मधेशमा जन्मका आधारमा नागरिकता लिनेहरुकाे भीड, प्रक्रिया नपुग्दा धेरै फर्कन्छन् खाली हात – Nepal Press

मधेशमा जन्मका आधारमा नागरिकता लिनेहरुकाे भीड, प्रक्रिया नपुग्दा धेरै फर्कन्छन् खाली हात

जनकपुरधाम । नागरिकता विधेयक प्रमाणीकरण कार्यान्वयनमा आएसँगै जिल्ला प्रशासन कार्यालयहरुले जन्मको आधारमा नागरिकता वितरण गर्ने प्रक्रिया सुरु गरेका छन् । तर, यस किसिमको नागरिकता पाउन नागरिकलाई प्रक्रिया पुर्‍याउनै सकस देखिएको छ ।

आइतबार जिल्ला प्रशासन कार्यालय धनुषामा जन्मका आधारमा नागरिकता लिनेहरुको भीड नै थियो । तर, आवश्यक प्रक्रिया पूरा गरेकाले पाँच जनाले मात्रै जन्मको आधारमा नागरिकता पाए ।

धनुषाबाट नागरिकता लिएका पाँच जना एकै परिवारका हुन् । नागरिकता पाउनेमा गणेशमान चारनाथ नगरपालिका- ३ का इन्द्रजीत साफी, उनका दुई भाइ र उनकै काकाका छोरा छन् ।

३१ वर्षीय साफीले लामो प्रतीक्षापछि नागरिकता पाएकोमा खुशी लागेको बताए । उनले भने, ‘नागरिकताविना कुनै काम भइरहेको थिएन । यो समस्या समाधान गरेर वर्तमान सरकारले ठूलो काम गरेको छ । प्रधानमन्त्री र राष्ट्रपतिलाई धन्यवाद ।’

जन्मको आधारमा नागरिकता लिन लामो प्रक्रिया पूरा गर्नुपर्छ । जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको सूचनाअनुसार १४ किसिमका कागजात पुर्‍याएपछि मात्रै जन्मको आधारमा नागरिकता पाइन्छ । सो कागजात पुर्‍याउन नसकेका सयौं व्यक्ति खाली हात घर फर्केका छन् ।

धनुषाको बरमझियाका २३ वर्षीय अमरकुमार कापरले प्रहरी रिपोर्ट नभएको भन्दै कर्मचारीले फर्काएको बताए । भोलि प्रहरी रिपोर्ट बनाएर ल्याउने उनले सुनाए ।

यस्तै मिथिला नगरपालिका- ६ ढल्केवरका २७ वर्षीय अशोककुमार महतो पनि घण्टौं लाइनमा बसे । तर, नागरिकता लिन पाएनन् । कर्मचारीले वडा कार्यालयको मुचुल्का ल्याएपछि मात्रै नागरिकता बन्ने बताएको उनले जानकारी दिए ।

जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता प्राप्त गर्न अनुसूची १ फारम भर्नुपर्छ ।

त्यस्तै बाबु र आमाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, बुवा र आमा तथा नागरिकताका लागि आवेदन दिने व्यक्तिबीच फोटोसहितको नाता प्रमाणित प्रतिलिपि, बाबु र आमाको मतदाता परिचयपत्रको प्रतिलिपि, स्थानीय तहबाट स्थानीय बसोबास प्रमाणित/किटानी सिफारिसको प्रतिलिपिलगायतका कागजात आवश्यक पर्ने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

यस्तै पारिवारिक विवरण, बुवाआमाको विवाह दर्ता/विवाह प्रमाणित प्रतिलिपि, बुवा र आमाको मृत्यु भएको भए मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपि, बुवा र आमा वा सन्तानको नामको जग्गाधनी प्रमाण पुर्जा, मोहियानी हकको प्रमाणपत्र भए सो प्रमाण, शैक्षिक प्रमाणपत्रको प्रतिलिपि, विद्युत/खानेपानी/टेलिफोनको बिललगायतका अन्य कागजात, घरधुरी प्रमाण पुर्जा तथा नक्सा पास र स्वीकृतिको प्रतिलिपि, कम्तिमा २ जना वडा सदस्यसहित छिमेकीहरु गरी ५ जनाको वडा मुचुल्का र २०६३ को टोलीले नाबालक दर्ता गरेको भए सोको निस्सा पनि पेश गर्नुपर्ने भनिएको छ ।

भीडभाड हुन नदिन अनलाइन टोकन प्रणाली

नागरिकता बनाउनेहरुको भीडभाड बढेपछि जिल्ला प्रशासन कार्यालयहरुले अनलाइन टोकन प्रणालीको व्यवस्था मिलाएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले नागरिकता सहज रुपमा प्राप्त गर्न टोकन प्रणाली लागू गरेको जानकारी दिए । उनले अनलाइनबाटै आवेदन दिई टोकन प्राप्त भएको मितिमा आवश्यक कागजात लिएर आई नागरिकता बनाउन पाउने व्यवस्था मिलाइएको बताए ।

बारा र पर्सामा पनि अनलाइन टोकन प्रणाली लागू गरिएको छ । यसका लागि कार्यालयले वेबसाइट र क्यूआर कोडसमेत बनाएको छ । क्यूआर कोड स्क्यान गरेर टोकन प्राप्त गर्न र आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।

बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले कर्मचारी र साधनस्रोतको अभावका बेला सेवाग्राहीको बढ्दो चापलाई ख्याल गरी अनलाइन टोकन प्रणालीबाट नागरिकता वितरणको व्यवस्था मिलाएको बताए ।


प्रतिक्रिया

One thought on “मधेशमा जन्मका आधारमा नागरिकता लिनेहरुकाे भीड, प्रक्रिया नपुग्दा धेरै फर्कन्छन् खाली हात

  1. नेपाल प्रेस टीम, नयाँ नागरिकता लिनेहरु जन्मका आधारमा नागरिकता भएकाहरुका सन्तान हुन , यीनीहरुले वंशजको आधारमा नागरिकता पाउने हो – जन्मको आधारमा दिने प्रावधान हाल कायम छैन । त्यसैले जन्मका आधारमा नागरिकता लिनेको भीड भन्ने शीर्षक सच्याउने कि?

Leave a Reply

Your email address will not be published. Required fields are marked *