ३ दिनदेखि काम गरिरहेकी नायिका पूजा शर्माले भनिन्–‘फिल्मको मेकरले एक्सनका लागि कुनै कसर बाँकी राख्नु भएको छैन । मैले पनि आफूले सकेको मिहिनेत गरिरहेको छु । आशा छ, दर्शकले नेपाली फिल्ममा एक्सनको नयाँ प्रयोग हेर्न पाउनुहुनेछ ।’ पूजाले एक्सनमा काम गर्न सजिलो नभएको समेत तर्क गरिन् ।

फिल्म ‘दान्भी’को प्रदर्शन मिति तय गरिएको छैन । तर, यो फिल्म आम दर्शकका लागि प्रतिक्षित बनिसकेको छ । फिल्ममा पूजाको साथमा नायक कुन्साङ बोमजोमले अभिनय गरिरहेका छन् । फिल्मको क्लाइमेक्स र केही एक्सनको दृश्य खिचेर यसको निर्माणपक्ष बाँकी दृश्यका लागि दार्जिलिङ प्रस्थान गर्नेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *