३५ दिन समय माग्दै महानगरमा राप्रपाको लिखित पत्र, कार्यालयनजिक डोजर ‘स्ट्यान्डबाइ’ – Nepal Press

३५ दिन समय माग्दै महानगरमा राप्रपाको लिखित पत्र, कार्यालयनजिक डोजर ‘स्ट्यान्डबाइ’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो केन्द्रीय कार्यालय खाली गराउन काठमाडौं महानगरपालिकासँग ३५ दिन समय माग गरेको छ । राप्रपाका केही नेताहरु आजै महानगर पुगेर प्रमुख कार्यकारी अधिकृत बसन्त अधिकारीलाई पत्र बुझाएका हुन् ।

महानगरले धुम्बाराहीस्थित राप्रपाको कार्यालय खाली गराउन सोमबारसम्मको अल्टिमेटम दिएको थियो । राप्रपाले भने कानून बमोजिम ३५ दिनको समय मागेको हो ।

राप्रपाका मुख्यसचिव केदारबहादुर अधिकारीले भने, ‘हामीले भवन खाली नगर्ने भनेका छैनौं । तर, कानूनअनुसार सूचना जारी गरेको मितिले ३५ दिन समय चाहिन्छ भन्ने हाम्रो माग हो ।’

महानगरका प्रमुख कार्यकारी अधिकृत बसन्त अधिकारी भने थप ३५ दिन समय उपलब्ध गराउन नसकिने बताउँछन् । गत वर्षको असोजमा नै महानगरले माइकिङ गरेको तर, राप्रपाले त्यसलाई गम्भीरतापूर्वक नलिएको उनको भनाइ छ ।

‘पब्लिकले हाइटेन्सनमुनि घर बनाउनै नपाउने, तर राजनीतिक दलले छुट पाउने कुरा कुनै पनि लजिकले मिल्दैन । नक्सापास बिना त्यहाँ घर बनाउन पाउने कुनै आधार नै छैन । विद्युत प्राधिकरणले त यो घर एक सेकेन्ड पनि रहन दिनुहुँदैन भनेको छ । पानी परेको बेला मान्छे छतमा गएको बेला मर्ने सम्भावना हुँदो रहेछ,’ उनले भने ।

उनले घर भत्काउनुपर्ने विषयमा राप्रपाका नेताहरु पनि सहमतिमा आएको बताए ।

‘उहाँहरुले हामीलाई खाली गर्न मौका दिनुपर्यो भन्नुभएको छ । तर, हामीले असोजमा नै माइकिङ गरेका हौं । त्यो बेलामा पनि यही कुरा भन्नुभएको थियो । त्यसैले हामीले समयमा सुचना पाएनौं भन्न मिल्दैन’, उनले भने ।

महानगरले राप्रपालाई लिखित पत्र भने अहिलेसम्म दिएको छैन । अधिकारी भने गोरखापत्रमा तीन महिना अगाडि सार्वजनिक सूचना जारी गरिएकाले लिखित पत्र दिइरहनु नपर्ने बताउँछन् ।

‘अहिले पनि सामान सार्न एक हप्ता-दश दिन समय माग्नु हुन्छ भने सोच्न सकिन्छ भनेका छौं’, उनले भने ।

महानगरको डोजर स्ट्यान्डबाइ

आजै राप्रपाको भवन भत्काउने योजनाका साथ महानगरबाट ३०० नगरप्रहरीसहित डोजर परिचालन भइसकेको छ । अहिले राप्रपाको कार्यालयबाट करिब ३०० मिटर दुरीमा डोजर राखेर नगरप्रहरीहरु बालेनको आदेश पर्खेर बसिरहेका छन् । टोलीको नेतृत्व नगर प्रहरी प्रमुख राजु पाण्डेले गरेका छन् ।

नगर प्रहरी स्रोतले भन्यो, ‘हामी यहाँ स्ट्यान्ड बाइ छौं । जतिबेला आदेश आउँछ, तत्काल भवन भत्काउन कुनै समस्या छैन ।’

तस्बिरहरू: गाैरव पाैडेल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर