विष्णु पौडेलले जुराइदिएको ओली-रावल भेट, आफ्नै अध्यक्षसँग २० महिनापछि भयो यस्तो संवाद – Nepal Press

विष्णु पौडेलले जुराइदिएको ओली-रावल भेट, आफ्नै अध्यक्षसँग २० महिनापछि भयो यस्तो संवाद

कैलाली । मङ्सिर ५, २०७८ मा भीम रावलले १० औँ महाधिवेशनका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरे । थापाथलीस्थित तत्कालीन पार्टी कार्यालयमा ठाउँ नदिएको भन्दै पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेका रावलले त्यो दिन ओलीलाई फेरि अध्यक्षमा दाबी नगर्न आग्रह गरेका थिए ।

पार्टी अध्यक्ष र देशको प्रधानमन्त्री भएर गर्न सक्ने काम गरेको भन्दै उनले भनेका थिए , ‘उहाँ स्वयमले केही पहिले नेतृत्व हस्तान्तरण गर्ने र पुनः अध्यक्ष पदमा नदोहोरिने घोषणा गर्नु भएको हो । त्यसको सम्मानका लागि पनि उमेर र सबै दृष्टिकोणले परिपक्व भएकाले मैले अध्यक्षका लागि अग्रसर हुनु उचित सम्झिएको छु ।’

नेकपा हुँदाबाटै सुरु भएको ओली(रावल शीतयुद्ध त्यसयता अझै बढ्यो । १० औँ महाधिवेशन पछि त झन् ओली–रावलको भेटघाट मात्रै होइन फोन संवाद पनि रोकिएको थियो । करिब २० महिना पछि मङ्गलवार एकाएक उनीहरुबीच हार्दिकता देखियो । पार्टी कार्यालय च्यासलमा ओली र रावलले वान टु वान २ घण्टा बिताए । उक्त भेटघाटमा उनीहरुबीच देशको स्थिति, पार्टीको अवस्थाका विषयमा बढी छलफल भएको थियो ।

‘हाम्रो बीचमा भेट नभएको धेरै भएको थियो । एक अर्कासँग के छ कस्तो छ भन्ने भलाकुसारी गरियो’ रावलले ओली भेटेर निस्किए लगत्तै भनेका थिए, ‘देशको स्थिति पार्टीको अवस्था के छ ? कस्तो छ ? यसमा हाम्रा आफ्नो सोच दृष्टिकोण के छन् त्यसमा सामान्य कुराकानी भयो । फेरि कुराकानी गर्ने कुरा छ ।’

लामो समयपछि भएको ओली र रावलको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । उक्त भेटमा विभिन्न विषय विभिन्न छलफल भएको तर, पदीय जिम्मेवारीका विषयमा भने कुरा नभएको रावलले नेपाल प्रेसलाई जानकारी दिए ।

‘लामो कुराकानी भयो । विभिन्न विषय, घटना क्रममा कुरा भएको हो। उनले भने, ‘एउटै भेटका सबै कुरा हुने कुरा अपेक्षित पनि भएन । त्यसपछि फेरि भेट गरौँला भन्ने कुरा भएको हो ।’

ओली रावलको संवादहीन अवस्थामा ब्रेक लगाउन महत्त्वपूर्ण भूमिका एमाले उपाध्यक्ष विष्णु पौडेलले खेलेका थिए ।

चैत्र १८ गते बसेको सचिवालय बैठकले रावलसँग वार्ता गर्न उपाध्यक्ष पौडेलको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाएको थियो । उक्त कार्यदलको सदस्यमा सचिव लेखराज भट्ट र स्थायी कमिटी सदस्य कर्ण थापा सदस्य थिए । सोही समितिले गरेको छलफलपछि मङ्गलवार रावल र ओलीको भेट भएको हो ।

केहीदिन अघिबाटै पौडेल र थापा एमाले अध्यक्ष ओलीलाई रावलसँग भेटाउने तयारीमा जुटेका थिए । मङ्गलवार त्यो साइत जुरेको हो । मङ्गलवार पनि एमाले अध्यक्ष केपी शर्मा ओली र भीम रावललाई पौडेले नै फोन गरेर साँझ ४ः३० बजे पार्टी कार्यालयमा भेट्ने गरि समय निर्धारण गरेका थिए ।

‘पहिले देखी नै विष्णु पौडेल जीले भेट्नु पर्छ भनेर लागि रहनुभएको थियो। विष्णु पौडेल जीले समन्वय गर्नुभयो । वार्ताको लागि समय निर्धारण भयो । म केन्द्रीय कार्यालयमा गए’ रावलले भने , ‘विष्णु पौडेल जीले समय मिलाएर उहाँ (ओली) लाई पनि खबर गर्नुभयो होला । मलाई पनि गर्नुभयो । उहाँसँग पनि सल्लाह गर्नुभएको होला त्यही अनुसार म गए ।’

यसअघि औपचारिक रूपले पार्टी कार्यालयमै रावल र वार्ता टोलीको संवाद भएको थियो । त्यस संवादको निचोड रावल र ओलीको भेट गराउने थियो । तर, महिनौँसम्म पनि उनीहरुबीच भेट भएन । मङ्गलवार भने दुवै जना बिच भेट मात्रै भएन २ घण्टा समसामयिक विषयमा छलफल भयो ।

रावलसँग कार्यदलका सदस्यहरूले अनौपचारिक रूपमा त्यस अघि पनि छलफल गरिरहेका थिए । ‘औपचारिक रूपमा पटक पटक कुरा भएको छ’ कार्यदलका सदस्य कर्ण थापाले भने, ‘धेरै पटकको छलफल पछि मङ्गलवार उहाँहरू दुई बिच भेटघाट भएको हो ।’

थापा रावललाई उपयुक्त जिम्मेवारी दिनु पर्ने र रावलले पनि विगतका गरेका विषयमा आत्मालोचना गर्नु पर्ने बताउँछन् ।

‘हामी व्यक्ति होइन पार्टी बनाउनु पर्छ पार्टी बलियो बनाउन पार्टी बाहिरबाट पनि नेता कार्यकर्ता ल्याइएका छौँ ’ उनले भने ‘ उहाँ एमालेमै हुनुहुन्छ उहाँलाई आवश्यक जिम्मेवारी दिएर सक्रिय बनाउनु पर्छ । उहाँले पनि आत्मालोचना गर्नु पर्छ ।’

पार्टी बलियो र मजबुत बनाउन विगतका सबै तिक्तताहरू भुल्न आवश्यक रहेको थापाले बताए । ओलीले रावल भेट्नुको अघिल्लो दिन सचिवालय बैठकमा पनि रावललाई जिम्मेवारी के दिने भन्ने विषयमा छलफल भएको थियो ।

‘भीम रावलका बारेमा सकारात्मक कुरा आएको छ। उहाँलाई पार्टीमा जिम्मेवारी दिँदा के हुन्छ ? सल्लाहकार बनाउँदा के फरक पर्छ ?,’ ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने।

ओली रावललाई सल्लाहकार बनाएर जिम्मेवारी दिने तयारीमा छन् । रावल निकट नेताहरू अहिले स्थायी कमिटीसम्ममा ल्याएर जिम्मेवारी दिनु पर्ने बताउँदै आइरहेका छन् । यस विषयमा अर्को छलफलमा टुङ्गो लगाउने तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर