जसपा धनुषामा विवाद- उपेन्द्र यादवलाई चुनौती दिँदै समानान्तर समिति घोषणा – Nepal Press

जसपा धनुषामा विवाद- उपेन्द्र यादवलाई चुनौती दिँदै समानान्तर समिति घोषणा

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) धनुषामा चरम विवाद देखिएको छ । पार्टीमा गुटबन्दीका कारण दुई जिल्ला कार्य समिति घोषणा भएको हो ।

जसपा अध्यक्ष उपेन्द्र यादवको निर्देशन र उपस्थितिमा चार दिनअगाडि कार्यदलका संयोजक तथा सांसद दीपक कार्कीले पुनः पशुपति यादवलाई जिल्ला अध्यक्ष घोषणा गरेका थिए ।

पशुपतिको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला समिति बनाइयो । सो कार्य समितिका पदाधिकारीलाई शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण पनि गराइयो । नवगठित समितका ७ जनाले शपथ लिएका थिएनन् ।

पशुपति नेतृत्वको जिल्ला समितिलाई धनुषाका अधिकांश केन्द्रीय र प्रदेश समितिका पदाधिकारी स्वीकारेनन् । स्वीकार नगर्नेहरूमा राजनिति समिति सदस्यहरू उर्मिला साह, अरुण सिंह मण्डल, चन्देश्वर सदा, केन्द्रीय सदस्य एवम् पूर्व प्रदेश सांसद चमेलीदेवी दास, प्रदेश सचिव जितेन्द्र कुमार यादव, प्रदेश सदस्य एवंम् पूर्वमन्त्री ज्ञानेन्द्रकुमार यादवलगायत छन् ।

उनीहरूले शनिबार शत्रुधन यादवको नेतृत्वमा समानान्तर समिति घोषणा गरेका छन् । समितिको वरिष्ठ उपाध्यक्षमा चन्द्रदीप गोइत यादव, उपाध्यक्षमा ललित मण्डल, सचिवमा बरुणकुमार यादव, सह- सचिवमा सीता मंडल र कोषाध्यक्षमा सुजीता यादवलाई राखिएको छ ।

समानान्तर समिति घोषणा राजनीति समिति सदस्य तथा प्रदेश सह-ईन्चार्ज उर्मिला साहको प्रमुख आतीथ्यमा गरिएको छ । साहले नै शत्रुधन नेतृत्वमा घोषणा गरिएको समितिका पदाधिकारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराक्षनन् ।

धनुषामा समानान्तर समिति घोषणा गरेर राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई सोझै चुनौती दिएकोले सो कार्यमा संलग्नलाई कारबाही हुने मधेश प्रदेशका अध्यक्षसमेत रहेका कार्यकारिणी सदस्य रामबाबु यादवले चेतावनी दिएका छन् ।

‘जसपा अध्यक्ष पशुपति यादव छन्,’ उनले भने, ‘पार्टी विधानविपरीत गुटबन्दी गर्नेहरुलाई कारबाही गरिनेछ । जिल्ला कमिटीको विरोधमा अर्को भेला गर्नेहरूलाई स्पष्टीकरण सोधिनेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर