कर्णालीमा प्रहरीको ‘घरघरमा स्टिकर टाँस अभियान’ सुरु – Nepal Press

कर्णालीमा प्रहरीको ‘घरघरमा स्टिकर टाँस अभियान’ सुरु

लोकतन्त्रमा नागरिकको सुरक्षा गर्ने राज्यको दायित्व हो : रक्षामन्त्री खड्का

सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लाका ३ लाख ७१ हजार भन्दा बढी घरधुरीमा प्रहरीले एकैसाथ ‘घरघरमा स्टिकर टाँस अभियान’ आजबाट सुरु गरेको छ ।

आइतबार कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरको कोलडाँडामा एक कार्यक्रमको आयोजना गरी प्रदेशभरी एकैसाथ अभियानको शुभारम्भ गरेको हो । उक्त अभियानको उद्घाटन गर्दै नेपाल सरकारका उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले यस अभियानले नागरिक र प्रहरीबिचको सम्बन्ध अझै प्रगाढ हुने र नागरिकले वास्तविक रूपमा सुरक्षा अनुभूति गर्ने बताए ।

खड्काले नागरिकमैत्री सेवा तथा लोकतन्त्रमा नागरिकको सुरक्षा गर्ने राज्यको दायित्वमा थप टेवा पुग्ने भनाइ राखेको थिए । कर्णाली प्रदेश प्रहरीले सुरु गरेको सो कार्य अत्यन्तै राम्रो र नमुना कार्य भएको बताए । प्रदेशमा यो अभियान पहिलो रहेको रक्षा मन्त्री खड्काले भने, ‘लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा रहेको प्रहरी तालिम केन्द्र कर्णालीमा ल्याउनका लागि पहल भइरहेको छ ।’ नेपालगन्जमा रहेको प्रहरी तालिम केन्द्र कर्णालीमा अब छिट्टै नै स्थापना गरिने उनले बताए ।

त्यस्तै, कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसिले अभियान मात्रै सुरु गरेर मात्रै नहुँने भन्दै दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

साझा दृष्टिकोण परिवर्तन भए मात्रै उक्त अभियानले सार्थकता पाउने तर्क राखे । कर्णाली प्रहरी विधेयक टेबुल गरिने जानकारी दिए ।

साथै, मन्त्री जिसीले शान्ति सुरक्षा मात्रै नभएर नागरिकमा कसरी सुरक्षा बढाउने भनेर प्रदेश सरकारले गम्भीर रूपमा लिएको बताए । कर्णाली प्रदेश प्रहरीलाई सक्षम बनाउन हतरवरले सहयोग गर्ने प्रतिबद्धता मन्त्री जिसीले गरे ।

साथै, वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले सुरक्षासँग एउटा कुरा मात्रै जोडिएको नभएर हरेक व्यक्ति, समाज, राज्यका निकाय, युवा लगायत पनि जोडिएको हुँदा यस अभियानले नागरिकलाई सहज हुने बताइन् ।

सुरक्षित कर्णाली अभियान अन्तर्गतको यो कार्यलाई आफ्नो तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाइन् साथै ढकालले अब जनताले जनप्रतिनिधि देख्दा डराएर, रिसाएर, भाग्नु पर्ने प्रवृत्तिलाई आफूहरूबाट नै जनतालाई नजिकबाट आत्मसाथ गर्नुपर्ने भनाइ राखेकी थिइन् ।

कर्णालीका युवाले आफ्नो भविष्य विदेशमा नभएर आफ्नै देशमा छ भन्ने अनुभूति आफूहरूले गराउने दिन आएको बताइन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालय प्रहरी नायव महानिरीक्षक भिमप्रसाद ढकालले कर्णालीको समग्र सुरक्षा सुधारमा यो अभियानले सहयोग पुराउने जानकारी दिए । उक्त अभियानबाट नागरिक प्रहरीबिच सम्बन्ध थप राम्रो हुने अपराध कम हुने बताए ।

साथै, सबै तिरको सूचनामा प्रहरीको सहज पहुँच बढाउन, प्रहरी र नागरिकबिच सुमधुर सम्बन्ध बनाउन, प्रत्येक नागरिकहरूलाई प्रहरी सेवा प्रति आश्वत बनाउन, अपराध रोकथाम र अनुसन्धान कार्यलाई थप प्रभावकारी बनाउन, अपराध र आपराधिक तत्त्वहरू निरुत्साहित बनाउन र नागरिकहरूलाई अझ नजिकबाट सुरक्षाको अनुभूति दिलाउन यस अभियानको मुख्य उद्देश्य रहको प्रदेश प्रहरी कार्यालयका डिआइजी भीमप्रसाद ढकालले जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर