आजदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी, ११ देशका विज्ञहरुले कार्यपत्र पेश गर्ने – Nepal Press

आजदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी, ११ देशका विज्ञहरुले कार्यपत्र पेश गर्ने

रुपन्देही । आजदेखि लुम्बिनीमा लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायले अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आयोजना गर्न लागेको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय कार्यालयको सभाहलमा हुने यो गोष्ठी आज र भोली चल्नेछ ।

नेपालसहित श्रीलंका, थाइल्याण्ड, म्यानमार, जापान, बंगलादेश, भारत, ताइवान, पोर्चुगल, फान्सलगायतका देशका बौद्ध भिक्षु तथा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । यसका लागि विभिन्न देशका विज्ञहरु लुम्बिनी आइसकेका छन् ।

विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न बौद्ध शिक्षाको सान्दर्भिकता विषयक गोष्ठीमा विभिन्न देशका विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने र त्यसमाथि छलफल गर्ने कार्यक्रम रहेको बौद्ध अध्ययन संकायका डीन डा। माणिकरत्न शाक्यले जानकारी दिए।

अहिले विश्वभरका मानिसहरु वातावरणीय संकट, ग्लोबल वार्मिङ, पारिस्थितिक असन्तुलन र शारीरिक तथा मनोवैज्ञानिक रोगजस्ता विभिन्न प्रकारका समस्याहरुबाट गुज्रिरहेको अवस्थामा बुद्धको जन्मस्थलबाट विशेषगरी बुद्ध शिक्षाको सान्दर्भिकता खोज्नुपर्ने आवश्यकता देखिएकाले गोष्ठीको आयोजना गरिएको डीन शाक्यले बताए ।

बौद्ध शिक्षाको महत्व, लुम्बिनीसहितका बौद्ध स्थलहरुको संरक्षण र विकास तथा बौद्ध विश्वविद्यालयका शैक्षिक कार्यक्रम सम्बन्धमा छलफल र बहस हुने यो कार्यक्रममा बौद्ध दर्शन र योगका विषयमा प्यानल छलफलसमेत आयोजना गरिएको छ । यसका लागि योगी बालकृष्ण आचार्यसहितका योगविज्ञानका प्रशिक्षकहरु आउने भएका छन् ।

त्यसैगरी समकालीन विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न बौद्ध शिक्षाका कुन रूपहरू आवश्यक छन्, यस्तो शिक्षा फैलाउन लुम्बिनी बौद्ध विश्वविद्यालयले कसरी योगदान गर्न सक्छ र संसारभरका मानिसहरूले कस्ता प्रकारका पाठ्यक्रमहरू अपेक्षा गर्छन् भन्ने विषयमा छलफल गराउने कार्यक्रम रहेको छ ।

वर्तमान विश्वव्यापी परिप्रेक्ष्यमा महत्वपूर्ण लागू हुने आवश्यक बौद्ध शिक्षा पाठ्यक्रमहरूको पहिचान र छलफल गर्ने उद्देश्य राखेको यो कार्यक्रमले बौद्ध शिक्षाको महत्वमा केन्द्रीत भएर लुम्बिनी बौद्ध विश्वविद्यालयले प्रदान गर्ने शैक्षिक कार्यक्रमहरूको बारेमा जानकारी दिन र मानवले सामना गरिरहेका जटिल समस्याहरूलाई सम्बोधन गर्न योगदान पु¥याउने विश्वास गरिएको निमित्त रजिष्टार डा। तिलक आचार्यले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *