पलसँग चिढिएकी पूजा– सँगै अवार्ड लिँदा पनि गरिनन् बोलचाल – Nepal Press

पलसँग चिढिएकी पूजा– सँगै अवार्ड लिँदा पनि गरिनन् बोलचाल

काठमाडौं । अभिनेता पल शाह जेलबाट छुटेपछि अभिनेत्री पुजा शर्मासँग उनको सम्बन्ध एकाएक चिसिएको छ । कुनै बेला आफूहरुलाई ‘एक अर्काबिना अधुरो’ मान्ने उनीहरु अहिले पानी बाराबारको अवस्थामा पुगेका छन् ।

बलात्कारको आरोपबाट मुक्त भएर पल जेलबाट निस्केपछि पुजा उनलाई भेट्न गइनन् । यो प्रसंगलाई कोट्याएर उनीहरुको सम्वन्धमा दरार आएको समाचार नेपाल प्रेसले गत चैत १ गते प्रकाशित गरेको थियो । तर, पूजाले समाचार खण्डन गरेकी थिइन् । उनी यतिमा मात्र सिमित भइनन् । समाचार गलत देखाउनका लागि उनले फेसबुकमा प्राइभेट गरेको एउटा स्टाटस पुनः पब्लिक गरिन्, जुन उनले पल छुटेपछि खुशी व्यक्त गर्दै लेखेकी थिइन् ।

समाचार खण्डन गरे पनि पल र पुजाको सम्वन्धमा बहार आउन सकेन । पलसँग पूजा रुष्ट हुनुको ठोस कारण के हो भन्ने बुझ्न सकिएको छैन । तर, पल निकटहरु त्यस्तो कुनै कारण नभएको बताउँछन् । जेलबाट निस्किएपछि आफूलाई पहिलेजस्तो भाउ नदिएकाले पुजाको चित्त दुखेको उनीहरुको भनाइ छ ।

पल शाह रिहा भएपछि आफैं आएर भेटुन् भन्ने पुजाको चाहना थियो । तर, उनको चाहना पुरा भएन । पल अब पूजासँग पहिलेजस्तो सामिप्यता राखिरहने मनस्थितिमा नरहेको निकटस्थ बताउँछन् ।

‘उहाँ अब सबैसँग दूरी राखेर आफ्नो काममा मात्रै बढी फोकस हुन खोज्नुभएको छ,’ उनीनिकट एक पत्रकारले भने ।आफ्नो ‘इगो हर्ट’ भएपछि पूजा एकपटक पनि पललाई भेट्न गइनन् । जबकि रिहा हुनुभन्दा केही दिनअघि मात्रै उनी पलको जन्मदिन मनाउन केक बोकेर कारागारमै पुगेकी थिइन् । छुटेपछि भने उनी न स्वागत गर्न गइन्, न घरमा । पलले पनि बाल दिएनन् ।

तर, हिजो एउटा कार्यक्रममा पल र पूजाको वाध्यात्मक मुलाकात भइदियो । उनीहरु दुवैले ‘म यस्तो गीत गाउँछु’ बाट ‘बेस्ट अनस्क्रिन कपल’ को अवार्ड पाएका थिए । धेरैले अनुमान गरेक थिए, पल र पूजा अवार्ड ग्रहण गर्न एकसाथ स्टेज उक्लिनेछन् । तर, पलले अवार्ड लिइसक्दा पनि पूजा कार्यक्रममा आइपुगेकी नै थिइनन् ।

ढिला गरी पूजा समारोहमा उपस्थित भइन् । कार्यक्रम सञ्चालक दिनेश डिसीले उनलाई अवार्ड लिन निम्त्याउँदा पललाई पन बोलाए । पल दोस्रोपटक स्टेज उक्लिए । त्यसबेला पूजाको हाउभाउले नै प्रष्ट भयो कि उनीहरुको सम्बन्धमा धेरै खिचडी पाकिसकेको छ । यति लामो ग्यापपछि पहिलोपटक भेट हुँदा न पूजाले कुनै उत्साह देखाइन् न पलले । पुजाले पललाई ‘इग्नोर’ गर्न खोजेको प्रष्टै देखिन्थ्यो । अवार्ड लिइसकेर पनि उनी पलको प्रतिक्षा नगरी सरासर हिँडिदिइन् ।

सञ्चारकर्मीले पूजालाई पलसँग लामो समयपछिको भेटमा के कुराकानी भयो भनि सोधेका थिए । पूजाले हाइहेल्लो मात्रै भएको बताइन् ।
अर्को एउटा प्रसंग पनि उत्तिकै रोचक छ । पूजाले केही दिनअघि मात्रै गायिका समीक्षा अधिकारीको नयाँ गीतमा टिकटक बनाएर आफ्नो इस्टाग्राममा समेत सेयर गरिन् ।

त्यसमा उनले समीक्षालाई मेन्सन समेत गरेकी थिइन् । स्मरणीय यो छ कि समीक्षाले पलविरुद्ध मुद्दा हाल्दा उनी समीक्षाविरुद्ध उभिएकी थिइन् । समीक्षाको चरित्रमाथिसमेत उनले प्रश्न उठाएकी थिइन् । तर, अहिले उनै समीक्षाको गीतमा टिकटक बनाउँदै उनले आफ्नो अडान फेरिएको संकेत गरिन् ।

हिजो उनीसँग यो प्रसंग पनि सञ्चारकर्मीले कोट्याए । उनले समीक्षालाई आफूले माफी दिएको बताइन् । समीक्षालाई ‘स्वरको धनी’ भन्दै प्रशंसा गरिन् ।‘समीक्षा बहिनी हाम्रो इन्डष्ट्रीको बैनी हो, कुनै चिजलाई सम्झेर बसिराख्नु राम्रो होइन,’ उनले भनिन् । पूजाले भगवान गौतम बुद्धको उद्ररण दिने असफल प्रयास पनि गरिन् ।

पूजालाई अर्का अभिनेता पल शाह र प्रदीप खड्काबीच तुलना गर्न पनि लगाइएको थियो । उनीहरुमध्ये कोसँग जोडी मिल्छ भनि सोधिएको थियो । उनले प्रदीपको नाम लिइन् ।

‘उहाँ र म एकैसाथ दुख गरेर आएको हो, छुट्टै अट्याचमेन्ट छ,’ पूजाले भनिन् । पलसँग सम्बन्ध चिसिएको भने अझै पनि पूजाले स्वीकार गरिनन् । उनले सम्बन्ध बिग्रिनुपर्ने कारण केही नभएको बताइन् । तर, उनको हाउभाउले अर्कै बताइरहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर