सात करोड ६५ लाखको कारोबार गर्दै नेपाल १७ औँ अन्तर्राष्ट्रिय घरेलु उद्योग महोत्सव सम्पन्न – Nepal Press

सात करोड ६५ लाखको कारोबार गर्दै नेपाल १७ औँ अन्तर्राष्ट्रिय घरेलु उद्योग महोत्सव सम्पन्न

काठमाडौं । सात करोड ६५ लाख रुपियाँ बराबरको कारोबार गर्दै नेपाल १७ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०८१ सम्पन्न भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा राजधानीको प्रदर्शनी मार्ग स्थित भृकुटीमण्डपमा बुधवारदेखि पाँच दिन चलेको घरेलु उद्योग महोत्सवमा दुई लाख ५३ हजार अवलोकनकर्ताहरूले अवलोकन गरेका छन् ।

महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले मेलामा प्रत्यक्ष÷अप्रत्यक्ष, अर्डर, बुकिङ गरिएका समेत गरी समग्रमा सात करोड ६५ रुपियाँ बराबरको कारोबार भएको जानकारी दिए ।

अर्थतन्त्र असहज भएको तथा अन्य चुनौतीहरूका बीच पनि उपभोक्ताहरूको स्वदेशी उत्पादन प्रति अपार माया देखिएको बताए ।

समापन समारोहमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नेपालको उत्पादन ‘ब्राण्डिङ’ गरेर विश्व बजारमा पुर्‍याउन सक्नुपर्ने र त्यसका लागि सरकारले पनि नीतिगत तथा प्रक्रियागत सहजीकरण गर्ने बताए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले स्वदेशी उत्पादन उपभोग गर्नका लागि उपभोक्तालाई उत्प्रेरित गर्नुपर्ने आवश्यकता औँल्याउँदै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा कसरी लैजान सकिन्छ भनेर सरकारले योजना बनाइरहेको बताए ।

आगामी आर्थिक वर्षको बजेटमा स्वदेशी कच्चा पदार्थ उत्पादन हुने र त्यसको प्रयोग गरेर उत्पादन गर्ने उद्योगलाई प्रवर्द्धन गर्ने गरी केही कार्यक्रम ल्याउने तयारी समेत रहेको जानकारी दिए ।

लघु, घरेलु, साना तथा महिला उद्यमीद्वारा उत्पादित स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनीको यो पटक १७औँ शृङ्खला हो ।

मुलुकभरका झण्डै छ लाख भन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरू र कृषि तथा मह व्यवसायमा संलग्न उद्यमीहरूलाई प्रतिविम्बित गर्ने प्रदर्शनीको मुख्य नारा “खोजौं नेपाली, रोजौँ नेपाली” र “नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौँ” भन्ने रहेको थियो ।

नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा टर्कीको सहभागिता रहेको प्रदर्शनीमा २५० वटा स्टलको व्यवस्था रहेको थियो ।

मेलामा काठ÷ढुङ्गा÷धातु कला, सेरामिक्स, भाँडाकुँडाहरू बाँस, वेतबाँस आदिबाट निर्मित सजावटका सामानहरू, गलैँचा, राडीपाखी पस्मिनाका वस्तुहरू तथा अन्य ऊनी कपडाहरू, अल्लो, लोक्ता, जुट र अन्य परम्परागत तरिकाबाट प्रशोधित प्राकृतिक रेशाद्वारा उत्पादित वस्तुहरू, नवीनतम प्रविधिहरू, नेपाली हाते कागजका वस्तुहरू, परम्परागत हस्तकलाका सामानहरू, अर्ग्यानिक मह, कृषि तथा वनमा आधारित उत्पादनहरू, शिक्षा, पर्यटन लगायतका सेवा प्रदायक संघसंस्थाहरु, वैकल्पिक÷नवीकरणीय ऊर्जा, सूचना प्रविधिमा आधारित प्रविधि तथा उपकरणहरू र अन्य औद्योगिक वस्तुहरू प्रदर्शन गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर