जेल यात्रापछि पलको पहिलो पत्रकार सम्मेलन- सनिशालाई अनामनगरमा भेटेको होइन ! – Nepal Press

जेल यात्रापछि पलको पहिलो पत्रकार सम्मेलन- सनिशालाई अनामनगरमा भेटेको होइन !

काठमाडौं । अभिनेता पल शाहले जेलमुक्त भएपछि पहिलोपटक हिजो पत्रकार भेटघाट राखे । सन्दर्भ थियो, उनको दोस्रो म्युजिक भिडियोको लञ्च ।

पलको पत्रकार सम्मेलन भनेपछि पत्रकार/युट्यूबरहरुको चासो बढ्ने भइहाल्यो । उनले जेलबाट निस्किएदेखि कुनै मिडियालाई पनि अन्तरवार्ता दिएका थिएनन् । यतिसम्म कि उनले आफ्नो पहिलो म्युजिक भिडियो ‘तिमीलाई हेर्ने बानी पर्यो’ पनि आफ्नै सामाजिक सञ्जालबाट मात्र प्रचार गरेर गरेर सार्वजनिक गरेका थिए ।्

पहिलो भिडियोले अपेक्षित भ्यूज नपाएर हुन सक्छ, पलले आफ्नो दोस्रो म्युजिक भिडियो ‘आँशु बनि नखस कहिले नि’ सार्वजनिक गर्नुपूर्व भने सबै मिडियालाई निम्त्याएका थिए । मिडियाहरुको राम्रै उपस्थिति थियो ।

पत्रकारहरु पललाई उनको जेलजीवन र त्यसअघिका घटनाक्रमहरुबाट सोध्न व्यग्र थिए । तर, पत्रकार सम्मेलन सुरु अगावै सञ्चालक नरेश भट्टराईले गीतबाहेक ‘बाहिरी’ विषयमा प्रश्न नसोध्न आग्रह गरे । ‘ज्ञानी’ पत्रकारहरुले संकेत बुझिहाले । उनीहरुले पनि पलमाथि लागेको आरोप र उनको जेलजीवनबारे कुनै प्रश्न गरेनन् ।

पलले जेल बसाइका केही प्रसंग सुनाए, तर ‘जेल’ शब्द उच्चारण गरेनन् । कार्यक्रमभरि उनले कारागारलाई ‘विश्वविद्यालय’ भनेर सम्बोधन गरे । आफू विश्वविद्यालय बस्दा नै टिभीमा सनिसाको भिडियो हेरेको तथा उनीसँग काम गर्ने योजना बनाएको उनले सुनाए ।

मुस्ताङमा सुटिङ गर्ने सोचाई पनि विश्वविद्यालय बस्दा नै बनाएको पलको भनाइ थियो । कार्यक्रममा धेरै चर्चा मुस्ताङबारे नै भयो । अब अरु कुरा सोध्न नपाएपछि गीतकै कुरा हुनु स्वभाविक पनि हो । उनको म्युजिक भिडियोको छायांकन मुस्ताङमा भएको थियो ।

पलले हर्षित हुँदै सुनाए, ‘मुस्ताङसँग मेरो पहिलेदेखि नै राम्रो कनेक्सन छ । म भ्रमणमा रुचि राख्ने भएकाले मुस्ताङ गइरहन्थेँ पनि । मलाई त्यो ठाउँ मनपर्छ । सुरुमा म्युजिक भिडियोको लोकेसनबारे सल्लाह गर्न बस्दा पनि मैले पहिलो प्राथमिकतामा मुस्ताङलाई नै राखेको थिएँ । मुस्ताङको हरियाली, वापाखा, खोलानालालाई म हरपल सम्झिन्थेँ ।’

उनले विश्वविद्यालयभित्र बस्दा र ध्यान गर्दासमेत आफ्नो कल्पनामा हरबखत मुस्ताङ नै आउने बताए ।

‘हामी विश्वविद्यालयमा बस्दा १०, २० फिटको अग्लो पर्खाल र खुला आकाशबाहेक केही देख्न पाउँदैन थियौं । त्यहाँ हामी एउटा शवासन भन्ने ध्यान गर्थ्यौं । त्यो ध्यान सकिएपछि हामी शवजस्तो भएर भुइँमा सुत्नुपर्थ्यो । त्यसरी सुत्नुअघि हामीलाई गुरुले त्यो १०, २० फिटको पर्खालदेखि बाहिर निस्किएको अथवा कोही आफ्ना-आफन्त वा साथीभाइसँग भेटेको आभास गर्नु भन्नुहुन्थ्यो । त्यो समयमा मैले आँखा चिम्लिँदा देख्ने एउटै ठाउँ हो मुस्ताङ । यहाँबाट निस्किने बित्तिकै सुरुमै मुस्ताङ पुग्न चाहन्छु भनेर हरपल भगवानसँग प्राथना गर्थेँ । निस्किएपछि सुरुको काम मुस्ताङ पुगेर गर्ने मौका पाउँदा सपना पुरा भएझैँ लागेको छ ।’

आफ्ना दुईटै भिडियोमा मोडल सुनिशा भट्टराईलाई लिएकोबारे उनले सुनाए, ‘म भित्र विश्वविद्यालयमा बस्दा सनिशाको म्युजिक भिडियो हेरेको थिएँ । मलाई उहाँको अभिनय एकदमै मन परेको थियो,’ उनले हाँस्दै थपे, ‘को केटी आएछ, यस्तो राम्रो भन्ने लागेको थियो । त्यहीमाथि उहाँले अभिनय गर्नुभएको पहिलो गीत नै हिट भयो । म त उहाँलाई ‘एक्सप्रेसन क्वीन’ नै भन्न चाहन्छु । यहाँबाट निस्किएपछि उहाँसँग एकचोटी काम गर्छु भन्ने थियो । निस्किएपछि उहाँलाई प्रस्ताव राखियो । धन्न उहाँले नो भन्नुभएन । अनि सहकार्य अघि बढ्यो ।’

यसैबीच अर्का पत्रकारले प्रश्न राखे, ‘सनिशाजीलाई विश्वविद्यालयमा स्क्रिनमा देख्दा र अनामनगरमा भेट्दा के फरक पाउनुभयो ?’

उक्त प्रश्नको जवाफ पलले हतारिँदै दिए, ‘मैले अनामनगरमा भेटिनँ । मैले सिधै उहाँलाई सेटमा भेटेको हो । मेरो काम र मेरो कम्पनीको हरेक डिलहरु अर्जुन तिवारी दाईले गर्नुहुन्छ । उहाँले डिल ओके गर्नुभयो । मैले उहाँसँग डाइरेक्ट सेटमा भेटेर हाई भनेको हो ।’

सनिशाले पनि पलसँग सही थापिन् । उनले पलसँग सहकार्य गर्न पाउँदा आफू एकदमै खुशी भएको सुनाइन् । उनले भनिन्, ‘म उहाँलाई पहिलेदेखि नै हेर्थेँ । मलाई उहाँले गर्नुभएको हरेक काम मनपर्छ । उहाँको हरेक चिज मनपर्छ । म त उहाँको फ्यान नै हो । उहाँको गीतसंगीत अनि उहाँको चलचित्रको फ्यान हो । उहाँको प्रस्ताव सुन्ने बित्तिकै केही नसोची ओके भनेँ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर