विवादमा परेपछि कोशीका सभामुख भन्छन्- अप्ठ्यारै भयो भने राजीनामा दिन तयार छु – Nepal Press
कोशी प्रदेश

विवादमा परेपछि कोशीका सभामुख भन्छन्- अप्ठ्यारै भयो भने राजीनामा दिन तयार छु

विराटनगर । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले आफूले सरकार टिकाउनको लागि पद छाड्नुपर्ने परिस्थिति आए राजीनामा दिन तयार रहेको बताएका छन् । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको शपथ ग्रहणपछि पत्रकारसँग कुरा गर्दै सभामुख गौतमले तत्कालै राजीनामा नदिए पनि भोलीका दिनमा राजीनामा दिनसक्ने संकेत गरेका हुन् । उनले पत्रकारसँग गरेको कुराकानीको सारसंक्षेप यसप्रसार छ ।

– तपाईँले राजीनामा कहिले दिने ?

मैले राजीनामा दिने बारेमा सोचेको छैन ।

– तपाईँलाई सभामुख भनेर सम्बोधन गर्नु कि प्रदेशसभाको सदस्य भनेर ?

के भनेर सम्बोधन गर्नु हुन्छ भन्ने तपाईँहरूको कुरा हो । अहिलेसम्म म पदमा बहाल छु ।

– तपाईँले संसदीय इतिहास धुमिल पर्ने काम गर्नुभयो भन्ने छ, के भन्नुहुन्छ ?

त्यस्तो केही पनि भएको छैन । आजसम्मको परम्परालाई हेर्दा सभामुखहरूको नाम सरकार गठनमा पठाएको देखिन्छ । प्रमाणिक आधारहरूले त्यसलाई पुष्टि नै गरेको छ । राष्ट्रपति कार्यालयमा ती फाइलहरू सुरक्षित नै होलान् भन्ने मैले ठानेको छु । सबै प्रदेश सरकारहरू बन्दा सभामुखको नाम जाने गरेको मैले पाएँ । नाम जान्छ भन्ने कुरामा म ढुक्कै थिएँ । यहाँ विशिष्ट चाहिँ भएको छ। साथीहरूले नाम छुट्टै सही गर्नुपर्ने प्रावधानको विषयमा म तयार थिइन । तपाईँहरूलाई प्रस्टै भन्नुपर्दा म तयार थिइन । अन्तिम अवस्थामा मैले हस्ताक्षर नदिई नहुने अवस्था देखा पर्‍यो त्यसै कारणले गर्दा मैले सरकार बनाउने कुरामा आफ्नो सहमति दिएको हो ।

– अन्तिम समयमा आएर तपाईँलाई हस्ताक्षर गर्न कसले बाध्य बनायो ?

त्यो अहिले यसै भन्न सक्दिनँ । यो कुरा मैले निकास दिने कुराको रूपमा बुझ्दा हुन्छ ।

– सभामुख पदको तटस्थता रह्यो कि रहेन ?

तटस्थता भन्ने कुरा चाहिँ त्यो संसदीय इतिहासमा पक्ष र विपक्षकै भूमिका हुन्छ । निष्पक्षता भन्ने कुरा कहीँ पनि हुँदैन । सरकार पनि निष्पक्ष हुँदैन । मुख्यमन्त्री आज बन्नुभयो, उहाँले निष्पक्षता शपथ खानुभएको छ । राज्यका सम्पूर्ण निकाय निष्पक्ष हुनपर्छ, तर यसको मतलब के हैन भनेँ मैले सदनमा गर्ने भूमिका म रहँदासम्म निष्पक्ष हुन्छ, यदि त्यो हुन सक्ने स्थिति बनेन भनेँ साँच्चिकै अप्ठ्यारो पर्ने स्थिति आयो भनेँ मैले यहाँ बसिरहनु पर्ने आवश्यकता हुँदैन ।

– तपाईँले नैतिकताको प्रश्न गरिरहँदा सभामुखले सरकारलाई समर्थन गर्न नैतिकताले दिन्थ्यो ?

यसको निकास चाहिँ के थियो त ? अब दुई-दुई तिर बाँडिएको छ। यो चाहिँ सरकार नबन्ने निरन्तरताको कारण हामीले यो प्रदेशलाई डेडलक त राख्न सक्दैन थियौँ । पार्टीले दबाब दिएको कुरा छैन । म आफैँले मैले विवेक पुर्‍याएर सरकारलाई समर्थन गरेको हो ।

– सभामुखले आफ्नो गरिमा जोगाउन नसकेको भन्ने संविधान विद्को कुरालाई के भन्नु हुन्छ ? सभामुखबाट गिरेर सरकारलाई सघाएको हो ?

त्यो कुरालाई म मान्छु । मैले आफ्नै हैसियतभन्दा तल झरेर गरेको निर्णयमा म सहमत नै छु । म आफ्नो सदनको अध्यक्षको नाताले मैले पक्ष र प्रतिपक्षलाई मिलाएर जानु पर्ने मेरो जुन दायित्व छ त्यसको आधारमा एक पक्षीयरूपमा हस्ताक्षर गर्नु नपरोस् भन्ने मेरो चाहना नै थियो । त्यसकालागि मेरो अन्तिमसम्म प्रयास पनि थियो । त्यो लुकीछिपी पनि छैन त्यो क्लियर नै छ । अन्तिममा निकास के हो त त्यसो भए । निकास विहीन हामीले प्रदेशलाई राख्न सक्दैन थियौं । भोलि त्यसको गृहकार्य कसरी हुन्छ, त्यसको छलफल कसरी हुन्छ, कसरी बन्छ, टिक्छ कि टिक्दैन भन्ने कुरा उहाँहरूले जान्नुहुन्छ । मैले निकास दिनु पर्थ्यो मैले निकास दिएकै हो ।

– अब तपाईँ दलको कार्यकर्ता हो कि ?

मैले पनि चुनाव जितेरै आएको अवस्था हो । त्यस्तो अवस्थामा सम्पूर्ण रूपमा पार्टीबाट छुटेको भन्ने हुँदैन । विगतका सभामुखहरु पनि हिजो छाडेको भए पनि आज पार्टीमै हुनुहुन्छ । काम गरिरहनु भएको छ, त्यो नौलो कुरा हैन । अहिले भनेको प्रदेशसभालाई डेडलक राख्नबाट निकास दिएको हो । म सत्ता पक्ष भएको छैन, अहिलेलाई निकासमात्र दिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर