सहकर्मीलाई कुटपिट गर्ने सशस्त्र प्रहरीका इन्स्पेक्टर निलम्बित – Nepal Press

सहकर्मीलाई कुटपिट गर्ने सशस्त्र प्रहरीका इन्स्पेक्टर निलम्बित

विराटनगर । सहकर्मीलाई पानीमा चोपल्दै शारीरिक यातना दिने सशस्त्र प्रहरीका इन्स्पेक्टर नमप्रभाव राई निलम्बनमा परेका छन् ।

राईले आफ्नै संगठनका सहकर्मीलाई पानीमा चोबल्दै, खेदाउँदै निर्घात कुटपिट गरेको घटना बाहिरिएलगत्तै सशस्त्र प्रहरी बल नेपाल मुख्यालयले छानबिन समिति गठन गरेको थियो ।

सशस्त्रका एआईजी चन्द्रप्रकाश गौतमको नेतृत्वमा गठन भएको तीन सदस्यीय छानबिन समितिको प्रतिवेदनका आधारमा राईलाई निलम्बन गरी अनुसन्धान थालिएको सशस्त्र प्रहरीका डीआईजी अञ्जनीकुमार पोखेलले जानकारी दिए ।

राईले कुटपिट गरेको घटना सार्वजनिक भएको भोलिपल्ट नै तीन सदस्यीय छानबिन समिति गठन भएको थियो ।
इन्स्पेक्टर राईको कुटपिटबाट घाइते भएका पाँच जना सशस्त्र प्रहरीलाई बराह बाहिनी सुनसरीमा राखेर उपचार भइरहेको छ ।

मङ्गलबार राति मेचीनगर- ५ स्थित नकलबन्दामा सादा पोशाकमा रहेका इन्स्पेक्टर राई, सशस्त्र जवानहरू रामसुन्दर तामाङ र जीवन बाँस्तोलाले गाईगोरु कटाएको भन्दै ड्युटीमा खटिएका सशस्त्रका वरिष्ठ हवल्दार पासाङ तामाङ, सशस्त्र प्रहरी हवल्दारहरु गणेशबहादुर तामाङ, रामबहादुर कार्की, सशस्त्र प्रहरी सहायक हवल्दार शान्तबहादुर राई र सशस्त्र जवान उमेश राजवंशीलाई कुटेका थिए ।

सादा पोशाकमा आएका इन्स्पेक्टर राईसहितको टोलीले बर्दीधारी सशस्त्रलाई सार्वजनिक स्थलमा कुटपिट गरिरहेको देखेपछि त्यहाँका स्थानीय प्रतिकारमा उत्रिएका थिए । त्यसपछि घटनास्थल तनावग्रस्त बनेको थियो । स्थानीयले सशस्त्रको बीएबी ३२४६ नम्बरको गाडी तोडफोड गर्दै इन्स्पेक्टर राईसहितको टोलीलाई कारबाहीको माग गर्दै चर्को नाराबाजीसमेत गरेको प्रत्यक्षदर्शीहरू बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर