रिपब्लिक मिडियाको शेयर कारोबारमा चलखेलको आशंका, अडलट विवादले नेप्सेमाथि नै उठ्यो प्रश्न – Nepal Press

रिपब्लिक मिडियाको शेयर कारोबारमा चलखेलको आशंका, अडलट विवादले नेप्सेमाथि नै उठ्यो प्रश्न

काठमाडौं । धितोपत्र बजारको नवप्रवेशी नेपाल रिपब्लिक मिडियाको दोस्रो बजारमा पहिलो कारोबार नै विवादमा परेको छ । कम्पनीसँग हुँदै नभएको ‘अड लट’ शेयरको कारोबार देखिएपछि विवाद उत्पन्न भएको हो ।

प्रतिकित्ता २५०.४० विन्दुबाट आज कारोबार सुरू भएको रिपब्लिक मिडियाको १ कित्तादेखि ९ कित्तासम्म ‘अड लट’ कारोबार भएको देखिन्छ । २५ सय शेयर किनबेच हुँदा ३ सयभन्दा बढी ‘अड लट’ कारोबार भएको सिस्टमले देखाएको छ ।

हरेक अडलट कित्ताको कारोबार फरक-फरक मूल्यमा भएको छ । अडलट शेयर नै नभएको रिपब्लिकाको रेगुलर लटलाई नै टुक्र्र्याएर अडलट बनाएको देखिन्छ ।

‘एनआरएम’ संकेतमा नेपाल रिपब्लिक मिडियाको शेयर कारोबार सुरू हुनासाथ चलखेल भएको आशंका गएिको छ । कारोबार सुरू भएको पहिलो १५/२० मिनेटमै सिमित ब्रोकरमार्फत मात्र कारोबार गर्न दिएर चलखेल गरिएको एक लगानीकर्ताले आरोप लगाए ।

नेप्सेले यस कम्पनीको ओपनिङ रेञ्ज प्रतिकित्ता ८४.४७ रूपैयाँदेखि २५३.४१ रूपैयाँसम्म तोकेको थियो । रेन्जको अधिकतम विन्दुबाट कारोबार सुरू भएको हो धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम (५) को उपविनियम (१) मा कारोबार हुने धितोपत्र शेयर वा सामूहिक लगानी प्रयोजनको इकाई भए अंकित मूल्य १० रूपैयाँ भएमा १०० कित्ता र अंकित मूल्य १०० रूपैयाँ भएमा १० कित्ता कारोबार इकाई हुने व्यवस्था छ । साथै सोही विनियमको उपविनियम (२) मा भएको व्यवस्था बमोजिम धितोपत्र तथा ऋणपत्र भएमा अंकित मूल्य १० रुपैयाँ भए १०० कित्ता र संस्थापक ऋणपत्रको अंकित मूल्य १००० रूपैयाँ भएमा १ कित्ता कारोबार इकाई हुने उल्लेख छ ।

सोही विनियमको उपविनियम (३) बमोजिम उपविनियम (१) र (२) मा उल्लेखित कारोबार इकाईभन्दा कम परिमाणको धितोपत्र अडलट हुन्छ । त्यस्तो धितोपत्रको कारोबारलाई अडलट कारोबार भनिन्छ । तर, कारोबार इकाई वा सोभन्दा बढी धितोपत्र भएका धितोपत्र धनीले त्यस्तो धितोपत्रलाई अडलट बनाई बिक्री गर्न पाइँदैन । सोही विनियमावली विपरित रिपब्लिकन मिडियाको शेयर अडलट कारोबार भएको देखिन्छ ।

के भन्छ नेप्से ?

नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरी पराजुली २५ सय कारोबार भएकोमा ३ सय प्लस अडलटमा कारोबार भएको बताउँछन् । कस्तो अवस्थामा कारोबार भयो भन्ने हरेक सेकेण्डको अध्ययन गरेर मात्र पत्ता लाग्ने उनको भनाइ छ ।

कुनै पनि बिक्रेताले आफूसँग भएको १० कित्ता शेयरलाई टुक्र्याएर हाल्न मिल्दैन । तर क्रेताले हाल्न मिल्छ । १० कित्ता राखेकोलाई टुक्र्याएर ५ कित्ता सिस्टमले दिन सक्छ । उदाहरणका लागि बिक्रेताले २० कित्ता बिक्रीमा राखेको छ भने १५ कित्ता कित्ता सिस्टमले बेचिदिनसक्छ । बाँकी ५ कित्ता रहने भयो त्यसलाई विक्रेताले हाल्न मिल्दैन । यस्तो अवस्थामा पनि अडलट कारोबार भएको हुनसक्ने पराजुलीको भनाइ छ ।

उनी भन्छन्, ‘यो बाहेकको अवस्थामा भने ट्रयाक देखिँदैन । प्रत्येक कारोबारको ट्रयाक गरेर हेर्नुपर्छ । कसैलाई १/१ कित्ता बेचेर प्राइस बढाउने उद्देश्य छ भने त्यो गलत हो । अडलटमा भएको प्राइसलाई सिस्टमले चिन्दैन ।’

यो विषयमा नेप्सले अध्ययन गर्ने पराजुलीले बताए ।

तर सीमित ब्रोकरलाई कारोबार गर्न दिएर चलखेल भएको आरोप भने सरासर गलत भएको प्रष्टीकरण नेप्सेका प्रवक्ताले दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर