एसिया कप क्रिकेट: नेपाललाई अत्याउन सक्ने यी हुन् ५ पाकिस्तानी खेलाडी – Nepal Press

एसिया कप क्रिकेट: नेपाललाई अत्याउन सक्ने यी हुन् ५ पाकिस्तानी खेलाडी

काठमाडौं । नेपालसमेत सहभागी हुने एसिया कप क्रिकेट सुरु हुन अब २० दिन बाँकी छ । प्रतियोगिताको पहिलो खेल नै नेपालले आयोजक राष्ट्र पाकिस्तानविरुद्ध खेल्दैछ ।

आयोजनास्थललाई लिएर लामो समय खिचातानीपछि एसिया कप पाकिस्तान र श्रीलंकामा हुने टुंगो लागेको हो । अगष्ट ३० मा पाकिस्तानमा हुने उद्घाटन खेलमा नेपालले घरेलु टोलीको सामना गर्नुपर्नेछ । पाकिस्तानले एसिया कप खेल्ने १८ सदस्यीय टोलीको आज घोषणा गर्‍यो । नेपालले भने गरिसकेको छैन ।

पाकिस्तान क्रिकेटको पावर हाउस राष्ट्र हो । एक दिवसीय र टी-२० विश्वकपसमेत जितिसकेको पाकिस्तान एसिया कपका दुईवटा संस्करणमा च्याम्पियन भएको छ । सन् २००० र सन् २०१२ को एसिया कपमा पाकिस्तानले उपाधि जितेको थियो । अहिले पनि पाकिस्तान एसिया कपको एक दावेदार हो ।

यता, नेपाल भने पहिलोपटक यो प्रतियोगिता खेल्दैछ । यसअघि एकपटक नेपाल एसिया कपका लागि छनोट भएर पनि खेल्न पाएको थिएन । यसपालिको एसिया कपमा नेपालको समूहमा पाकिस्तानसँगै भारत पनि छ । पहिलोपटक क्रिकेटका हस्ती राष्ट्रहरुसँग भिड्न पाउँदा नेपाली समर्थकमा उत्साहको सीमा छैन ।

नेपालले यी दुवै टीमसँग जीतको अपेक्षा राख्नु अत्यधिक महत्वाकांक्षी सुनिन सक्छ । तर, कम्तीमा पनि दुवै टीमसँग प्रतिस्पर्धात्मक क्रिकेट खेल्नु नेपालको लक्ष्य हो । पाकिस्तानसँग नेपालको खेल मुल्तानमा हुनेछ भने भारतसँगको खेल सेप्टेम्बर ४ मा श्रीलंकाको केन्डीमा हुनेछ ।

यस आलेखमा पाकिस्तानले आज घोषणा गरेको १८ सदस्यीय टीममा नेपालका लागि सबैभन्दा डरलाग्दा हुनसक्ने ५ खेलाडीको चर्चा गरिएको छ ।

१. बबर आजम

पाकिस्तानी टीमका सबैभन्दा हाइप्रोफाइल खेलाडी हुन् कप्तान बाबर आजम । उनी विश्व क्रिकेटमै उत्कृष्ट व्याट्सम्यानका रुपमा चिनिन्छन् । एक दिवसीय वरियतामा लामो समयदेखि नम्बर एक स्थानमा जरो गाडेका छन् । नेपाली बलरका लागि सबैभन्दा ठूलो टाउको दुःखाइ आजम नै हुने निश्चित छ ।

आजमलाई क्रिजबाट हटाउन दिग्गज बलरहरुलाई पनि हम्मे पर्छ । उनी फास्ट र स्पिन दुवै बललाई उत्तिकै राम्रोसँग खेल्न सक्छन् । रिस्की फ्रि ब्याटिङ गर्ने हुनाले उनको विकेट निकाल्ने बलरले केही न केही फरक सोच्नैपर्छ । यदि नेपालले बाबरको विकेट चाँडै लिन सक्यो भने पाकिस्तान दबाबमा आउन सक्छ ।

२. फकर जामन

एक दिवसीयमा पाकिस्तानका एक सशक्त ब्याट्सम्यान हुन् फकर जमान । टप अर्डरमा ब्याटिङ गर्ने उनी ठूल्ठूला स्कोर बनाउन माहिर छन् । यद्यपि, उनी बाबर जस्तो कन्सिस्टेन्ट भने छैनन् ।

५० ओभरको क्रिकेटमा पाकिस्तानका लागि सबैभन्दा ठूलो स्कोर बनाउने ब्याट्सम्यान हुन् फकर । उनका नाममा एउटा दोहोरो शतक र ९ शतक छन् । खासगरी ब्याटिङमैत्री पीचमा फकर निकै खतरनाक हुन सक्छन् । चाँडै आउट गर्न नसके उनले खेललाई चाँडै विपक्षी टीमबाट फुत्काउने क्षमता राख्छन् ।

मुल्तानको पीच फकरको ब्याटिङका लागि सुहाउँदो भएकाले नेपालले उनीसँग विशेष सतर्क हुनु आवश्यक छ । नेपालका फास्ट बलरहरुसँग राम्रो गति नभएकाले उनका लागि स्पिनर लगाउनु प्रभावकारी हुनसक्छ ।

३. इफ्तिकार अहमद

इफ्तिकारसँग बाबर र फकारको जस्ता ठूला आँकडाहरु छैनन् । तर, उनी पाकिस्तानी मध्यक्रमका एक उम्दा ब्याट्सम्यान हुन् । उनी ठूला सटहरुका लागि चिनिन्छन् ।

इफ्तिकारले अहिलेसम्म १२ वटामात्रै एक दिवसीय खेलेका छन्, जसमा उनको कुल रन संख्या २४६ छ । उनले एक दिवसीय शतक हान्न बाँकी छ । उनको उच्च स्कोर हो ९४ ।

३२ वर्षीय इफ्तिकारको सबैभन्दा खतरनाक पाटो चाहिँ स्ट्राइक रेट हो । उनले १०० भन्दा बढीको स्ट्राइक रेटमा ब्याटिङ गरिरहेका छन् । पावरफुल हिटरको पहिचान बनाएका उनी पछिल्ला ओभरहरुमा विस्फोटक बन्न सक्छन् ।

इफ्तिकार पार्टटाइम बलिङसमेत गर्छन् । उनको अफस्पिन बल पनि ब्याट्सम्यानले होसियारीपूर्वक खेल्नुपर्ने हुन्छ ।

४. सदाब खान

पाकिस्तानी टीमका बलिङ अलराउन्डर हुन् सदाब खान । उनी लेगस्पिन बलिङ गर्छन् भने तल्लो मध्यक्रममा ब्याट चलाउँछन् ।

कसिलो बलिङ गर्ने सदाबसँग चाहिएको बेला विकेट लिन सक्ने क्षमता छ । स्पिनरलाई सहयोग गर्ने पिचमा उनको बल झेल्न सहज हुँदैन । यद्यपि, बेलाबखत रन पनि खान्छन् । सदाबले अहिलेसम्म पाकिस्तानका लागि ५६ एक दिवसीय म्याच खेल्दै ७३ विकेट लिइसकेका छन् ।

सदाबको बलिङ जस्तै ब्याटिङसँग पनि विपक्षी टीम सतर्क हुनुपर्छ । प्रायः सातौं नम्बरमा ब्याटिङ गर्ने उनी आक्रामक शैलीमा खेल्छन् । उनले एक दिवसीय २८ भन्दा माथिको औसतमा ६३१ रन बनाएका छन् । सदाबको उच्च स्कोर हो ८२ ।

५. साइन साह अफ्रिदी

पाकिस्तानी टीमका सबैभन्दा हाइप्रोफाइल बलर हुन् साइन साह अफ्रिदी । तेज गतिका यी बलरले पाकिस्तानका लागि कैयौं म्याच विनिङ प्रदर्शन गरिसकेका छन् । अग्लो ज्यानमाथि बच्चा जस्तो अनुहार र गालामा डिम्पल उनको पहिचान हो ।

१८ वर्षकै उमेरमा साइनले पाकिस्तानी राष्ट्रिय टीममा स्थान बनाएका थिए । उनले एसिया कपबाटै एक दिवसीयमा डेब्यु गरेका हुन् । मोहममद अमिरको ठाउँमा उनलाई टीममा समावेश गरिएको थियो । उनले चाँडै नै आफूलाई विश्वस्तरीय बलरको छविमा प्रस्तुत गरे ।

६ फिट ६ इन्च अग्लो ज्यान भएका साइनले बललाई बढी बाउन्स गराउन सक्छन् । उनको योर्कर बल पनि निकै खतरनाक हुने गर्छ । यद्यपि, पछिल्लो समयमा आफ्नो उच्च फर्ममा छैनन् ।

साइनले अहिलेसम्म ३६ एक दिवसीयमा २३.९४ को औसतका साथ ७० विकेट लिइसकेका छन् । एउटै म्याचमा ६ विकेटसम्म लिएका छन् उनले । स्पिडसँग अभ्यस्त नभइसकेका नेपाली ब्याट्सम्यानहरुका लागि साइन नै सबैभन्दा ठूलो त्रासदी बन्न सक्ने आँकलन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *