पोखराका सडकका सबै सालिक हटाएर विभूति पार्कमा राखिने – Nepal Press

पोखराका सडकका सबै सालिक हटाएर विभूति पार्कमा राखिने

पोखरा । पोखरा महानगरपालिकाभित्रका सडकमा रहेका सबै सालिकको व्यवस्थापन गर्ने सर्वदलीय सर्वपक्षीय बैठकले निर्णय गरेको छ ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सडकमा रहेका सालिकहरू महानगरमा क्रियाशील राजनीतिक दलहरू, सरकारी निकाय तथा सरोकारवाला संघसंस्थाहरुसँग आवश्यक समन्वय गरी एक महिनाभित्र स्थानान्तरण व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

‘पोखरा महानगरपालिकाभित्र सडकमा रहेका सबै सालिकको सम्बन्धमा महानगरमा क्रियाशील राजनीतिक दलहरू, सरकारी निकाय तथा सरोकारवाला संघसंस्थाहरुसँग आवश्यक समन्वय गरी एक महिनाभित्र स्थानान्तरण व्यवस्थापन गर्ने निर्णय गरियो । निर्णयअनुसार एक महिनाभित्र सडकमा रहेका सबै सालिकहरूको व्यवस्थापन गरिनेछ’, निर्णयमा भनिएको छ ।

बैठकले पृथ्वी चोक (लखन चोक)मा नेपालका प्रथम सहिद लखन थापाको सालिक अगाडि राखिएको राष्ट्रिय विभूति पृथ्वीनारायण शाहको तस्बिरलाई हटाई पोखरा महानगरपालिकामा सुरक्षित साथ राख्ने निर्णयसमेत गरेको छ । महानगरपालिकाले चोकमा रहेका सालिकहरूको व्यवस्थापन पोखरा महानगरपालिका १८ स्थित विभूति पार्कमा गर्दै आएको छ ।

चोकचोकमा रहेका सालिकहरूको ससम्मान व्यवस्थापन गर्ने सम्बन्धमा महानगर प्रतिबद्ध रहेको मेयर आचार्यले बताए ।

‘अहिले पोखराको ट्राफिक व्यवस्थापनसमेतलाई ध्यान दिँदै सडकका बीचमा सालिक राख्न सक्ने अवस्था छैन । यस सम्बन्धमा सम्बन्धित सरोकारवालाहरूसँग छलफल गरेर, आवश्यक प्रक्रिया पूरा गरेर सडकमा रहेका सबै सालिकहरूको व्यवस्थापन छिट्टै गर्नुपर्नेछ’, उनले भने, ‘महानगरले निर्माण गरेको सहिद तथा विभूति पार्कमा बाजागाजासहित सम्मानपूर्वक सबै सालिकहरूको व्यवस्थापनका लागि सबै सरोकारवालाहरू सहमत हुनुहुन्छ ।’

‘एक महिनाभित्र आवश्यक छलफल तथा परामर्श गरी सालिकहरूको व्यवस्थापन गरिनेछ । सालिक व्यवस्थापनको विषय जीत र हारको विषय हुनै सक्दैन’, मेयर आचार्यले भने ।

राष्ट्रिय विभूतिहरूको सालिक सडकमा राख्नुभन्दा पनि व्यवस्थित ढंगले महानगरले व्यवस्था गरेको स्थानमा राख्नु नै उपयुक्त हुने कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए ।

‘दीर्घकालीन रूपमा सडकमा सालिक रहन्नन् । क्षणिक रूपमा सडकमा राख्ने विषयको वकालत गर्नु उपयुक्त हुँदैन’, उनले भने, ‘राष्ट्रले मानेका व्यक्तिहरूको सम्मान गर्नु नागरिकको दायित्व हुने भएकाले ती सम्मानित व्यक्तिहरूको सालिक व्यवस्थापनको विषयलाई स्वार्थसँग जोड्न हुँदैन ।’

सामाजिक रूपमा कायम सद्भावलाई खलल पुर्‍याउने काम कोही कसैबाट हुन नहुने भन्दै बैठकका सहभागीहरुले एक महिनाभित्र सबै सालिकहरूको व्यवस्थापन विभूति पार्कमा गर्ने विषयमा सहमति जनाएको मेयर आचार्यले बताए ।

पृथ्वी चोकमा पोहोर साल राखिएको पृथ्वीनारायण शाहको तस्बिरसहितको स्ट्यान्ड बुधबार हटाइएको थियो । तर, पुनः राप्रपाले पृथ्वीको प्रतिमा पुनः स्थापना गरेको थियो । त्यससँगै विवाद सिर्जना भएको थियो ।


प्रतिक्रिया

One thought on “पोखराका सडकका सबै सालिक हटाएर विभूति पार्कमा राखिने

  1. पृथ्वी चोक जनजिब्रोमा अभ्यस्त भएकोहुँदा traffic island माथी सानो पृथ्वी (Globe) बनाउदा सान्दर्भिक हुन्छ होला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *