प्रधानमन्त्रीको गृहजिल्लामा पहिलोपटक क्रिकेट संघको चुनाव हुँदा पारसलाई धक्का ! – Nepal Press

प्रधानमन्त्रीको गृहजिल्लामा पहिलोपटक क्रिकेट संघको चुनाव हुँदा पारसलाई धक्का !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनमा नेपाल क्रिकेट संघ (क्यान) को इतिहासमै पहिलोपटक चुनावी प्रतिस्पर्धा भएको छ । मंगलबार साँझ भएको चुनावमा पूर्वखेलाडीहरुको उम्मेदवारका रुपमा देखिएका मनिष सापकोटालाई ३ मतले पराजित गर्दै सुदीप पिया अध्यक्ष निर्वाचित भए ।

नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काको समर्थन सापकोटालाई थियो । उनको पक्षमा पूर्वखेलाडीहरुलाई कन्भिन्स गर्न पारस आफैं चितवन पुगेका थिए । सापकोटा हालसालै मात्र सदस्यता लिएर एकैपटक जिल्ला संघको अध्यक्षमा उठेको बुझिएको छ ।

‘केही दिन अघिसम्म उहाँ उठ्नु हुँदै छ भन्ने थाहै थिएन’, अध्यक्षमा निर्वाचित ४८ वर्षीय पियाले भने । पिया र सापकोटा दुवै पूर्वक्रिकेटर हुन् । पिया पछिल्लो समय क्रिकेटबाहेक व्यवसायमा पनि संलग्न छन् । उनी अघिल्लो कार्यकालमा उपाध्यक्ष थिए । निर्वाचनमा ४७ जनाले मतदान गरेका थिए ।

चितवन क्रिकेट जिल्ला संघ २०५३ सालमा स्थापना भएयता त्यहाँ पहिलोपटक मतदानमार्फत कार्यसमिति चयन भएको हो । अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र एक महिलासहित ११ सदस्य गरी कुल १५ सदस्यीय कार्यसमितिका लागि मतदान भएको थियो ।

सापकोटा र पिया दुवै प्यानल बनाएर उठेका थिए । सापकोटाको प्यानल १२ सदस्यीय थियो भने पियाको १५ सदस्यीय । तर, पिया र उनको प्यानललाई निर्वाचित हुन सजिलो भएन । निर्वाचनमा दुवै प्यानलबीच कडा प्रतिस्पर्धा भयो ।

सापकोटा प्यानलका एक सदस्यले पूर्वखेलाडीहरुको समर्थन आफ्ना उम्मेदवारलाई रहेको बताए ।

‘चुनावमा संस्थापन र नयाँ टीम भनेर छुट्टियो । संस्थापनको भोट पियाले पाउनुभयो भने पूर्वखेलाडीहरुको भोट सापकोटालाई थियो । जिल्लामा पूर्वखेलाडीहरुको भोट पनि महत्वपूर्ण हुने भएकाले पहिलोपटकको निर्वाचनमै निकै प्रतिस्पर्धा देखिएको हो’, नाम उल्लेख नगर्ने सर्तमा ती पूर्वक्रिकेटरले भने ।

पियाले अघिल्लो कार्यसमितिका १५ मध्ये १४ जनाले आफूलाई मतदान गरेको बताए । ‘२४ जना मतदाता हाम्रो पक्षमा हुनुहुन्थ्यो । बाँकी जसले भोट हाल्नुभएन, उहाँहरु पूर्वखेलाडीहरु बढी हुनुहुन्थ्यो’, उनले भने ।

निर्वाचनमा बाहिर जिल्लाबाट मानिसहरु आएर चलखेल गरेको उनको गुनासो छ ।

क्यानको संरचनामा आउन प्रयास गरिरहेका पारस आफ्नो प्रदेश बागमतीअन्तर्गत महत्वपूर्ण मानिएको चितवनमा आफैं पुगेका हुन् । बागमतीमा रहेका क्रिकेट संघका ६ वटा जिल्ला सदस्यमध्ये भक्तपुर, काठमाडौं, ललितपुर, मकवानपुर र नुवाकोटमा चुनाव हुन बाँकी छ ।

तर, चितवनको मत परिणामले पारसलाई निराश बनाएको क्रिकेट सम्बद्धहरु बताउँछन् । पारसले बागमती प्रदेश समितिको अध्यक्षमा उठ्ने तयारी गरेका छन् ।

चितवन जिल्ला समितिमा निर्वाचित पियाले आफूले सबैलाई समेटेर लैजाने बताए ।

‘म अहिलेका मतदातामध्ये सबैभन्दा पुरानो सदस्य हुँ । २०५६/५७ सालदेखि चितवन क्रिकेट संघमा छु’, पियाले भने ।

उनले आफ्नो कार्यकाल गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको तयारीसहित विभिन्न प्रतियोगिता सञ्चालन र ग्रासरुट क्रिकेटको विकासमा केन्द्रित हुने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *