गिरीश खतिवडालाई पक्राउ नगरेको भन्दै मोरङमा प्रहरीविरुद्ध प्रदर्शन (भिडिओ) – Nepal Press

गिरीश खतिवडालाई पक्राउ नगरेको भन्दै मोरङमा प्रहरीविरुद्ध प्रदर्शन (भिडिओ)

विराटनगर । कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिँदा पनि पहुँचका भरमा चर्चित र्‍यापर गिरीश खतिवडालाई पक्राउ नगरेको भन्दै मोरङ धनपालथान कर्सियाका कासिद अन्सारीका परिवार, आफन्त र गाउँलेले प्रहरीविरुद्ध प्रदर्शन गरेका छन् ।

खतिवडाले विराटनगरमा सञ्चालन गरेको ‘जी क्याफे एन्ड विस्त्रो’मा धनपालथान गाउँपालिका- ४ का कसिद अन्सारीको रहस्यमय मृत्यु भएको भन्दै क्याफे सञ्चालकसहित ३ जनाविरुद्ध केही दिनअघि किटानी जाहेरी परेको थियो ।

किटानी जाहेरी परेको ५ दिन बित्दा पनि प्रहरीले खतिवडासहितलाई पक्राउ गरी अनुसन्धानको दायरामा नल्याएको भन्दै कर्सिया बजारमा विरोध जुलुस निकालिएको हो । विरोध जुलुसका सहभागीहरुले घटना सीआईबीले अनुसन्धान गर्नुपर्ने मागसहितको प्लेकार्ड बोकेका थिए ।

मृतकका आफन्त र स्थानीयले गृह मन्त्रालयले घटनाको विषयमा चासो लिई निष्पक्ष अनुसन्धान गर्नुपर्ने माग गरेका छन् । उनीहरुले प्रहरीले पहुँचका भारमा पीडितलाई न्याय नदिएको आरोप लगाएका छन् ।

कासिदका आफन्तका अनुसार घटना भएको दिन उनी खतिवडाको क्याफेको गेटमा छिर्दै गरेको सीसीटीभी फुटेज भएको तर प्रहरीले घटना भएको समयमा सीसीटीभी बन्द भएको दाबी गरेका छन् ।

मृतकका भाइ माजिद अन्सारीले घटना भएको दिन मृतक सो क्याफेमा बाँकी रहेको पैसा लिन गएका बेला हत्या भएको दाबी गरे ।

जिल्ला प्रहरी कार्यालय मोरङले भने घटनाबारे अनुसन्धान भइरहेको बताएको छ । मोरङ प्रहरीका प्रवक्ता रञ्जनकुमार दाहालले घटनाको विषयमा अनुसन्धान भइरहेको बताएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर