नेपाली विद्यार्थी आन्दोलनका आधार र आगामी कार्यभार – Nepal Press
सन्दर्भ : अनेरास्ववियुको ५९औं स्थापना दिवस

नेपाली विद्यार्थी आन्दोलनका आधार र आगामी कार्यभार

नेपालका हरेक राजनैतिक आन्दोलनहरुमा विद्यार्थीहरुको नेतृत्वदायी भूमिका रह्यो । धर्म निरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना विद्यार्थी आन्दोलनले सृजना गरेका उपलब्धिहरुको पछिल्लो कडी हो । तर, राज्य संरचनामा भएको उपलब्धिको सकारात्मक प्रभाव आमनागरिकको जीवनमा अझै पर्न सकेको देखिँदैन । नेपालको वर्गीय, जातीय, लैङ्गिक, क्षेत्रीय दमनको शिकार भएका आमनागरिकहरुको जीवनमा व्यवस्था परिवर्तनले अझै पनि तात्विक लाभ दिन सकेको छैन । धनी र गरिबबीचको खाडल बढ्दै गएको छ र गरिबमाथिको बजारको शोषणमा अझ वृद्धि हुँदै गएको छ । नवउदारवादले सृजना गरेको उपभोक्तावादले श्रमिक वर्गको जीवनशैली अझ कठिन बन्दै गएको छ । यसले अझै ठूलो वर्गीय संघर्षका आधारहरु सृजना गर्दै गएको छ । व्यवस्था परिवर्तन भयो । तर, राज्य संरचनामा एउटै भूगोल र जातीय समूहको वर्चश्वमा परिवर्तन आउन सकेको छैन । सिमान्तकृत जातीय समुदाय र क्षेत्रीय समुदायहरुको राज्य संरचनामा पहुँच विस्तार गर्न आवश्यक नीतिगत व्यवस्थाहरु नगर्ने हो भने ती समुदायहरुले फेरि संघर्ष गर्नुपर्ने हुन्छ । नयाँ संविधानमा रहेको समावेशी सिद्धान्तले आधारभूत राजनैतिक तहहरुमा महिला सहभागिता सुनिश्चित गरेको त छ । त्यो पनि बाध्यात्मक रुपमा देखिन थालेको छ । तर, अझै पनि आर्थिक, सामाजिक क्षेत्रहरुमा महिला तथा लैङ्गिक अल्पसंख्यकहरुको उचित प्रतिनिधित्व सुनिश्चित हुन सकेको छैन ।

देशको संविधान राजनैतिक आन्दोलनको उपलब्धिको प्रतिविम्ब हो । नेपालको संविधान २०७२ आजसम्मका समग्र आन्दोलनका उपलब्धिहरुको संग्रह हो । यस संविधानले नेपालका मूलभूत राजनैतिक समस्याहरुको समाधान गर्ने अपेक्षा गरिएको छ र यसलाई आजसम्मकै सबैभन्दा प्रगतिशील संविधानको रुपमा स्वीकार गरिएको छ । गणतन्त्र, संघीयता, धर्मनिरपेक्ष तथा लोकतन्त्र यस संविधानका आधारहरु हुन् । यही संविधान कार्यान्वयनमा छ । तर, प्रभावकारी कार्यान्वयन नहुँदै यसमाथि विभिन्न हस्तक्षेप सुरु भएका छन् । यसमा रहेका धर्मनिरपेक्ष र संघीयताको सान्दर्भिकतामा प्रश्नहरु खडा हुन् थालेका छन् । यस सन्दर्भमा विद्यार्थीहरुको काँधमा यस संविधान कार्यान्वयन सुनिश्चित गर्ने र यसलाई सान्दर्भिक बनाउँदै जाने जिम्मेवारी पनि थपिएको छ । संविधान प्रभावकारी रुपमा कार्यान्वयन नहुँदै यसका आधारभूत मान्यतामा प्रश्नहरु खडा गर्नु भनेको राजनैतिक अस्थिरता निम्त्याउने र मुलुकलाई फेरि द्वन्द्वको बन्धक बनाउने प्रयास हो ।

नेपाल सामाजिक र सांस्कतिक रुपमा अत्यन्त सघन अवस्थामा रहेको छ । देशका अधिकांश युवाहरु श्रम बजारको खोजीमा विदेशिन बाध्य भएका छन् । देशभित्र पनि युवाहरु श्रम बजारको खोजीमा ग्रामीण बस्तीहरुबाट शहर बजार केन्द्रित बसाइसराइमा अग्रसर बन्दै गएका छन् । हाम्रा पुर्खाहरुले बस्तीको रुपमा विकास गरेका क्षेत्रहरु मानवविहीन बन्दै गएका छन् । आफ्नो थातथलो छाड्ने अभ्यासले युवाहरुमा सांस्कृतिक अभावको ठूलो संकट देखापर्न थालेको छ । हाम्रा मठमन्दिर, चाडपर्व, रहनसहनमा परिवर्तन देखापर्न थालको छ । मौलिकपना हराउँदै गएको छ । पश्चिमा संस्कृतिको प्रभाव विस्तार भएको छ । पाठ्यक्रमहरु पनि स्थानीय संस्कृतिलाई कमजोर बनाउने खालका विकास गरिँदैछ । सामाजिक सञ्जालको बढ्दो विस्तारका कारण युवाहरु भर्चुअल संसारमा रमाउने र सामाजिक सम्बन्धहरुबाट टाढा रहँदै जाने प्रवृत्ति देखापरेको छ । यसको कारण युवाहरुमा पहिचानको अभाव देखापर्न थालेको छ । पहिचानको अभावको कारण युवाहरुमा सामाविक भावनाको कमी, एकांकीपनाको विकास, मानसिक समस्याहरुको विस्तार हुन थालेको छ । यस समस्याको समाधान गर्न राज्यले नै स्थानीय सांस्कृतिक सम्पदा तथा रहनसहनको संरक्षण गर्ने कार्यक्रमलाई प्रोत्साहन गर्नुपर्छ । युवाहरुलाई आआफ्नो थातथलोमा नै रोजगारीका अवसर सृजना गर्न र पुर्खाहरुले हस्तान्तरण गरेका सांस्कृतिक मूल्य र मान्यताहरुमा आधारित रहेर आफ्ना जीवनशैलीलाई आधुनिकीकरणको दिशामा अगाडि बढाउन प्रेरित गर्नुपर्छ ।

व्यवस्था परिवर्तन भयो । तर, राज्य संरचनामा एउटै भूगोल र जातीय समूहको वर्चश्वमा परिवर्तन आउन सकेको छैन । सिमान्तकृत जातीय समुदाय र क्षेत्रीय समुदायहरुको राज्य संरचनामा पहुँच विस्तार गर्न आवश्यक नीतिगत व्यवस्थाहरु नगर्ने हो भने ती समुदायहरुले फेरि संघर्ष गर्नुपर्ने हुन्छ ।

आमनेपालीका परम्परागत आर्थिक पक्षहरुमा परिवर्तनहरु देखापर्न थालेका छन् । कृषिमा आधारित हाम्रो अर्थतन्त्र रेमिटेन्समा आधारितमा रुपान्तरित हुन पुगेको छ । अर्थतन्त्रका हाम्रा परम्परागत आधारहरु भत्कंदै गएका छन् । हाम्रो अर्थतन्त्र स्वाधीन थियो । तर, त्यो क्रमशः पराधीन बन्दै गएको छ । खेतीयोग्य जमिनहरुमा घरहरु बन्न थालेका छन् । ग्रामीण इलाकाहरु उजाड बन्दै गएका छन् । बजारहरु विस्तार हुँदै गएका छन् । ग्रामीण बस्तीहरु उजाड बन्दा त्यहाँका स्थानीय उत्पादनका सम्भावनाहरु पनि विलुप्त बन्दै गएका छन् । यसले नेपालको राष्ट्रिय उत्पादनमा ह्रास आउँदै गएको छ । नेपालका अर्थतन्त्रका आधार भनेका कृषि, पर्यटन र जलसम्पदा हुन् । बस्तीहरु उजाड बन्दै जाँदा कृषि, पर्यटन र जलसम्पदाको उपयोगको लाभ स्थानीय समुदायले नभै ठूला व्यापारिक कम्पनीहरुले मात्र लिने अवस्था सिर्जना भएको छ ।

नेपालमा युवाहरु उद्योग व्यवसायमा लाग्ने प्रेरणा जागृत हुँदै गएको छ । तर, राज्यको नीतिगत दिशा विहीनताको कारण सुरु गरिएका उद्योग र व्यवसायको संरक्षणको अभिभावकत्व कसले ग्रहण गर्ने सरकारी नीति तथा संरचनाको अभाव भएको छ । युवाहरुलाई उद्योग तथा व्यवसायमा प्रेरित गर्ने र त्यो लगानीको संरक्षण राज्यले गर्ने नीतिगत र संरचनागत व्यवस्था गर्नुपर्ने देखिन्छ । शिक्षा प्रणालीमा भएको आंशिक सुधार, सामाजिक सञ्जालको बढ्दो प्रभाव र विदेशमा प्राप्त ज्ञान तथा अनुभवमा आधारित रहेर नेपाली युवाहरुले उद्योग व्यवसायहरु सुरुवात गर्ने अभ्यासमा वृद्धि भएको छ र त्यसले राष्ट्रिय उत्पादनमा वृद्धि गर्ने सम्भावना देखिन्छ । तर, राज्यको नीतिगत दिशाविहीनताको कारण नेपालमा उत्पादित सामग्रीहरु महँगो पर्न जाने, त्यसले बजार मूल्य नपाउने र उत्पादन खेर जाने अवस्थाहरु देखापरेका छन् । भर्खरमात्र दूध, तरकारी र जटिबुटी उत्पादकहरुले यस्ता समस्याहरुको सामाना गर्नुपर्‍यो । युवाहरुलाई उत्पादनमा अग्रसर गराउन राज्यले उत्पादन सु गर्न आवश्यक पर्ने ऋणको व्यवस्था गरिदिने, उत्पादनको प्रक्रियामा आवश्यक प्राविधिक सहयोग गर्ने, उत्पादनको आधारभूत बीमाको व्यवस्था गर्ने र उत्पादनपश्चात बजारको सुनिश्चितता गर्ने नीतिगत र संरचनागत व्यवस्था गर्नुपर्ने देखिन्छ । यसो गर्न सक्यो भने युवाहरुको पलायन रोकिने, राष्ट्रिय उत्पादनमा वृद्धि हुने र राष्ट्रिय स्वाधीनता सवल हुँदै जानेछ ।

परम्परागत रुपमा नेपालको राष्ट्रियता दुई ढुङ्गाबीचको तरुल जस्तै संवेदनशील रहेको छ । विश्वव्यापीकरणले नेपाल जस्ता मुलुकको राष्ट्रिय स्वाधीनतामाथि अवसर र चुनौती दुवै सृजना गरेको छ । विश्वव्यापीकरण भनेको मूलभूत रुपमा बजार, ज्ञान र प्रविधिको विश्वव्यापी विस्तार हो । नेपालले आफ्ना युवाहरुलाई उत्पादन, ज्ञान र प्रविधिमा लक्ष्य बनाउँदै लान सक्यो भने आफ्नो राष्ट्रिय स्वाधीनताको गौरवलाई संरक्षण गर्दै जानेछ । त्यसो गर्न नसक्दा नेपाल क्रमशः पराधीन हुँदै जानेछ र नेपालको स्वाधीनता कमजोर बन्दै जानेछ । बदलिँदो विश्व अर्थ व्यवस्थाले पनि नेपालको स्वाधीनतामा अवसर र चुनौती थप्दै गएका छन् । अमेरिकारको नेतृत्वमा चलिरहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन तथा चीनको नेतृत्वमा चलिरहेको बेल्ट एण्ड रोड इनिसियटिभ दुवैको रणनैतिक केन्द्रको रुपमा नेपाल रहेको छ ।

मौलिकपना हराउँदै गएको छ । पश्चिमा संस्कृतिको प्रभाव विस्तार भएको छ । पाठ्यक्रमहरु पनि स्थानीय संस्कृतिलाई कमजोर बनाउने खालका विकास गरिँदैछ । सामाजिक सञ्जालको बढ्दो विस्तारका कारण युवाहरु भर्चुअल संसारमा रमाउने र सामाजिक सम्बन्धहरुबाट टाढा रहँदै जाने प्रवृत्ति देखापरेको छ ।

यस सन्दर्भमा नेपालले असंलग्न नीति अंगीकार गर्दै त्यस्ता रणनैतिक कार्यक्रमहरुको विकास कार्यक्रममा आफू संलग्न हुने तर, सैन्य पक्षमा आफू असंलग्न रहने नीति अवलम्बन गर्नुपर्दछ । नेपाली राज्य संरचनालाई सोही दिशामा केन्द्रित गर्न नेपाली विद्यार्थी आन्दोलनको अहं भूमिका रहेको छ । नेपाली राष्ट्रिय स्वाधीनतामा भारतीय विस्तारवादी नीति सदैव खतराको रुपमा देखापरेको छ । नेपालका धेरै सिमानाका भूभागहरुमा भारतले अतिक्रमण गरिरहेको छ भने सीमा क्षेत्रका बासिन्दाहरुलाई दुःख दिने र विस्थापित गर्ने कार्य भारतीय प्रशासनबाट हुने गरेको छ । सीमा क्षेत्रमा अवैध रुपमा बाँधिएका बाँधहरुका कारण नेपालका धेरै जिल्लाहरुमा डुबानको समस्या हुने गरेको छ । भारतले नेपालका रणनैतिक रुपमा महत्वपूर्ण नदीहरुलाई विभिन्न बहानामा आफ्नो नियन्त्रणमा लिँदै गएको छ । व्यापारिक क्षेत्रमा पनि भारतीय विस्तारवादी नीतिको कारण नेपाली उत्पादनहरुले उसको बजारमा प्रवेश नपाउने तर, उसका उत्पादनहरु नेपाली बजारमा सहज रुपमा विस्तार हुने अवस्था सृजना भएको छ । यसरी भारतीय विस्तारवादी नीतिको विरोध गर्दै नेपाल-भारत सम्बन्धलाई नवीनतम रुपमा पुनःस्थापित गर्ने दिशामा नेपाली विद्यार्थी आन्दोलन केन्द्रित हुनु आवश्यक छ ।

आजको युग प्रविधिको हो । प्रविधिले विश्वव्यापीकरणलाई मलजल गरेको छ । प्रविधिक विकास आजको विश्व अर्थतन्त्रको एउटा मूलभूत आधार हो । प्रविधिमा आधारित उत्पादनलाई नेपाली अर्थतन्त्रको पनि आधारको रुपमा विकास गर्न सकिन्छ । युवाहरुलाई प्राविधिक ज्ञानमा सक्षम बनाउँदै जाने दिशामा नेपाली शिक्षा नीति केन्द्रित रहनुपर्दछ । नेपाललाई प्राविधिक उत्पादनको केन्द्रको रुपमा विकास गर्ने हो भने नेपाल सफ्टवेयर निर्माण, उच्च गुणस्तरका वन उत्पादन, जटिबुटी उत्पादन, कृषि उत्पादनको विश्व बजारको महत्वपूर्ण हबको रुपमा विकास गर्न सकिन्छ । त्यसको लागि युवाहरुलाई प्रविधिमा दक्ष बनाउने, प्रविधिमा आधारित उद्यमशीलतालाई प्रोत्साहित गर्न बीमा तथा ऋणको व्यवस्था गर्ने, चौबीसै घण्टा काम गर्ने वातावरणको सृजना गर्न सुरक्षा, यातायात र सञ्चारको उचित व्यवस्था गरिनुपर्दछ । प्रविधिक क्षेत्रको विकासको लागि विदेशमा रहेका गैरआवासीय नेपालीहरुको पनि सहयोग लिन सकिन्छ । राज्य संरचना र त्यसका नीतिहरुलाई यस दिशामा अगाडि बढाउन विद्यार्थी आन्दोलन निर्देशित हुनुपर्दछ ।

नेपालको साक्षरता प्रतिशत बढ्दो क्रममा छ । तर, शिक्षा र रोजगारीबीचको खाडल बढ्दै गएको छ । सरकारले बर्सेनि खर्च गर्ने अर्बौं रुपैयाँले शिक्षित जनशक्ति त उत्पादन गरिरहेको छ । तर, सीपयुक्त जनशक्ति उत्पादन गर्न सकेको छैन । सरकारी शैक्षिक संस्थाहरुमा दिन प्रतिदिन विद्यार्थीको संख्यामा कमी आउँदै गएको छ । सरकारी विद्यालय, क्याम्पस तथा विश्वविद्यालयका अर्बौंका संरचनाहरु खण्डहरमा रुपान्तरित हुँदै गएका छन् । सरकारी अनुसन्धान केन्द्रहरु प्रायः निष्क्रिय छन् । यसरी समाजवादी दिशामा अगाडि बढेको अपेक्षा गरिएको राज्य संयन्त्रको शिक्षा प्रणाली पूर्ण रुपमा निजी लगानीकर्ताहरुको नियन्त्रणमा पुगेको छ । निजी विद्यालय तथा क्याम्पसहरु नीति निर्माण तहमा आफ्नो अनुकूल हस्तक्षेप गर्नसक्ने अवस्थामा रहेका छन् । जसरी शिक्षाको अनियन्त्रित व्यापार बढ्दै गएको छ । देशमा उपलब्ध शिक्षाको गुणस्तरको अभावको कारण बर्सेनि हजारौं विद्यार्थीहरु उच्च शिक्षाको लागि विदेशिन बाध्य भएका छन् । देशमा उपलब्ध शिक्षाले रोजगारको सृजना गर्न सकेको छैन । एकातर्फ शिक्षितहरु बेरोजगार बनेका छन् भने अर्काेतर्फ बजारले खोजेअनुरुपको दक्ष जनशक्ति प्राप्त गर्न सकेको छैन । आजको विद्यार्थी आन्दोलनले शिक्षामा निजीकरणको विस्तार रोक्न, शिक्षालाई रोजगारीसँग जोड्न र सरकारी शैक्षिक संस्थाहरुको गुणस्तरको सुधार गर्ने दिशामा आफूलाई अग्रसर बनाउनुपर्छ ।

कृषिमा आधारित हाम्रो अर्थतन्त्र रेमिटेन्समा आधारितमा रुपान्तरित हुन पुगेको छ । अर्थतन्त्रका हाम्रा परम्परागत आधारहरु भत्कंदै गएका छन् । हाम्रो अर्थतन्त्र स्वाधीन थियो । तर, त्यो क्रमशः पराधीन बन्दै गएको छ । खेतीयोग्य जमिनहरुमा घरहरु बन्न थालेका छन् । ग्रामीण इलाकाहरु उजाड बन्दै गएका छन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) नेकपा एमालेको कार्यकर्ता तथा नेतृत्व उत्पादन गर्ने थलो हो । यस भ्रातृ संगठनमा जिम्मेवारी वहन गरेका कार्यकर्ताहरु आज पार्टीको शीर्ष नेतृत्वमा जिम्मेवारी निर्वाह गरिरहनुभएको छ । देशभर केन्द्रदेखि स्थानीय स्तरसम्म पार्टी पंक्तिमा अनेरास्ववियुका पूर्वकार्यकर्ताहरुको गौरवपूर्ण उपस्थिति रहेको छ । नेपालको राजनीतिमा पनि युवाहरुको हस्तक्षेपका संकेतहरु देखिन थालेका छन् । यसबाट समग्र समाजले पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको अपेक्षा गरेको पुष्टि हुन्छ । कुनै पनि राजनैतिक दल सामाजिक मनोविज्ञानबाट पृथक रहन सक्दैन । अनेरास्ववियु सम्बद्ध राजनैतिक दल नेकपा एमालेमा पनि युवा नेतृत्वलाई स्थापित गर्नुपर्ने बहस निरन्तर चलिरहेको छ । पार्टीको गत महाधिवेशनमा पार्टीको केन्द्रीय कमिटीमा युवाहरुको अत्यन्त प्रभावकारी उपस्थिति भयो । गत स्थानीय निर्वाचन र संघीय निर्वाचनमा पनि थुप्रै युवा नेता तथा कार्यकर्ताहरुले उम्मेदवार बन्ने अवसर प्राप्त गर्नुभयो । यसले पनि पार्टीले युवा नेतृत्वको सामाजिक अपेक्षालाई अंगीकार गरेको स्पष्ट हुन्छ । तर, माउ पार्टीलाई अझै प्रभावकारी सञ्चालन गर्न, राजनैतिक आन्दोलनलाई अझ सशक्त बनाउन पार्टी कमिटीहरुमा युवाहरुको जुन मात्रामा प्रतिनिधित्व हुनुपर्ने हो, त्यो हुन सकेको छैन । अबको विद्यार्थी आन्दोलन पार्टीमा युवा नेतृत्व स्थापना र पुस्तान्तरणको लागि हुनुपर्छ ।

विद्यार्थीहरुलाई राजनीतिमा स्थापित गर्नेमा अनेरास्ववियुको महत्वपूर्ण भूमिका छ । आफ्नो स्थापनाकालदेखि नै यो संगठनले लाखौं विद्यार्थीहरुलाई राजनीतिमा संगठित गर्ने र प्रशिक्षित गर्ने कार्य गर्दै आएको छ । तर, युवा नेतृत्व स्थापनाको सन्दर्भमा अनेरास्ववियु परम्परागत अभ्यासमा नै केन्द्रित रहेको हुँदा यसले २१औं शताब्दीमा विभिन्न विषयहरुमा विशेषज्ञता हासिल गरेका विद्यार्थीहरुलाई अनेरास्ववियुमा समेट्न विशेष प्रावधानहरुको सृजना गर्नुपर्नेछ । अनेरास्ववियुले अब विभिन्न विषयमा अब्बल विद्यार्थीहरुलाई तत् क्षेत्रको नेतृत्व गर्न सक्ने दिशामा विकास गर्दै लानुपर्नेछ ।

विद्यार्थी आन्दोलनका अन्तर्राष्ट्रिय आयाम

करिब एक वर्षदेखि रुसले युक्रेनमाथि आक्रमण जारी राखेको छ । सतहमा हेर्दा यो युद्ध रुस र युक्रेनको जस्तो देखिए तापनि वास्तवमा यो युद्ध साम्राज्यवादी शक्तिबीचको टकराव हो । रुसले युक्रेनमाथि आक्रमण जारी राखिरहँदा अमेरिका र नेटोले युक्रेनलाई हतियार र आवश्यक युद्ध सामग्री प्रदान गरेर युद्धलाई सघन बनाउने कार्य गरिरहेका छन् । रुसले यस आक्रमणलाई रुसी भाषाको रक्षा गर्न र सो क्षेत्रमा बढ्दै गएको अमेरिका र नेटोको सैन्य गठबन्धनको प्रभाव रोक्न भनेको छ । अमेरिका र नेटोले युक्रेनमाथिको आफ्नो सहयोग रुसी आक्रमणलाई निस्तेज पार्न भनेका छन् । साम्राज्यवादीहरुको संघर्षमा युक्रेनका हजारौं नागरिकले ज्यान गुमाइसकेका छन्, लाखौं विस्तापित भएका छन् र खर्बौंको आर्थिक क्षति भएको छ । युक्रेन युद्धकै कारण पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । विश्व अर्थतन्त्र नकारात्मक रुपमा प्रभावित बनेको छ । युद्धको त्रास र आर्थिक मन्दीको कारण विश्व श्रमबजारमा नकारात्मक प्रभाव परेको छ । जसको कारण नेपाली युवाहरु पनि बेरोजगारीको मारमा परेका छन् । युद्धकै कारण विश्व अर्थतन्त्रमा देखिएको अन्योलको कारण नयाँ लगानीका अवसर खुम्चँदै गएको छ । युद्धकै कारण विश्व राजनीतिमा निरंकुश शासकहरुको उदय बढ्दै गएको छ । युद्धकै कारण नेपाल जस्ता साना राष्ट्रहरुमाथि ठूला राष्ट्रहरुको हस्तक्षेप बढ्न सक्ने खतरा देखिएको छ ।

देशभर केन्द्रदेखि स्थानीय स्तरसम्म पार्टी पंक्तिमा अनेरास्ववियुका पूर्वकार्यकर्ताहरुको गौरवपूर्ण उपस्थिति रहेको छ । नेपालको राजनीतिमा पनि युवाहरुको हस्तक्षेपका संकेतहरु देखिन थालेका छन् । यसबाट समग्र समाजले पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको अपेक्षा गरेको पुष्टि हुन्छ ।

त्यस्तै जलवायु परिवर्तन विश्वले भोगिरहेको अर्को प्रमुख चुनौती हो । यसका कारण प्रचण्ड गर्मी, अनावृष्टि, सुख्खा र चक्रवात जस्ता घटना विश्वभरि नै देखिन थालेका छन् । नेपाल जस्तो जोखिममा परेको मुलुकले पनि अप्रत्याशित विपद खेप्नुपरेको छ । अप्रत्याशित रुपमा मौसममा परिवर्तन देखापर्न थालेका छन् । रैथाने प्रजातिका वनस्पतिहरु लोप हुन थालेका छन् । वनस्पतिहरुले आफ्नो स्थान परिवर्तन गर्न थालेका छन् । जलवायु परिवर्तनको कारणले नेपालले अप्रत्याशित रुपमा प्राकृतिक प्रकोपहरुको सामना गर्नुपरेको छ । गत वर्ष मेलम्चीमा देखिएको गेगरान बहाव त्यसको एउटा उदाहरण हो । नेपालको भू-बनोट अत्यन्त संवेदनशील रहेको छ । उत्तरमा हिमाल छ, बीचमा पहाड छ र तल तराई छ । यो भू–बनोटमा एकापसमा अत्यन्त अन्योन्याश्रित सम्बन्ध रहेको छ । जलवायु परिवर्तनको कारणले नेपालको तापक्रम क्रमिक रुपमा बढ्दैछ र नेपालका हिमालहरु पग्लदैछन् । त्यसकारण पानीका मुहानहरु सुक्न थालेका छन् । यसले समग्र भू-बनोटमा खडेरीको खतराको संकेत गरेको छ ।

वनजंगल नेपालको महत्वपूर्ण स्रोत र साधन हो । तर, जलवायु परिवर्तनको बढ्दो खतराको कारण नेपालले आफ्नो वनजंगलमा उपलब्ध स्रोतहरुको उचित उपयोग गर्न पाएको छैन । नेपालले हस्ताक्षर गरेका कैयौं असमान सन्धिहरुको कारण आफ्नै भूमिमा उपलब्ध काठ र वनस्पतिजन्य स्रोतको उपयोग गर्नबाट नेपाल चुकेको छ । यसको कारण अर्बौंको काठ नेपालका जंगलमा बर्सेनि कुहिने अवस्थामा पुगेको छ भने हामी विदेशबाट वार्षिक अर्बौंको काठ आयात गर्न बाध्य भएका छौं । नेपालको वन सम्पदालाई पूर्ण रुपमा सदुपयोग गर्न सकेको भए हजारौं नेपाली युवाहरुलाई रोजगारीको अवसर सृजना गर्न सकिन्छ । तर, जलवायु परिवर्तनको कारणले न्यून कार्बन उत्सर्ग गर्ने नेपालका हिमाल पग्लने, असमान सन्धिका कारण नेपालले आफ्नो वन सम्पदाको उपयोग गर्न नपाउने र नेपाल प्राकृतिक र आर्थिक रुपमा कमजोर बन्दै जाने संकट देखिएको छ ।

कोभिड १९ को असर हालसम्म पनि नेपालीहरुले भोग्नुपरिराखेको छ । कोभिडले नेपालमात्र नभई समग्र विश्व भू-राजनिति र अर्थतन्त्रलाई नै प्रभावित पारेको छ । विश्व शक्तिराष्ट्रहरुबीच एक-अर्कामा अविश्वास पैदा भएको छ । त्यसले विश्व बजारको गतिशीलतालाई पनि प्रभावित पारेको छ । नेपाल विश्व अर्थ व्यवस्थाको दुश्चक्रमा जटिल रुपमा पिल्सिरहेको मुलुक हो । नेपालको आर्थिक परनिर्भरता दिन प्रतिदिन बढ्दो छ । नेपालको श्रमशक्तिको ठूलो संख्याले विदेशमा विभिन्न मुलुकमा आफ्नो श्रम अत्यन्त कम मूल्यमा बिक्री गर्न बाध्य भइरहेको छ । रेमिटेन्स नै नेपालको मुख्य आम्दानीको स्रोत हो । रेमिटेन्समा आधारित अर्थ व्यवस्थाले नेपाली समाजलाई आर्थिक, सामाजिक, राजनैतिक र सांकृतिक रुपमा स्खलनको दिशातर्फ अगाडि बढाउँदै लगेको छ । यसको कारण नीतिगत दिशाहीनता तथा आर्थिक दुरावस्थाको कारण नेपालमा रोजगारी सृजना हुन नसक्ने र अन्तर्राष्ट्रिय श्रम बजारमा पनि माग घट्दै जाने हुँदा नेपालमा बेरोजगारी समस्या विकराल हुँदै जानेछ ।

रुस र युक्रेनबीच युद्ध चलिरहेको भए पनि पृष्ठभूमिमा कतै यो युद्ध अमेरिका र चीनबीच चलिरहेको जस्तो देखिएको छ । अमेरिकाले आन्तरिक रुपमा रुसलाई चीनले हतियार प्रादान गरेको आरोप लगाइरहेको छ भने चीनले युक्रेनमा अमेरिकाले प्रदान गरिरहेको सैन्य सहयोगको निन्दा गरेको छ ।

विश्वका विभिन्न क्षेत्रमा चलिरहेका विकासका अवधारणाहरुमा एकरुपकता ल्याउने तथा दिगो विकासका आधारहरु सुनिश्चित गर्ने दृष्टिकोणले संयुक्त राष्ट्रसंघले दिगो विकास लक्ष्यको आधारमा आफ्ना विकासका कार्यक्रमहरु अगाडि बढाइरहेको छ । यसको मुख्य उद्देश्य सन् २०३० सम्म विश्वका हरेका कुनाबाट सबै प्रकारको गरिकी उन्मूलन गर्ने रहेको छ । यी लक्ष्यहरुलाई विश्वव्यापी रुपमा लागू गर्ने उद्देश्य विश्व समुदायको रहेको छ । यसले विकासका आर्थिक, सामाजिक र आर्थिक आयामहरुलाई सन्तुलनमा राख्ने विश्वास गरिएको छ । यसमा कुल १७ लक्ष्य निर्दिष्ट रहेका छन् । त्यसमा विश्वभरबाट गरिबीको अन्त्य गर्ने, सबैका लागि समावेशी तथा गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने तथा आजीवन सिकाइलाई प्रवर्द्धन गर्ने, बलियो पूर्वाधार निर्माण गर्ने, औद्योगीकरणलाई दिगो बनाउने तथा नवीन खोजलाई प्रोत्साहन गर्नेलगायतका लक्ष्यहरुले युवाहरुको उत्थानमा पनि सकारात्मक योगदान दिने अपेक्षा छ । तर, विश्वव्यापी रुपमा लागू भएको यो कार्यक्रम सफल हुने आधार प्रस्ट भैसकेको छैन । साथै यसले स्थानीयस्तरका विकासका अवधारणा तथा आवश्यकतालाई कसरी सम्बोधन गर्छ भन्ने पनि प्रस्ट भैसकेको छैन । विश्वभरका युवा विद्यार्थीहरुले यस्ता विश्वव्यापी अवधारणाहरुमा पनि आफ्ना दृष्टिकोणहरु विकास गर्नुपर्नेछ ।

कोभिड १९ को समस्याले विश्व शक्ति राष्ट्रहरुबीच चरम अविश्वास सृजना गरेको छ । अमेरिका र चीनबीच कोभिड भाइरस सृजना गरेर विश्वलाई आक्रान्त पारेको आरोप-प्रत्यारोप चलिरहेको छ । रुस र युक्रेनबीच जारी युद्ध कतै तेस्रो विश्व युद्धको प्रारम्भ त होइन भन्ने आशंका उब्जाएको छ । रुस तथा युक्रेन दुवै राष्ट्रले आवश्यक पर्‍यो भने यस युद्धमा आणविक हतियार प्रयोग हुनसक्ने धम्की दिइरहेका छन् । यसै सन्दर्भमा रुसले आणविक हतियार नियन्त्रण सन्धि निलम्बन गर्दै आणविक परीक्षण पुनः सुरु गर्ने चेतावनी दिँदै आएको छ । रुस र युक्रेनबीच युद्ध चलिरहेको भए पनि पृष्ठभूमिमा कतै यो युद्ध अमेरिका र चीनबीच चलिरहेको जस्तो देखिएको छ । अमेरिकाले आन्तरिक रुपमा रुसलाई चीनले हतियार प्रादान गरेको आरोप लगाइरहेको छ भने चीनले युक्रेनमा अमेरिकाले प्रदान गरिरहेको सैन्य सहयोगको निन्दा गरेको छ । योसँगै आणविक हतियार नियन्त्रण गर्न शक्तिराष्ट्रहरुबीच बनेका समझदारीहरु भत्कंदै जाने देखिएको छ । आणविक हतियारको प्रतिस्पर्धामा चीन पनि अग्रसर छ । यसै सन्दर्भमा उत्तर कोरिया र इरानले पनि आफूहरु आणविक हतियार परीक्षणमा पुनः अग्रसर हुने चेतावनी दिन थालेका छन् । संयुक्त राष्ट्रसंघले निरन्तर विश्व शक्ति राष्ट्रहरुलाई निःशस्त्रीकरणको दिशामा अगाडि बढ्न आग्रह गर्दै आएको छ । तर, त्यो सफल हुन सकेको छैन ।

सोभियस संघको विघटनपश्चात विश्व समाजवादी आन्दोलन रक्षात्मक अवस्थामा पुगेको थियो । तर, पूँजीवादभित्र देखापरेका सघन सैद्धान्तिक समस्याहरु, विश्व अर्थतन्त्रमा देखापरेका आर्थिक संक्रमणहरु तथा समाजवादी चीनको विश्वव्यापी विस्तारले समाजवादी आन्दोलन नवीनतम दिशाबाट अगाडि बढ्न सक्ने आधारहरु देखापर्न थालेका छन् । परम्परागत रुपमा चीन, क्युबा, लाओस, उत्तर कोरिया र भियतनाम आफ्नो समाजवादी दिशालाई कम्युनिष्ट सरकारमार्फत निरन्तर अगाडि बढाउँदैछन् । ल्याटिन अमेरिकाका बोलिभिया, भेनेजुयला, उरुग्वे, निकारागुवा तथा मेक्सिकोमा वामपन्थी सरकार स्थापना भएका छन् । त्यस्तै सघन पूँजीवादी राष्ट्रहरु जस्तैः युके, न्युजिल्याण्ड, अस्ट्रेलिया, नर्वे र स्वीडेनमा मजदुर पार्टीहरु शक्तिशाली अवस्थामा रहेका छन् । यसरी विश्व कम्युनिष्ट, समाजवादी र वामपन्थी आन्दोलन क्रमिक रुपमा बौरिने अवस्थामा पुगेका छन् । सन् २००८ मा पूँजीवादभित्र देखापरेको आर्थिक संकट निरन्तर बढ्दै गएको छ र कोभिड संक्रमणको अवस्थामा आइपुग्दा पूँजीवादी र नवउदारवादी व्यवस्था रक्षात्मक अवस्थामा पुगेको छ । अमेरिकाको राष्ट्रपति निर्वाचनमा समाजवादी अवधारणा राख्ने वर्नी स्यान्डर्सको अत्यन्त प्रभावकारी उपस्थिति रह्यो । त्यहाँ स्वास्थ्यलाई सबैको पहुँचमा पुर्‍याउने र सामाजिक सुरक्षाको खर्च बढाउने मुद्दा प्रमुख रुपमा उठिरहेको छ । युकेमा लेवर पार्टीले उद्योगहरुको राष्ट्रियकरण, प्रगतिशील कर व्यवस्था र सामाजिक खर्चमा विस्तारको मुद्दा उठाइरहेको छ । त्यस्तै नेपाल, भारतलगायतका देशहरुमा पनि समाजवादी आन्दोलन प्रभावकारी बन्दै गएको छ ।

परम्परागत रुपमा चीन, क्युबा, लाओस, उत्तर कोरिया र भियतनाम आफ्नो समाजवादी दिशालाई कम्युनिष्ट सरकारमार्फत निरन्तर अगाडि बढाउँदैछन् । ल्याटिन अमेरिकाका बोलिभिया, भेनेजुयला, उरुग्वे, निकारागुवा तथा मेक्सिकोमा वामपन्थी सरकार स्थापना भएका छन् । त्यस्तै सघन पूँजीवादी राष्ट्रहरु जस्तैः युके, न्युजिल्याण्ड, अस्ट्रेलिया, नर्वे र स्वीडेनमा मजदुर पार्टीहरु शक्तिशाली अवस्थामा रहेका छन् ।

विद्यार्थी आन्दोलनका आगामी कार्यभारहरु

मुलुक अहिले अत्यन्तै संवेदनशील अवस्थामा छ । राजनैतिक अस्थिरता, आर्थिक तरलता, बढ्दो भ्रष्टाचार, कमजोर राज्य प्रशासन र महँगीले गर्दा जनतामा निराशा बढ्दो छ । हाम्रा शैक्षिक संस्थाहरुको खस्कँदो गुणस्तर र पढाइपछिको करियरको अनिश्चितताको कारण भर्खर १२ कक्षा पास गरेका विधार्थीहरु देश बाहिर जाने क्रम तीव्र छ । विश्वविद्यालयहरु दिन प्रतिदिन धराशायी हुँदै गएका छन् । शिक्षामा वर्गीय विभेद छ । एक हिसाबले हेर्दा हामी मास फ्रस्टेशनको अवस्थामा छौं । यही बेला मुलुकमा विभिन्न भू-राजनैतिक चलखेल बढ्दो छ । अस्थिर सरकार भएको बेला आफ्नो स्वार्थ केन्द्रित निर्णयहरु गराउन सकिने भएकाले नै देशी विदेशी गिरोहहरु हात धोएर लागेको स्थिति छ । एकातिर लोकतान्त्रिक प्रणालीलाई जोगाएर यसलाई उन्नत लोकतन्त्रमा परिणत गराउने चुनौती छ अर्काेतिर सुशासन, विकास र समृद्धिको लागि राष्ट्रिय पूँजीको निर्माणमा युवा पंक्तिलाई परिचाल गर्दै स्वावलम्बन अर्थतन्त्र निर्माण गर्ने र राष्ट्रिय स्वाधीनता र सम्प्रभुतालाई बलियो बनाउनुपर्ने चुनौती छ ।

तर, अहिले मुलुकमा अत्यन्त अस्थिर खालको सरकार बन्ने र गिराउने परिपाटी सुरु भएको छ । देशको सबैभन्दा जिम्मेवार र भरोसायोग्य पार्टी नेकपा एमालेलाई योजनाबद्ध ढंगले घेराबन्दी गर्ने र दीर्घकालसम्म राजनीतिक अस्थिरतामार्फत आफ्नो स्वार्थ पूरा गर्ने योजनाअन्तर्गत अहिले विकसित घटनाक्रमप्रति हामी अत्यन्तै संवेदनशील हुन जरुरी छ । हाम्रा सांस्कृतिक मूल्य मान्यताहरुको तीव्र क्षयीकरण छ । मौलिकता, परम्परागत ज्ञान, सीप र कौशलहरु हाम्रा पुर्खाहरुले छोडेका अमूल्य निधिहरु हुन् । हामीले समयसापेक्ष तिनको परिमार्जनसहितको जगेर्ना गर्नुपर्नेछ । विज्ञान प्रविधिका पछिल्ला आयामहरूसँग हातेमालो गर्दै हाम्रै मौलिकतामा आधारित नयाँ राजनैतिक र सामाजिक दर्शनको निर्माण गर्नुपर्ने चरणमा हामी छौं । विडम्बना, हामी पछिल्लो प्राविधिक क्रान्तिलाई चाहिने मानसिकता, सीप, ज्ञान र पूँजीको निर्माण गर्न असमर्थ प्रायः छौं । तसर्थ अबको विद्यार्थी आन्दोलन तदर्थवादबाट माथि उठ्न जरुरी छ । हामी मुलुकको भविष्यलाई हेरेर वर्तमानमा आफूलाई तयारी गर्नुपर्ने अवस्थामा छौं । हामी समाजवादको लक्ष्य बोकेर आन्दोलनमा लागेरमात्र हाम्रा कार्यभार पूरा हुने छैनन् । हामीले अब परिभाषित गर्नुपर्ने भएको छ । हाम्रो समाजवाद कस्तो हो ? हाम्रो दर्शन के हो ? के हामि मौजुदा विचारलाई उन्नत नबनाई हाम्रा देखिएका तमाम चुनौतीलाई सामना गर्न सक्छौं ?

तसर्थ, अबको अनेरास्ववियुको राजनैतिक कार्यदिशा देशव्यापी जागरण अभियान सञ्चालन गर्ने हुनेछ । यो अभियानमा पहिले हामी आफूलाई पुनर्जागृत गराउनेछौं । विचार, काम, इमान, मूल्य र मान्यता, आचरण, ज्ञान, सीप र मौलिक समाजवादी दर्शनको निर्माण साथै कार्यान्वयन गर्नसक्ने लाखौं युवा विद्यार्थीहरुको पंक्ति तयार गर्नु यस अभियानको लक्ष्य हुनेछ । सूचना प्रविधिका नवीनतम आयामहरुको प्रयोग, बहस, छलफल, अन्तरक्रियासहित हामी गाउँ-बस्ती, स्कुल, कलेज, दूरदराजसम्म अनेरास्ववियुलाई पुर्‍याउनु छ । साथै हामीले शैक्षिक बेथितिका विरुद्ध संगठित अभियान सञ्चालन गर्नु आवश्यक छ । हामीले समाजवादी शिक्षालाई व्यवहारमा कार्यान्वयन आवश्यक सबै मोर्चाहरुमा हाम्रा गतिविधिलाई केन्द्रित गर्दै अगाडि बढ्नु नै अहिलेको प्रमुख शैक्षिक आन्दोलनको दिशा हुनेछ । सबैभन्दा पहिले हामीले आशाको सञ्चार गर्नुपर्नेछ । यो देशका कर्णधारहरु यो देशका भविष्यहरु हुन् र ती भविष्यहरु यो देशलाई सुन्दर बनाउन सक्षम छन् भन्ने आत्मविश्वासको जागरण अहिलेको प्रमुख आवश्यकता हो । अहिले देखिएका विभिन्न दर्शनविहीन, योजनाविहीन दलहरुबाट यो देशको विकास सम्भव छैन । देशको जिम्मेवार दल नेकपा एमालेको पुनर्निर्माण र विस्तारसहित देशलाई नेतृत्व गर्ने पार्टी बनाउनु हामीले सञ्चालन गर्ने जागरण अभियानको उद्देश्य हो ।

सबैको रचनात्मक सहयोगको अपेक्षासहित जेठ १ गते अनेरास्ववियुको ५९औं स्थापना दिवस विद्यार्थी आन्दोलनले सुम्पेका यी नै नवीन आयाम र कार्यभारहरु पूरा गर्ने संकल्प हामी सबैले हासिल गर्न सकौं । सबैमा शुभकामना !

(बडाल नेकपा एमाले समर्थित अनेरास्ववियुका अध्यक्ष हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर