कडा लागुऔषध एलएसडी नेपाल भित्र्याउने र बिक्री वितरण गर्ने गिरोह प्रहरीको फन्दामा (भिडिओ) – Nepal Press

कडा लागुऔषध एलएसडी नेपाल भित्र्याउने र बिक्री वितरण गर्ने गिरोह प्रहरीको फन्दामा (भिडिओ)

काठमाडौं । नेपालमा कमै नाम सुनिने गरिएको हार्ड ड्रक्स एलएसडी ठूलो परिमाणसहित गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले स्टिकरमा लेपन गरेर नेपाल भित्र्याउनेदेखि ट्रान्स पार्टीहरुमा पुर्‍याउनेसम्मको गिरोहलाई पक्राउ गरेको हो ।

काठमाडौंको बुढानिलकण्ठ, मकवानपुरको चित्लाङ र ठमेलको एक क्लबमा ट्रान्स पार्टी आयोजना भएको सुइको पाएपछि प्रहरीले गिरोहको खोजी गरेको थियो । ब्युरोका अनुसार काठमाडौंको चन्द्रागिरीबाट असार ५ गते २९ वर्षीय सुगम मैनाली ७ वटा पिसको स्टिकरसहित पक्राउ परेका थिए ।

प्रहरीका अनुसार एउटा पिसको २ हजारदेखि ५ हजार रुपैयाँसम्म गर्छ। सुगमलाई प्रयोग गरेर प्रहरीले मुखिया गुरुङलाई पक्राउ गरेको थियो । गुरुङ यसअघि पनि लागुऔषध कारोबारमा २०७५ सालमा पक्राउ परी दुई वर्षभन्दा बढी जेल बसेर छुटेका थिए । प्रहरीले गुरुङको साथबाट ३ हजार ७०० मिलिग्राम कोकिन बरामद गरेको थियो ।

गुरुङकै माध्यमबाट प्रहरीले विराटनगरका २६ वर्षीय बच्चन भन्ने राज गौतमलाई पक्राउ गरेको थियो । गौतम नेपालका विभिन्न स्थानमा ट्रान्स पार्टी आयोजना गर्ने र त्यहाँ एलएसडी पुर्‍याउने प्रमुख सदस्य रहेको ब्युरोका एसपी चक्र जोशीले बताए ।

गौतमसँगै पक्राउ परेकी चेक गणतन्त्रकी ३२ वर्षीया मार्टिना सर्नाको साथबाट २६ थान स्टिकर र मेथामफेन्टामाइन ४ सय मिलिग्राम बरामद भएको थियो ।

उनीहरुकै माध्यमबाट एलएसडी नेपाल भित्र्याउने इटालीका डेभिड मिनाडियो पक्राउ परेका थिए । मिनाडियो बस्दै आएको ठमेलको होटल कोठाबाट १० हजार ९८ थान एलएसडी, ३८ ग्राम मेथामफेन्टामाइन, १ लाख ३९ हजार भारतीय रुपैयाँ, ७ सय युरो बरामद भएको थियो । उनी भारत हुँदै नेपाल भित्रिएको अनुसन्धानबाट खुलेको छ ।

‘एलएसडी जिब्रोमा राखेपछि आफैं बिलाउँछ र घण्टौंसम्म झुम्म बनाउँछ । यति ठूलो परिमाणमा यो ड्रग्स यसअघि नेपालमा बरामद भएको थिएन’, जोशीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर