लाेकसेवाकाे तयारी पुस्तकमा आपत्तिजनक प्रश्न राख्ने कर्मचारीलाई कारबाही गर्न आयाेगकाे सिफारिस


काठमाडौं । राष्ट्रिय महिला आयोगले लोक सेवा आयोगको तयारी पुस्तकमा स्त्रीद्वेषी प्रश्नोत्तर समावेश गर्ने कर्मचारीलाई कारबाही गर्न वन तथा वातावरण मन्त्रालयलाई सिफारिस गरेको छ ।
आयोगका अध्यक्ष कमला पराजुलीले वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रकुमार यादवलाई पत्राचार गर्दै मन्त्रालय मातहत कार्यरत सहायक संरक्षक रामएकवाल दासलाई कानूनबमोजिम कारबाही गर्नका लागि सिफारिस गरेकी हुन् ।
यस विषयउपर सामाजिक सञ्जाल, सञ्चारमाध्यम र सांसदबाट समेत आपत्ति प्रकट गर्दै खवरदारी भएकोमा झण्डै तीनहप्ता बितिसक्दा पनि सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण नभएको आयोगले गुनासो गरेको छ ।
आयोगकी अध्यक्ष पराजुलीले लेखेकी छन्, ‘त्यस मन्त्रालय मातहत कार्यरत एक जना राष्ट्रसेवकबाट यसरी जनसंख्याको आधा हिस्सा महिलाको मान, मर्यादा, आत्मसम्मान र चरित्रमै आँच पुर्याउने महिलाको छवी धमिल्याउने किसिमको शब्द भाषा प्रकट गरी पुस्तक प्रकाशन गर्नु क्षम्य विषय नभएको ठहर गर्दै अब उप्राप्त कहीँ कसैबाट पनि यस किसिमको अभिव्यक्ति प्रकट हुन नपाओस भनी उक्त पुस्तकका लेखक राम एकबाल दासलाई कानून बमोजिम कारवाहीका लागि सिफारिस गरेको छु ।’
मन्त्रालयमा कार्यरत सहायक संरक्षक रामएकवाल दासले नेपाल वन सेवा दिग्दर्शन गेम स्काउट वनरक्षक सफलताको साथी भन्ने पुस्तककको पृष्ठ १४३ को प्रश्न नम्बर १८ मा ‘केटीलाई भालु किन भनिएको होला ?’ भन्ने प्रश्न समावेश गरेका थिए ।