गिभिना र नर्सहरुबीचको विवाद के हो ? – Nepal Press

गिभिना र नर्सहरुबीचको विवाद के हो ?

१४ लाख फलोअर्स भएको गिभिनाको टिकटक आइडी ‘ब्यान्ड’

काठमाडौं । पेशाले शिक्षिका तथा समाजसेवी गिभिना मगरको टिकटकमा १४ लाख भन्दा बढी फलोअर्स थिए । तर, हालै टिकटकले उनको अकाउन्ट बन्द गरिदियो । आखिर किन त ?

यसको जरो जोडिएको छ, भरतपुर क्यान्सर अस्पतालको एउटा घटनासँग । क्यान्सर लागेकी १६ वर्षीया अर्चना मगरको उपचार सो अस्पतालमा भइरहेको थियो । उनको उपचारमा सहयोग गर्दै आएकी गिभिना केही दिनअघि अस्पताल पुगेकी थिइन् । त्यहाँ ड्यूटीमा रहेका नर्ससँग उनको विवाद भयो ।

गिभिनाका अनुसार २ बजे सिरिन्जबाट प्रयोग गर्नुपर्ने औषधि साढे ४ बजे दिइएको थियो । तर नर्सले रेकर्ड भने दुई बजेकै राखेपछि आफूले प्रतिवाद गरेको उनको दाबी छ । बिरामीलाई साढे २ घण्टाको असरले जे पनि हुन सक्ने भन्दै आफूले प्रश्न गर्दा नर्सहरुले आफू र बिरामीमाथि नै अपमानजनक शब्दहरु प्रयोग गरेको उनले टिकटक भिडिओमा बताएकी छन् ।

‘मैले नर्सलाई २ बजे प्रयोग गर्नुपर्ने औषधि साढे ४ बजे प्रयोग गरेर रेकर्डमा २ बजे लेख्न मिल्छ ? भनेर सोधेको भिडिओ पोस्ट नगर्न नर्सहरुले दवाव दिए । त्यसपछि मैले भिडिओ ड्राफ्टमा राखेको थिएँ । तर, बिरामी र ममाथि पनि खराब व्यवहार भएपछि भिडिओ पोस्ट गरेको हुँ’, गिभिनाले सामाजिक सञ्जालमा भनेकी छन् ।

गिभिनाले अर्चनाको उपचारमा आर्थिक सहयोगका लागि टिकटक तथा फेसबुकमार्फत अपील गरेकी थिइन् । यसलाई लिएर नर्सहरुले आपत्ति जनाएका छन् । बिरामीको फोटो भिडिओ हालेर रकम संकलन गरेको भन्दै उनीहरुले टिकटकमा रिपोर्टसमेत गरेपछि गिभिनाको अकाउन्ट ब्यान्ड भएको बुझिन्छ ।

आफूले विभिन्न व्यक्तिहरुबाट उठाएको सहयोगले बिरामीको उपचार गराउँदा नर्सहरुले भिखारी भन्दै अपमान गरेको गिभिनाको आरोप छ ।

आर्थिक अभावका कारण दुई महिनादेखि उपचार रोकिएपछि जीवनरक्षाका लागि अर्चनाले आग्रह गरेको र आफूले सहयोग जुटाउन थालेको उनी बताउँछिन् । व्यक्तिगत रुपमा नचिनेकी अर्चनालाई आफूले स्वच्छ मनले उपचारमा सहजीकरण गर्दा नर्सहरुबाट खराब व्यवहार भएको उनको गुनासो छ ।

अर्चना ९ वर्षकै हुँदा बुबाको निधन भएको थियो । अर्को विवाह गरेर गएकी आमाले नै पहिले खर्च जुटाउँदै उपचार गराएकी थिइन् । तर, उनले पनि हात छोडेपछि आफूले अग्रसरता लिएको गिभिनाको भनाइ छ ।

अस्पतालमा नर्स र गिभिनाबीचको विवाद जिल्ला प्रहरी कार्यालय चितवनमा समाधान भइसकेको तर त्यसपछि सोही अस्पतालमा कार्यरत नर्सको छोराले फोन गरेर आफूलाई धम्की दिएको गिभिनाले दाबी गरेकी छन् ।

त्यसपछि आफू केही मानिसहरुसहित अस्पताल पुगेर धम्कीबारे कुरा गर्दा करिब डेढ दर्जन नर्सहरुले घेरेर ‘भिखारी’ को आरोप लगाएको पनि उनको भनाइ छ । गिभिनाका समर्थक र स्थानीय तथा अन्य बिरामीका आफन्तले भने नर्सहरुको कार्यशैलीप्रति विरोध जनाउँदै प्रदर्शन गरेका थिए ।

घटना बाहिर आइसकेपछि नर्सको व्यवहारप्रति असन्तुष्ट जनाउँदै अस्पताल प्रांगणमा प्रदर्शन भयो । जहाँ नर्सहरुलाई पनि गालीगलौज गरिएको थियो । टिकटकमा पनि तिव्ररुपमा गालीगलौज सुरु भएपछि नर्सहरुले आफूमाथि अपमान भएको तथा गलत प्रचार गरिएको भन्दै जिल्ला प्रहरीका कार्यालय चितवनमा निवेदन दिएका छन् । प्रहरीले दुवै पक्षलाई मिलाउने प्रयास गरिरहेको छ ।

यस विषयमा गिभिनासँग कुरा गर्न खोज्दा प्रहरीले मेलमिलापको प्रयास भइरहँदा मिडियासँग कुरा नगर्नु भनेको बताइन् ।

अनुमतिबिना भिडिओ खिचेर टिकटकमा हाल्नु गलत हो : नर्सिङ संघ

नर्सिङ एसोसियसन अफ नेपालले हिजै एक विज्ञप्ति जारी गर्दै नर्सहरुविरुद्ध भएको नाराबाजीप्रति निन्दा गरेको छ । महासचिव नर्वदा थापा र सचिव प्रमिला थकालीद्वारा हस्ताक्षरित विज्ञप्तिमा ड्यूटीको समयमा भएका बिरामी, कुरुवा र नर्सबीच भएको संवादलाई अनुमतिबिना भिडिओ खिचेर सामाजिक सञ्जालमा पोस्ट गरिएको भन्दै दुख व्यक्त गरिएको छ । यस्ता कार्यमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि सचेत हुन संघले आग्रह गरेको छ ।

नेपाल प्रेससँग कुरा गर्दै महासचिव थापाले अस्पतालका नर्सले २ बजे प्रयोग गर्ने औषधि ४ बजे मात्रै आइपुगेपछि गर्ने भनेर सोधेको र पछि विवाद मिलेको बताइन् । त्यसपछि के भयो भन्नेबारे धेरै जानकारी नभएको भन्दै उनले भोलि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जानकारी दिइन् ।

‘हामीलाई पनि ठ्याक्कै सबै कुरा थाहा छैन, तर २ बजे चलाउनुपर्ने औषधि ४ बजे मात्रै आइपुगेछ र नर्सले के गरौं भनेर सोध्दा आपसी विवाद भएको रहेछ । यस विषयमा हामी भोलि थप प्रष्ट पार्छौं’, थापाले भनिन् ।

नर्सहरुको प्रदर्शन

यसैबीच आफूहरुमाथि सामाजिक सञ्जालमा गालीबेइज्जती भएको भन्दै नर्सहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । माइतीघरमा उनीहरुले प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

टिकटक लगायत अन्य सामाजिक सञ्जालमा नर्सहरूको चरित्र हत्या गरिएको उनीहरुको गुनासो छ । विभिन्न भिडिओलाई लिएर नर्सहरूमाथि आरोप लगाउने, चरित्रहत्या गर्ने काम भएकोले त्यस्तो बन्द गर्न नर्सहरुले आग्रह गरेका छन् । भिडिओ बनाएर हाल्ने व्यक्तिहरूलाई पनि कारबाहीको माग गरेका छन् ।

यस्तै, नर्सहरूको सुरक्षा, सेवा–सुविधाका सवालमा पनि सरोकारवालाहरूको ध्यानाकर्षण गराइएको छ । त्यसैगरी विभिन्न मेडिकल कलेजहरूमा नर्सहरूमाथि हुने गरेका दुव्र्यवहार विरुद्ध पनि प्रदर्शन गरिएको उनीहरूको भनाइ छ ।


प्रतिक्रिया

4 thoughts on “गिभिना र नर्सहरुबीचको विवाद के हो ?

  1. २ बजे प्रयोग गर्नुपर्ने औषधि साढे ४ बजे प्रयोग गरेर रेकर्डमा २ बजे किन लेखेका होलान त नर्शहरूले ? विरामी त्यो पनि क्यान्सर लागेको विरामीको स्वास्थ्यमा खेलवाड जस्तो देखियो । राजनितिक पद्धतिलाई मात्र गलत देख्ने हाम्रा आंखाहरू यस्ता विषयहरूमापनि उत्तरदायि हुनु पर्छ कि?

  2. Yo hospital kai laparbahi ho tyaha lam garne Dr nurse harule yasto Apa sabda bolnu bhaneko aafailai giraunu ho Givinna le j garnu bhako cha sahi garnu bhako cha tyaha ko nurse harule bhikari bhannu Kati Samma ko hepae words ho tyo de nurse harulai nepal government le phaleko cha ki ? Tyahi treatment garnu aaune passent le Palerko cha yo kura bujnu parcha tyaha ko staff harule …

  3. गिभिनाको केही गल्ती छैन, गलत देखेपछी आवाज उठाउनु सबै नागरिकको दायित्व हो, ब्यक्तीको स्वास्थ्य सङ्ग खेलवाड गर्दा चाहिँ तिनिहरुलाइ छुट दिनु पर्ने अनि गिभिनालाइ कारबाही हुनु पर्ने? पहिला त्यही नर्सहरुलाइ कारवाही हुनु पर्छ।

  4. अस्पताल बिशेष गरि सरकारी अस्पतालमा नर्सहरुले गर्ने दुर्व्यवहार कसैबाट लुकेको छैन । बिदेशमा समेत नेपाली नर्सहरुले दुर्व्यवहार गरेर सजाय पाएको प्रशस्त उदाहरणहरु छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर