लुम्बिनी बौद्ध विश्वविद्यालयमा रजिष्ट्रार नियुक्तिको आलटाल, सिफारिस उल्ट्याउन धार्मिक संस्थाका व्यक्ति सक्रिय – Nepal Press

लुम्बिनी बौद्ध विश्वविद्यालयमा रजिष्ट्रार नियुक्तिको आलटाल, सिफारिस उल्ट्याउन धार्मिक संस्थाका व्यक्ति सक्रिय

काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालयमा रजिष्ट्रार नियुक्तिका लागि प्रकृया पूरा गरेर सिफारिस गरिएपनि नियुक्तिमा आलटाल गरिएको छ । विभिन्न प्रकृया पूरा गरेर नियुक्तिको सिफारिस उल्ट्याउन धार्मिक संस्थाका व्यक्तिहरु सक्रिय भएका छन् ।

गत चैत १ गतेदेखि विश्वविद्यालयमा रिक्त रजिष्ट्रार नियुक्तिमा कानूनी र प्रक्रियागत समस्या नभएपनि अन्य विश्वविद्यालयमा गरिएपनि यहाँ ढिलाई भएपछि अहिले प्रश्न उठ्न थालेको छ ।

विश्वविद्यालय ऐनले उपकुलपतिको सिफारिसमा कुलपतिले रजिष्ट्रार नियुक्त गर्ने व्यवस्था प्रष्टसँग लेखेको छ । उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले खुला प्रतिस्पर्धा गराई मूल्याङ्कनबाट रजिष्ट्रार नियुक्तिका लागि डा. तिलकराम आचार्यको नाम सिफारिस गरेका थिए ।

उपकुलपतिले वैशाख ८ गते नाम सिफारिस गरेपनि कुलपति रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अझैसम्म नियुक्त गरेका छैनन् । यसबीचमा प्रधानमन्त्रीले मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्त गरेका छन् ।

विश्वविद्यालयमा शैक्षिक तथा प्रशासनिक कार्य सञ्चालनको जिम्मेवारी रजिष्ट्रारको रहेको हुन्छ । तर समयमै नियुक्त नगर्दा विश्वविद्यालयको कार्य प्रभावित भइरहेको विश्वविद्यालयले जनाएको छ । यता रजिष्ट्रार नियुक्तिको सिफारिस उल्ट्याउनका लागि धार्मिक संस्थाका व्यक्तिहरु सक्रिय हुँदा नियुक्तिमा ढिलाई भइरहेको बताइएको छ ।

पहिलो नम्बरमा सिफारिस भएका व्यक्तिलाई रोकेर पाँचौं नम्बरका व्यक्तिलाई नियुक्ति दिन केही व्यक्तिहरु शिक्षामन्त्री तथा प्रधानमन्त्री कार्यालयमा पुगेका छन् ।

रजिष्ट्रारको नियुक्ति रोक्न ब्योम कुशुम बुद्ध धर्म संघका प्रतिनिधि मुकुन्द विष्टले सक्रियता देखाएका हुन् । धार्मिक गुरु श्रीधर राणा रिम्पोक्षेको प्रभाव दुरुपयोग गर्दै उनले रजिष्ट्रार नियुक्तिको विषयमा अनावश्यक सक्रियता देखाएको स्रोतले जनाएको छ ।

उनको नेतृत्वमा धर्माेदय सभाका उपाध्यक्ष केशवमान शाक्य, महासचिव सागरमान बज्राचार्यसहितका व्यक्तिहरु शिक्षा मन्त्रालय, प्रधानमन्त्री कार्यालय धाइरहेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठका स्वकीय सचिव कृष्णहरि पौडेलले भने मन्त्रीले बोलाएका कारण उनीहरु मन्त्रालय आएको जिकिर गरे ।

धर्माेदय सभाका उपाध्यक्ष डा. केशवमान शाक्यले एउटै व्यक्तिलाई पटक–पटक रजिष्ट्रार बनाउन नहुने भन्दै आफूहरुले ज्ञापनपत्र बुझाएको बताए । ‘हामी कहाँ गुनासो आयो, त्यसैका आधारमा प्रधानमन्त्री र शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाएका छौं, उनले भने ‘मेरिटमा आए पनि एउटै हुनुहुँदैन ।’

मेरिट लिष्टमा छानिएको व्यक्ति हुनुहुँदैन भन्ने एजेण्डा हो भन्ने प्रश्नमा उनले त्यो विषयमा आफूले धेरै अध्ययन नगरेको बताए । बयोम कुशुम धर्म संघका प्रतिनिधि मुकुन्द विष्टले पाँचौं नम्बरमा नाम रहेका व्यक्तिलाई रजिष्ट्रार बनाउनुपर्ने भन्दै ज्ञापनपत्र बुझाएको बताए ।

धर्माेदय सभाका महासचिव सागरमान बज्राचार्यले भने आफूहरुको माग कुनै व्यक्ति विशेषलाई नियुक्त गर्ने भन्ने विषय नभएको भन्दै बौद्ध दर्शन बुझेको व्यक्ति नेतृत्वमा हुनुपर्ने मान्यता रहेको बताए । ‘धर्माेदय सभाले कुनै व्यक्तिलाई नियुक्ति गर भन्दैन, त्यो त मूल्यांकन समितिको काम हो, विश्वविद्यालयले नै गर्छ, उनले भने, हामी बौद्ध दर्शन जानेको व्यक्ति पदाधिकारी बनोस् भन्ने चाहन्छौं । को कति पटक नियुक्त भयो भन्ने चासो धर्माेदय सभालाई रहदैन ।’ उनले विश्वविद्यालयको स्थापनामा धर्माेदय सभाको योगदान रहेको बताए ।

लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गर्दा जनस्तरबाट सञ्चालन गर्ने भनिएको थियो । तर बौद्ध सम्बद्ध धार्मिक संस्थाहरुले कुनै सहयोग नगरेपछि सरकारले जनस्तर भन्ने शब्द झिकेर आफ्नो पूर्ण स्वामित्वमा विश्वविद्यालय सञ्चालन गरिरहेको छ । विश्वविद्यालयको विकासमा कुनै योगदान नगरेका धार्मिक संस्थामा जोडिएका व्यक्तिहरुले नै पदाधिकारी नियुक्तिदेखि तल्लो तहका पदीय नियुक्तिमा अनावश्यक प्रभाव पार्दै आइरहेको विश्वविद्यालयका एक प्राध्यापकले बताए ।

यसअघि विश्वविद्यालयको उपकुलपति नियुक्तिमा अवरोध सिर्जना गरिँदा सात महिनापछि मात्रै विश्वविद्यालयले उपकुलपति पाएको थियो । हाल उपकुलपति नियुक्त भएका प्रा.डा. सुवर्णलाल बज्राचार्य थेरवाद पृष्ठभूमिका मानिन्छन् । उनको नियुक्ति रोक्न खोजेका व्यक्तिहरु नै रजिष्टार नियुक्तिमा अवरोध गर्न प्रधानमन्त्री कार्यालय र शिक्षा मन्त्रालयमा पुगेको बताइएको छ । ‘उपकुलपतिलाई असफल बनाउने प्रयत्न देखिएको छ, एक जानकारले भने,–‘सानो नियुक्तिमा पनि थेरवाद र बज्रयानको लडाई देखियो ।’

रजिष्ट्रार सिफारिसका लागि छनौट गर्न खुला रुपमा दरखास्त आह्वान गरिएको थियो । जसमा ७ जनाको आवेदन परेको थियो । आवेदनका साथमा रजिष्ट्रार हुँदा गर्ने कामको सोचपत्र माग गरिएको थियो । उनीहरुको मूल्याङ्कनका लागि राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेशचन्द्र पौडेलको अध्यक्षतामा मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा.उपेन्द्र कुमार कोइराला र शिक्षाविद् प्रा.डा. पुष्कर बज्राचार्य सदस्य रहेको समिति गठन गरिएको विश्वविद्यालयले जनाएको छ ।

मूल्याङ्कन समितिले गरेको अन्तर्वार्ता तथा विश्वविद्यालयको सोचपत्रको अन्तिम मूल्याङ्नबाट आचार्यले सबैभन्दा धेरै अंक पाएका थिए । विश्वविद्यालय स्रोतका अनुसार उनले एक सय पूर्णांकमा ८० अंक पाएका थिए भने दोस्रो स्थानमा रहेका प्रा.डा. नरेन्द्र कटुवालको ६३ अंक छ । आचार्य पूर्वरजिष्ट्रार हुन् ।

विश्वविद्यालयको बेरुजु फछ्र्याैटमा उत्कृष्ट भएको मुख्यसचिव नेतृत्वको बेरुजु फछ्र्याैट समितिले उनलाई तीन पटक पुरस्कृत गरेको थियो । उनी रजिष्ट्रार अफ द इयरबाट समेत सम्मानित भएका थिए । मूल्याङ्कन समितिले उम्मेद्वारको दीर्घकालीन दृष्टिकोण तथा अन्तर्वार्ताका आधारमा मूल्याङ्कन गरिएको जनाएको छ ।

मूल्याङ्कन समितिका अध्यक्ष राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेशचन्द्र पौडेलले विश्वविद्यालयका उपकुलपतिले नियुक्तिलाई पारदर्शी बनाउन तय गरेको खुला छनौट विधिको आधार प्रकृयागत तरिकाले नियुक्तिको सिफारिस भएको जनाए ।

‘छनौट विधिको क्राइट एरियाका आधारमा व्यक्ति सिफारिस भएको र अन्तर्वार्तामा पनि पेश गरिएको कागपत्र तथा अनुभवका आधारमा नम्बर दिइएकाले यसमा कुनै प्रश्न उठाउने ठाउँ छैन’ उनले भने ‘टियुमा भिसीले सिफारिस गरेको व्यक्ति सिधै छनौट भएको अवस्था छ, लुम्बिनीमा भिसीले एउटा प्रकृयाबाट सिफारिस गराउने विधि अपनाउनुभएको छ, हामीलाई दिइएको जिम्मेवारी सबै कागजपत्र र प्रमाणका आधारमा निर्णय गरेका छौं ।’ पौडेलले भने–‘मेरो अध्यक्षतामा बनेको समितिका सबैले अलग–अलग नम्बरिङ गरेका हौं, हामीले व्यक्ति हेरेर सिफारिस गरेका होइनौं, एकले अर्कोको नम्बर हेरेका पनि होइनौं, डकुमेन्ट हेरेका हौं ।’

उनले कुनै व्यक्ति पर्यो वा परेन भन्दा पनि छनौट विधि के थियो र कसरी भएको थियो भन्ने विषयमा अध्ययन गरे कसैलाई अन्यौलता नहुने जनाए ।कानूनी प्रक्रिया पूरा हुँदाहुँदै पनि विश्वविद्यालयको पदाधिकारी नियुक्तिलाई प्रभावित गर्न खोजिएपछि लुम्बिनी क्षेत्रमा त्यसको विरोध भएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालय प्राध्यापक संघका अध्यक्ष गुणाखर गैरेले प्रक्रियागत रुपमा सिफारिस भइसकेको विषयमा ढिलाई गर्न नहुने भन्दै रजिष्ट्रार नियुक्ति छिटो हुनुपर्ने बताए । ‘अहिले विश्वविद्यालय बामे सरिरहेको छ, यो गतिलाई अवरोध गर्ने प्रयत्न गरिनु हुँदैन, उनले भने –‘बौद्ध दर्शन अध्ययन गरेका र विश्वविद्यालय बुझेका व्यक्ति नै विशिष्टिकृत विश्वविद्यालयमा पदाधिकारी हुनुपर्छ ।’

 


प्रतिक्रिया

One thought on “लुम्बिनी बौद्ध विश्वविद्यालयमा रजिष्ट्रार नियुक्तिको आलटाल, सिफारिस उल्ट्याउन धार्मिक संस्थाका व्यक्ति सक्रिय

  1. गत ८ बर्षको काम को मुल्याङ्कन गरे त भै गो नि! बिश्वो बिध्यालय अहिले अनलाइनमा झरेको छ! यसरी हेर्दा उहाँ असफल हो! बिश्वो बिध्यालय कसैको जागिर त होइन नि!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर