धर्नामा सहभागी महिलालाई हिरासतमा लिएर यातना दिएको भन्दै महिला आयोगको आपत्ति – Nepal Press

धर्नामा सहभागी महिलालाई हिरासतमा लिएर यातना दिएको भन्दै महिला आयोगको आपत्ति

काठमाडौं । धर्नामा सहभागी महिलालाई हिरासतमा लिई लछारपछार, कुटपिट, चरम यातना दिएकोभन्दै राष्ट्रिय महिला आयोगले आपत्ति जनाएको छ ।

आयोगले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै साउन १७ गते जिल्ला प्रहरी परिसर, टेकुमा शान्तिपूर्ण धर्नामा दर्जनौं सहभागीलाई प्रहरी प्रशासनले बर्बर दमन गर्दै धर्नामा सहभागी महिलालाई हिरासतमा लिई लछारपछार, कुटपिट, चरम यातना गरेकोप्रति आयोगको ध्यानाकर्षण भएको जनाएको हो ।

आयोगले गणतान्त्रिक मुलुकको प्रहरी प्रशासनबाट शान्तिपूर्ण धर्नामा रहेका महिला उपर गरिएको यस किसिमको क्रूर, अमानवीय व्यवहारप्रति निन्दासहित आपत्ति प्रकट गरेको छ ।

‘यस्ता अमानवीय कार्यको तत्काल छानविन गरी संलग्न व्यक्तिलाई कारवाहीको लागिसमेत गृह प्रशासनको ध्यानाकर्षण गराउँदछ ।’ आयोगका उपसचिव एवम प्रवक्ता चमिला भट्टराईले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

साउन ६ गते एक टेलिभिजनमाअधिवक्ता भगवती पाण्डेले विवादास्पद अभिव्यक्ति दिएकी थिइन् ।

कपोलकल्पित, भ्रामक र तथ्यहीन अभिव्यक्ति टेलिभिजन, युट्युब र टिकटकबाटसमेत प्रसारण भएको कुराले समुदायको आत्मसम्मान र प्रतिष्ठामा आँच पुऱ्याएको भनी आदिवासी तथा जनजाती समुदायले पाण्डेको अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दै जिल्ला प्रहरी परिसर टेकुमा धर्ना दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *