भक्तिको हातमा शक्ति: पूर्वप्रतिस्पर्धी थापालाई बोक्लान् कि रोक्लान् ? – Nepal Press
कोशी प्रदेश

भक्तिको हातमा शक्ति: पूर्वप्रतिस्पर्धी थापालाई बोक्लान् कि रोक्लान् ?

विराटनगर । सत्तारुढ गठबन्धन दलहरुको काठमाडौंमा सोमबार बसेको बैठकले कोशी प्रदेशको मुख्यमन्त्रीको रूपमा उद्धव थापालाई अघि सार्ने सहमति गर्‍यो । तर, थापा मुख्यमन्त्री बन्न अझै पनि धेरै तगारा बाँकी छन् ।

कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रको समेत दाबी थियो । सो दलका नेता इन्द्रबहादुर आङ्वो मुख्यमन्त्री बन्न लालायित थिए । तर, पार्टीभित्रबाट सहयोग नभएपछि तत्कालका लागि उनी रोकिएका छन् भने थापा गठबन्धनको साझा उम्मेदवार बनेका छन् ।

गठबन्धनले प्रस्ताव गरे पनि थापा मुख्यमन्त्री बन्न र बनिहालेमा पनि चार वर्ष टिक्न सजिलो परिस्थिति छैन । कोशी प्रदेशमा गठबन्धनको प्रस्ट बहुमत नभएकाले उनको सत्तायात्रा चुनौतीपूर्ण बन्ने देखिएको हो । थापाको दल कांग्रेसको २९ सीट छ । गठबन्धनका सहयात्री माओवादीसँग १२ र एकीकृत समाजवादीसँग ४ सीट छ । यी तीन दल मिल्दा ४५ सीट हुन्छ । बहुमतका लागि ४७ सांसदको समर्थन चाहिन्छ ।

कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतम माओवादीका हुन् । तर, सभामुख हुनुभन्दा अगाडि दलको सदस्यता त्यागिसकेकाले ‘माओवादी सांसद’ मा उनको गणना हुँदैन । संविधानविद्हरु विपीन अधिकारी र भीमार्जुन आचार्यले सभामुखलाई दलको सांसदको रूपमा गन्ने छुट संविधानले नदिएको बताइसकेका छन् ।

मुख्यमन्त्रीको दौडमा रहेका थापालाई माओवादी र एकीकृत समाजवादीले साथ दिने निश्चित छ । तर, एक सीट रहेको जसपाले भने निर्णय लिइसकेको छैन । जसपाले प्रदेशको नामकरण पहिचानको आधारमा गर्ने भनेर लिखित प्रतिबद्धता गर्नुपर्ने माग गठबन्धनसँग राखिरहेको छ ।

जसपा कोशी प्रदेशका अध्यक्ष दीपक याक्खाले कांग्रेसले पहिचानको आधारमा पुनः नामकरण गर्ने प्रतिबद्धता जनाएमात्रै थापालाई समर्थन गर्ने बताए ।

उनले भने, ‘पहिचानको आधारमा पुनः नामकरण हुनुपर्छ भनेर हामी सडक संघर्षमा छौं, हाम्रो माग सम्बोधन नभएसम्म हामी कसैलाई पनि समर्थन गर्दैनौं ।’

काेशीमा जसपाले साथ दिए पनि गठबन्धनसँग ४६ मात्रै सदस्य संख्या पुग्नेछ । त्यसैले गठबन्धनलाई राप्रपाको साथ अनिवार्य देखिन्छ । यहाँ राप्रपाको ६ सांसदसहित बलियो उपस्थिति छ ।

कोशीका प्रदेश प्रमुख परशुराम खापुङले असार २१ गते ५ बजेसम्मको म्याद तोकेर संविधानको धारा १६८ (२) अन्तर्गत सरकार गठनको आह्वान गरेका छन् । सो धाराअन्तर्गत सरकार बनाउने दाबी गर्न ४७ सदस्य अनिवार्य आवश्यक छ । यस्तो अङ्क गणितमा गठबन्धनबाट कोशीको मुख्यमन्त्री बन्ने दौडमा रहेका कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापालाई राप्रपाको साथ अनिवार्य छ ।

२०७० अघिका भक्ति सिटौला र अहिलेका मन्त्री सिटौला

कोशी प्रदेशमा राप्रपासहितको समर्थनमा उद्धव थापाको नेतृत्वमा सरकार बन्ने कुराको अनुमान गर्नुअघि २०७० साल अगाडि फर्कनुपर्छ । कोशी सरकारका कामचलाउ उद्योग कृषि तथा सहकारीमन्त्री सिटौला तिनै नेता हुन्, जो २०७० सालको संविधानसभाको निर्वाचनको मुखमा कांग्रेस छाडेर राप्रपा प्रवेश गरेका थिए ।

२०४८ सालमा कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी संघको सहमहामन्त्री बनेका सिटौला कांग्रेस झापाको राजनीतिमा प्रभाव राख्थे । उनी कांग्रेसका चर्चित नेता कृष्णप्रसाद सिटौलाका आफन्तसमेत हुन् । साइनोले कृष्ण सिटौलाका काका पर्ने भक्ति कृष्णसँगको गुटमा नमिल्दा अवसरबाट वञ्चित हुँदै आएका थिए ।

झापामा विश्वप्रकाश शर्मा र कृष्ण सिटौलाको समानान्तर गुट लामो समयसम्म चलेको थियो । दुई कार्यकाल झापा कांग्रेसको सभापति भएका उद्धव थापाले पहिलोपटक भने विश्वप्रकाशलाई हराएका थिए । विश्वप्रकाश र थापाबीचको प्रतिस्पर्धामा भक्ति विश्वप्रकाशको क्याम्पमा उभिएका थिए ।

२०७० को निर्वाचनताका कांग्रेसमा प्रभावशाली थिए कृष्ण सिटौला । भतिज पावरफुल भएको बखत २०७० को निर्वाचनमा झापा क्षेत्र नम्बर २ बाट कांग्रेसका तर्फबाट उम्मेदवार बन्न चाहन्थे भक्ति । तर, गुटका कारण कृष्णले झापा २ मा उद्धव थापालाई कांग्रेसको उम्मेदवार बनाए । त्यही झोकमा भक्तिले राप्रपा प्रवेश गरेर सोही क्षेत्रबाट उम्मेदवारी दिए ।

उनले मनोनयन दर्ता गराउँदै आफूले कांग्रेसमा कुनै ठाउँ नपाएपछि राप्रपामा जानुपरेको बताएका थिए । मनोनयन दर्ता गराएपछि उनी सार्वजनिक ठाउँमै रोएको झापालीहरू अहिले पनि सम्झन्छन् ।

कोशीका मन्त्री भक्ति अहिले पनि आफू निकटकालाई कांग्रेस छाड्नुको पीडा सुनाउने गर्छन् । झापा कांग्रेसमा एकछत्र प्रभाव जमाएका कृष्णले काका भक्तिलाई महाधिवेशन प्रतिनिधि हुनबाट समेत रोकेको बताउने झापा कांग्रेसमा धेरै भटिन्छन् । भक्ति एकपटक झापा कांग्रेसको सभापतिमा समेत उठेका थिए । तर, कृष्णको गुटका सुधीर सिवाकोटीसँग पराजित भए ।

केही समयअघि नेपाल प्रेससँगको कुराकानीमा पनि मन्त्री सिटौलाले आफूले जीवनको धेरै समय कांग्रेसमा बिताएको र कांग्रेसको माया भएको बताएका थिए । झापा कांग्रेसमा रहँदा मुख्य प्रतिस्पर्धी रहेका उद्धवलाई मुख्यमन्त्री बनाउने चाबी यतिबेला उनै भक्तिको हातमा छ । उनले साथ दिएमा थापालाई मुख्यमन्त्री बन्न कसैले रोक्नेछैन ।

लिङदेनले तोड्लान् त सहकार्य ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई भेटेर औपचारिक रूपमै कोशीमा गठबन्धनलाई सहयोग गर्न आग्रह गरे । गठबन्धनको बैठकले कोशीमा कांग्रेस संसदीय दलका नेता थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेपछि देउवाले राप्रपाको सहयोग मागेका हुन् ।

झापामा पार्टी अध्यक्ष लिङदेनसहित राप्रपाको कोशी प्रदेश संसदीय दल र प्रदेश अध्यक्षको बैठकले सरकारमा कुन दललाई समर्थन गर्ने भन्ने जिम्मा पार्टी अध्यक्षलाई दिएको छ ।

२०७० सालको निर्वाचनदेखि एमालेसँग निर्वाचनमा सहकार्य गरिरहेको राप्रपा अध्यक्ष लिङदेन एमालेसँगको सहकार्य तोडेर गठबन्धनमा जालान् ? प्रश्न अनुत्तरित छ । एमाले भने राप्रपाले गठबन्धनलाई सहयोग नगर्नेमा ढुक्क छ ।

एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले राप्रपासँगको सहकार्य आजको नभएको बताए । २०७४ सालदेखि एमालेसँगको सहकार्यका कारण कांग्रेसका प्रभावशाली नेता कृष्ण सिटौलालाई लिङदेनले पराजित गर्दै आएका छन् । एक्लै निर्वाचन लड्दा उनी सिटौलासँग २०७० मा पराजित भएका थिए ।

‘उहाँले आगामी दिनको सहकार्य पनि हेर्नु हुनेछ । प्रदेशको सरकार गठनलाई लिएर उहाँले लामो सहयात्रा तोड्नुहुन्न’, भण्डारीले भने, ‘उहाँलाई आफ्नो निर्वाचन क्षेत्रको अवस्था थाहा छ । एमालेविना चुनाव लड्दा कस्तो हुन्छ भन्ने उहाँले बुझ्नुभएको छ । अप्ठेरो अवस्थामा राप्रपाले एमालेको साथ छाड्दैन ।’

२०७९ सालको निर्वाचनमा झापालगायतका धेरै स्थानमा एमाले-राप्रपाबीच चुनावी तालमेल भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर